सुर्खेत कांग्रेसमा गुटगत अभ्यास

अधिवेशनका लागि दुवै पक्षका छुट्टाछुट्टै अभियान

साझा बिसौनी संवाददाता

सुर्खेत, ११ माघ ।
नेपाली कांग्रेस सुर्खेतका जिल्लास्तरीय अधिकांश नेताहरू यतिबेला सदरमुकाममा छैनन् । उनीहरू गाउँगाउँमा पुगेर कार्यकर्ताहरूसँग भेटघाट र छलफलमा व्यस्त छन् । यही माघ १५ गतेका लागि तय भएको पार्टीको गाउँ तथा नगर अधिवेशनले कांग्रेसका नेताहरूलाई गाउँगाउँ पु¥याएको हो ।
पार्टीको आसन्न १३ औं राष्ट्रिय महाधिवेशनअघि हुने गाउँ, नगर, क्षेत्रीय तथा जिल्ला अधिवेशनमा कांग्रेसका नेता तथा कार्यकर्ताहरू केन्द्रित भएका छन् । यद्यपि गाउँ तथा नगर अधिवेशन अघिदेखि नै जिल्लामा कांग्रेसभित्रको ध्रुवीकरण प्रष्ट देखिएको छ । पार्टी केन्द्रमा जस्तै जिल्लामा पनि दुवै वटा पक्ष आ–आफ्नै तरिकाले अधिवेशनमा केन्द्रित भएका छन् । जिल्लामा संस्थापन पक्षको नेतृत्व सांसद हृदयराम थानीले गरेका छन् भने वरिष्ठ नेता शेरबहादुर देउवा पक्षको नेतृत्व अर्का नेता पूर्णबहादुर खड्काले गरिरहेका छन् । सुर्खेतमा कांग्रेसभित्रको राजनीतिमा यी दुई नेताको प्रत्यक्ष हस्तक्षेप हुने गरेको छ ।
दुवै पक्षका जिल्ला तहका नेताहरू हिजोआज गाउँ छिरेका छन् । गाउँ र नगर अधिवेशनमा बढीभन्दा बढी आफ्नो पक्षका प्रतिनिधि छान्ने कसरतमा दुवै पक्ष लागेका छन् । गाउँ अधिवेशनले छान्ने प्रतिनिधि क्षेत्रीय अधिवेशनका लागि मात्र नभएर जिल्ला अधिवेशनका समेत प्रतिनिधि हुने भएकाले पनि नेताहरूले गाउँ अधिवेशनलाई प्रचार गर्ने र भोट माग्ने अवसरको रूपमा सदुपयोग गर्न खोजेको देखिन्छ । त्यसकारण दुवै पक्ष छुट्टाछुट्टै टिम बनाएर आ–आफ्नै तवरले गाउँ पसेका छन् । बाहिरी रूपमा गाउँ र नगर अधिवेशन सर्वसम्मत् गराउने भनिए पनि दुवै पक्षले आन्तरिक रूपमा निर्वाचनको लागि मतको हिसाब–किताब गरिरहेका छन् । जसले गर्दा गाउँ अधिवेशनहरू सर्वसम्मत् नेतृत्व छनौट गर्न असफल हुने कांग्रेस निकटहरू नै बताउँछन् । सर्वसम्मत गराउने अधिकतम प्रयास गरिने जिल्ला कार्यसमितिले जनाएको छ । जिल्ला समितिका कार्यवाहक सभापति उपेन्द्र थापाले पार्टीको आन्तरिक अधिवेशन भएकाले सर्वसम्मत् नेतृत्व चयन हुने बताए । यद्यपि कुनै ठाउँमा सर्वसम्मत् हुन नसके लोकतान्त्रिक प्रक्रियाबाटै भए पनि सम्पन्न हुने उनको भनाइ छ । 
