दुई दिनदेखि हिमपात
सुर्खेत: कर्णाली प्रदेशका हिमाली जिल्लामा दुई दिनदेखि हिमपात भएको छ । शुक्रवारदेखि वर्षासँगै हिमाली जिल्लामा हिमपात भएको हो ।
शुक्रवार र शनिवार लगातार वर्षा र हिमपात भएको छ । हिमपातसँगै भएको वर्षातले किसानहरू भने उत्साहित छन् । यो वर्ष लामो समयसम्म पानी नपर्दा खडेरीले हिउँदे बाली सुक्न थालेको थियो । हिउँदे बाली सुक्न थालेसँगै कृषकहरू उत्पादनमा ह्रास आउने चिन्तामा थिए । तर, हिमपातसँग वर्षातले राहत दिएको कृषकहरू बताउँछन् । यसअघि पुस र माघमै हिमपात र वर्षा हुने गरेको थियो । यो पटक भने ढिलो गरी वर्षा भयो ।
विशेषगरी जुम्ला, हुम्ला, मुगु, डोल्पामा भने हिउँले ढपक्कै ढाकेको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने कर्णालीका हिमाली जिल्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो । जुम्लाका स्याउ तथा ओखर कृषक हरिश कुँवरका अनुसार आकाशबाट पानी नपर्दा स्याउ र ओखरका बिरुवा रोप्न सकिएको थिएन । ‘लगाएको सबै अन्नबाली चौपट हुने अवस्था आएको थियो,’ उनी भन्छन्, ‘हिमपात र वर्षाले थोरै भएपनि राहत दियो ।’
कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारी ढिलै भएपनि पानी परेपछि कृषकलाई स्याउ, ओखरका बिरुवा रोप्न, गडा सुधार गर्न र खनजोत गर्न सहज हुने बताए । हिमपातले हुम्ला, मुगुको हवाई सेवा अवरुद्ध हुनुका साथै जनजीवन सामान्य रूपमा प्रभावित भएपनि किसानमा भने खुसीयाली ल्याएको छ ।
प्रकाशित मितिः १८ फाल्गुन २०८१, आईतवार ०६:०१
साझा बिसौनी ।