बि–लेवल ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

सुर्खेत: खुल्ला मञ्च ब्याडमिन्टन समूह वीरेन्द्रनगरको आयोजनामा बि–लेवल ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । शनिवार र आइतवार गरी दुई दिन सञ्चालन भएको प्रतियोगितामा ५० जना खेलाडी सहभागी भएका थिए ।

खुल्ला बि–लेवल डबल प्रतिस्पर्धामा हिमाल लामा र रोचक राईको जोडी प्रथम भएको छ । उनीहरूले १० हजार रूपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यसैगरी फणिन्द्र रेग्मी र प्रकाश शाहीको जोडी द्वितीय हुँदा तीर्थ महतारा र विवेक सारु तथा फष्ट हमाल र शिशिर बस्नेतको जोडीले तृतीय स्थान हासिल गरे । द्वितीयलाई नगद आठ हजार र तृतीय हुनेलाई समान तीन÷तीन हजार नगद पुरस्कार प्रदान गरिएको छ ।

यस्तै आन्तरिकतर्फको बि–लेवल डबलमा डम्मरमान श्रेष्ठ र प्रकाश गौतम प्रथम हुँदा रामबहादुर शाही र चन्द्रबहादुर बुढाको जोडी द्वितीय भएका छन् भने बालकृष्ण थापा र खड्गबहादुर राना तृतीय भएका छन् । आन्तरिकतर्फ प्रथमलाई दुई हजार, द्धितीयलाई एक हजार पाँच सय र तृतीयलाई एक हजारका दरले नगद पुरस्कार वितरण गरिएको आयोजक खुल्ला मञ्च ब्याडमिन्टन समूहका व्यवस्थापक मिलन शर्माले जानकारी दिए ।

पुरस्कार वितरण कार्यक्रममा बोल्दै सुर्खेत जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष सुरज डिसीले स्वास्थ्यका लागि खेल महत्वपूर्ण हुने बताए । बेला–बेला भइरहने प्रतियोगिताले समूहमा आवद्ध भएर खेल खेल्ने बानीको विकास हुनुका साथै प्रदेश र देशकै लागि आवश्यक जनशक्ति उत्पादन हुने अपेक्षा व्यक्त पनि गरे ।

प्रकाशित मितिः   २६ फाल्गुन २०८१, सोमबार १४:०८