सर्वसम्मत्को प्रयास गरिने भनिए पनि अधिवेशन अघि नै दुई वटा गुट प्रष्ट देखिएकाले सर्वसम्मत् नेतृत्व चयन नहुने देखिन्छ । गाउँदेखि जिल्ला तहको नेतृत्व आफ्नो पक्षमा पार्नका लागि नेता खड्का र थानीले सक्दो कसरत गरिरहेका छन् । स्रोतका अनुसार विगतमा देउवा पक्षमा रहेका सांसद एवम् सुर्खेत जिल्ला पार्टी सभापति तप्तबहादुर विष्टले आफ्नो छुट्टै गुट खडा गरेका छन् । उनी पूर्णरूपमा संस्थापन खेमामा नपुगे पनि केही समय जिल्लाको राजनीतिमा भने संस्थापन खेमाकै नेता थानीसँग निकट रहे । जसले गर्दा यसपटकको अधिवेशनमा सुर्खेतमा देउवा खेमा कमजोर हुने आंकलन गरिएको थियो । यद्यपि पछिल्लो समय विष्ट र नेता पूर्णबहादुर खड्का सँगसँगै रहेको स्रोत बताउँछ । यसले सुर्खेतमा यसपाली देउवा पक्ष नै बलियो हुने अनुमान कांग्रेसभित्रैकाले समेत गर्न थालेका छन् । तर, संस्थापन पक्षले भने आफ्नो पोल्टामा जिल्लाको राजनीतिक नेतृत्व पर्ने दाबी गरेको छ । यसअघि सहमहामन्त्रीबाट राजीनामा दिएका खड्का आउँदो महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिने मनस्थितिमा रहेकाले पनि उनी पहिला जिल्लाको नेतृत्व आफ्नो पक्षमा पार्नका लागि प्रयासरत छन् ।
 अर्कोतर्फ जिल्ला पार्टीको राजनीतिमा आफ्नो पकड जमाउँदै आएका नेता थानी भने यसपाली पनि त्यो पकडलाई काममै राख्न चाहन्छन् । त्यसका लागि उनले आफू पक्षका कार्यकर्ताहरूलाई गाउँ तहसम्म नै परिचालन गरेका छन् । थानी जिल्लामा बलियो भएर केन्द्रको नेतृत्वमा पुग्नका आफ्नो आधार तयार पार्ने दाउमा देखिन्छन् । गाउँ अधिवेशन तथा नगरपालिकाको वडा अधिवेशन यही माघ १५ गते हुने तय भएको छ । त्यही दिन हुन नसकेको नगरस्तरको अधिवेशन भने १६ गते गर्न सकिने व्यवस्था कांग्रेसको निर्वाचन समितिले मिलाएको छ । यस्तै निर्वाचन क्षेत्रस्तरको अधिवेशन माघ २२ गते र जिल्ला अधिवेशन २५ गते हुनेछ । यद्यपि जिल्लामा क्रियाशील सदस्यहरूको विवरण अझै आइसकेको छैन । कार्यवाहक सभापति थापाले करिब चार हजार क्रियाशील सदस्य हुने जनाए । १५ गते हुने गाउँ तथा नगरपालिकाको वडा अधिवेशनले गाउँ तथा नगरको कार्यसमिति, महाधिवेशन प्रतिनिधि र क्षेत्रीय प्रतिनिधि चयन गर्ने छन् । प्रत्येक गाविसबाट १ जना सभापतिसहित पाँच जना प्रतिनिधि छानिनेछ । केन्द्रीय महाधिवेशनका लागि भने क्षेत्रीय अधिवेशनबाट प्रतिनिधि छनौट गरिनेछ । जसका लागि प्रत्येक निर्वाचन क्षेत्रबाट ९ देखि १२ जना प्रतिनिधि छनौट हुने जनाइएको छ । कांग्रेसको केन्द्रीय महाधिवेशन फागुन २० गते देखि २३ गतेसम्म हुने तय गरिएको छ ।
प्रकाशित मितिः   १२ माघ २०७२, मंगलवार १०:२५