नाइट्रोजन प्लान्ट
कर्णालीमा ‘तरल नाइट्रोजन प्लान्ट’ निर्माणको काम सुरु भएको छ । सोमवार प्लान्टका लागि भवनको शिलान्यास गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले भवनको शिलान्यास गरेका हुन् । पशुको नश्ल सुधार योजनाअन्तर्गत प्रदेश सरकारले तरल नाइट्रोजन प्लान्ट स्थापना गर्न लागेको हो । पशुपन्छी विकास निर्देशनालय सुर्खेतको परिसरमा प्लान्ट स्थापनाका लागि भवन निर्माण गर्न लागिएको हो । पशु नश्ल सुधारमार्फत् उत्पादन वृद्धि गर्न कृत्रिम गर्भाधानका लागि आवश्यक तरल नाइट्रोजन प्लान्ट स्थापना गर्न लागिएको हो । प्रदेशलाई दुधमा आत्मनिर्भर बनाउनका लागि प्लान्ट स्थापना गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार यो वर्ष प्लान्ट स्थापना गर्न पर्याप्त बजेट विनियोजन गरिएको छ ।
चालु आर्थिक वर्ष २०८१/०८२ मा प्लान्ट स्थापना गर्नका लागि चार करोड ८५ लाख बजेट विनियोजन गरिएको छ । गत आर्थिक वर्षमा समेत प्रदेश सरकारले बजेट विनियोजन गरेको थियो । उक्त वर्ष ४० लाख बजेट विनियोजन भएको थियो । सो बजेटमा डिपीआर निर्माण गरिएको थियो । यो वर्ष सरकारले पर्याप्त बजेट विनियोजन गरेकाले भवन निर्माणको काम अघि बढाइएको हो । गाई र भैँसीको नश्ल सुधार र उच्च गुणस्तरका पाडा र बाच्छा उत्पादन गर्ने उद्देश्यसहित कर्णाली प्रदेशमै पहिलोपटक प्लान्ट निर्माणको काम अघि बढाउन लागिएको हो । मन्त्रालयका प्रवक्ता कठायतका अनुसार नश्ल सुधारका लागि अहिले कर्णालीमा पशुको वीर्य बाहिरबाट ल्याउनु पर्ने बाध्यता छ । महँगो र समय धेरै लाग्ने भएकाले निकै समस्या हुनेगरेको छ । झन्झटिलो चाहेको समयमा सहज उपलब्ध पनि नहुने समस्या देखिएपछि सरकारले प्रदेशमै नाइट्रोजन प्लान्ट निर्माणको योजना अघि बढाएको हो ।
कर्णली प्रदेशमा पहिलो पटक स्थापना गर्न लागिएको ‘तरल नाइट्रोजन प्लान्ट’ निर्माणले बाहिरबाट ल्याइने उच्च जातका राँगा र साँढेको जमेको वीर्यलाई सुरक्षित राख्न र कृत्रिम गर्भाधान प्रक्रियामा प्रयोग गर्न सहयोग पुग्ने छ । कर्णाली प्रदेशमा हालसम्म बाहिरबाट वीर्य आपूर्ति गरिँदै आएको छ । कर्णालीमै यो प्रक्रिया सञ्चालन गर्नका लागि नाइट्रोजन उत्पादनका लागि प्लान्ट निर्माण गर्न लागिएको हो । कृत्रिम गर्भाधान कार्यक्रमलाई सुदृढ बनाउन र दूध उत्पादनमा वृद्धि ल्याउन यो कार्यक्रमले सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रशोधित वीर्यका स्ट्रहरू संरक्षण तथा भण्डारणका लागि नभइ नहुने अति आवश्यक वस्तु तरल पदार्थ नाइट्रोजन बाहिरबाट आपूर्ति गर्नुभन्दा यहीँबाट कृत्रिम गर्भाधान केन्द्रहरूमा वितरण गर्ने लक्ष्य सरकारको छ ।
प्रकाशित मितिः १४ फाल्गुन २०८१, बुधबार १३:४७
सम्पादकीय ।