योजना कार्यान्वयनमा अलमल
कर्णाली प्रदेश सरकारले सुुरूवाती चरणदेखि नै कर्णालीलाई अर्गानिक प्रदेश बनाउन आधारभूत योजनाहरू अघि बढायो । सोहीअनुसार बजेट–नीति तथा कार्यक्रममा यस विषयले प्राथमिकता पनि पायो । नीति–कार्यक्रममा कहिल्यै नछुट्ने अर्गानिक प्रदेशको योजनाले अहिलेसम्म ठोस आधार भने तय गरेको छैन । सरकारी नीति तथा कार्यक्रम लक्ष्यतर्फ उन्मुख हुन नसकेका हुन् । सरकारी अधिकारीहरूका अनुसार अर्गानिक प्रदेश निर्माणका लागि अझै गतिलो आधार तय भने भइसकेको छैन । कर्णाली सरकारले रैथाने बालीको संरक्षण तथा कृृषि उपजको उत्पादन अर्गानिक हुनुपर्नेमा जोड दिँदै आएको छ । त्यसको कार्यान्वयनको अवस्था भने सन्तोषजनक नदेखिएको हो । वितरणमुखी बजेटका कारण अर्गानिक खेतीको प्रवद्र्धन गर्दै कर्णालीलाई समृद्ध बनाउने सरकारी लक्ष्यमा अलमल देखिएको हो ।
अर्गानिक प्रदेश बनाउन कर्णाली सरकारले थुप्रै योजनाहरू अघि सारेको छ । झन्डै सात वर्षदेखि यही नारा लगाइरहेको सरकारले उल्लेखनीय प्रगति भने हासिल गर्न सकेको छैन । यस्ता कार्यक्रमको प्रतिफल तत्कालै नदेखिने र त्यसका लागि आधार निर्माण गर्न प्रवद्र्धनमूलक कार्यक्रम सञ्चालन भइरहेको दाबी सरकारी अधिकारीहरूको छ । अहिलेसम्म अर्गानिक प्रदेश बन्न सक्ने आधारहरूका लागि काम गरिएको मन्त्रालयको दाबी छ । कानुुनी दस्ताबेजीकरण, निर्देशिका निर्माण तथा नियमावलीलगायतका कामहरू भएको जनाइएको छ । अर्गानिक कर्णाली घोषणा गर्ने अभियानका साथ मन्त्रालय, मातहतका निकाय र सरोकारवालाहरू लागिरहेका छन् । अर्गानिक प्रदेशका आधार तयार गर्ने सवालमा केही योजनाहरू अघि बढाइ पनि त्यसको कार्यान्वयन भने प्रभावकारी ढंगले अघि बढेको पाइएको छैन । सरकारी निकायले दाबी गरेबमोजिम कार्यक्रमहरू सफल हुन नसकेका हुन् । किसानलाई अनुदान, परम्परागत बाली संरक्षण, कृषि उत्पादनको बजारीकरण, व्यावसायिक खेती प्रवद्र्धनलगायतका प्रदेश सरकारका थुप्रै कार्यक्रम अहिले पनि अलपत्र छन् । तर प्रदेश सरकारले अर्गाानिक प्रदेशको परिकल्पाना गरिरहे पनि विषादी न्यूनिकरण हुन सकेको छैन । प्रदेश सरकारले सल्यानको कपुरकोट र पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिकाको हर्रेबाट विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने जनाएको छ । तर अहिलेसम्म विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा आएका छैनन् ।
प्रदेश सरकारले गत आर्थिक वर्षमा नै दुई नाकामा विषादी प्रयोगशाला निर्माण गर्ने जनाएको थियो । तर काम भने अघि बढ्न सकेन । आवश्यक उपकरण खरिद र जनशक्ति व्यवस्थापन हुन नसक्दा काम अघि बढ्न नसकेको प्रदेशको एकीकृत कृषि प्रयोगशालाले जनाएको छ । यो वर्ष पनि न्यून बजेट हुँदा र जनशक्ति नहुँदा विषादी प्रयोगशाला सञ्चालनको काम गर्न नसकिएको प्रयोगशालाका निमित्त निर्देशक चित्रबहादुर रोकायले बताए । उनका अनुसार सल्यानको कपुरकोट र सुर्खेतको हर्रेडाँडामा छुट्टै कार्यालय र छुट्टै जनशक्ति व्यवस्थापन गरेर कार्यालय सञ्चालन गर्नुपर्ने हुन्छ ।
प्रकाशित मितिः १८ फाल्गुन २०८१, आईतवार ०६:०३
सम्पादकीय ।