पर्यटन प्रवर्द्धन योजना: बुलबुलेमा नयाँ ताल निर्माण
सुर्खेत: कर्णाली प्रदेश सरकारले पर्यटन प्रवद्र्धनका कार्यक्रममा जोड दिएको छ । पर्यटकीय क्षेत्रको विस्तार तथा विकास गरेर आर्थिक लाभ हासिल गर्न सकिने भएपछि पूर्वाधार निर्माणमा जोड दिएको हो ।
सोही योजनाअन्तर्गत सुर्खेतको प्रमुख पर्यटकीय स्थल बुलबुलेमा नयाँ ताल निर्माण कार्य सुरु गरिएको छ । चरा र पानी संरक्षणको लागि भन्दै वीरेन्द्रनगर गुरुयोजना कार्यान्वयन अन्तर्गत ताल निर्माण गर्न लागिएको हो । मंगलवार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले ताल निर्माण कार्यको शिलान्यास गरे ।
प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको भू तथा जलाधार व्यवस्थापन कार्यालयको एक करोड १२ लाख ३६ हजारमा ताल निर्माण गर्न लागिएको हो । २०८२ असार १० गतेभित्र निर्माण कार्य सम्पन्न गर्नेगरी प्रवीन निर्माण सेवाले निर्माणको जिम्मा लिएको छ । कम्पनीले कम्पाउण्ड वाल, नालालाई व्यवस्थित बनाउनुका साथै ताल वरिपरि मान्छे हिँड्ने फुटपात बनाइने लगायतका काम गर्नेछ । भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख शेखर चपाईका अनुसार अहिले पानीको स्रोत भएपनि लिकेज भइरहेको छ । त्यसलाई संरक्षण गर्नु पनि उद्देश्य रहेको छ ।
यसअघि निर्माणको तालसँगै जोड्ने गरी उक्त ताल निर्माण गर्न थालिएको छ । यसअघिको तालमा डुंगा चलाउने गरिएपनि नयाँ बन्ने तालमा डुंगा चलाउन पाइने छैन । उक्त ताल शान्त वातावरणमा चराचुरुङ्गीलाई खेल्न र मनोरम दृश्यका लागि मात्र बनाइने छ । ‘बुलबुलेमा विभिन्न प्रजातिका चराहरू आउँछन्, मान्छेको आवात–जावतका कारण चराहरूले शान्तसँग खेल्न पाइरहेका छैनन्,’ चपाईले भने, ‘जाडो याममा साइबेरियन चराहरू पनि आउँछन् । चराहरूको बासस्थान पनि हुनेछ ।’
बुलबुलेमा तालको सौन्दर्य बढाउनका लागि नयाँ ताल निर्माण गर्न लागिएको हो । ताल चार हजार दुई मिटर क्षेत्रफलमा बनाइने छ । तालमा जथाभावी रूपमा फोहोर जम्मा हुँदा थप दुर्घन्धित हुनुका साथै विभिन्न किसिमका चराहरू विचलित भइरहेका छन् । ताल निर्माणको शिलान्यास गर्दै मुख्यमन्त्री यामलाल कँडेलले पुरस्कार पाउने गरी काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । सबैको ध्यान केन्द्रित भएको तालको उत्कृष्ट काम गर्न उनले सुझाव दिएका हुन् । ‘कामको जिम्मा लिएपछि समयमै गर्नुहोला, भुक्तानीका लागि कुनै समस्या छैन,’ कँडेलले भने, ‘उद्घाटन तामझामका साथ गर्ने काम समयमा नहुने भएपछि राम्रो हुँदैन ।’
कर्णाली आउने हरेक पर्यटकको रोजाइँमा बुलबुले पनि पर्ने गरेको छ । बुलबुलेमा बिदाका दिनमा बढी पर्यटक आउने गर्दछन् । दैनिक औसत पाँच सय पर्यटकले बुलबुले अवलोकन गर्ने जनाइएको छ । वि.सं. २०२९ देखि सरकारी तवरबाट बुलबुलेको संरक्षण हुन थालेको हो । बुलबुले क्षेत्रको विकास तथा विस्तारमा प्रदेश सरकारका साथै संघीय सरकार र वीरेन्द्रनगर नगरपालिकाको पनि साझेदारी रहेको छ । बुलबुलेको मुख्य आकर्षण जमिनमुनिबाट बुलबुल भएर आउने पानीको संकलन गरी बनाइएका कलात्मक धारा र पार्क हुन् । तालको पूर्वतर्फ महिला तथा दक्षिणतर्फ पुरूषका लागि पाँच÷पाँच वटा धारा छन् ।
गुरुयोजना कार्यान्वयन गर्न चौध करोड
यसैबीच कर्णाली प्रदेश सरकारले बनेका गुरुयोजना कार्यान्वयनका लागि बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर उक्त योजना अघि सारेको छ । प्रदेशभर आकर्षक पर्यटकीय गन्तव्यको गुरुयोजना कार्यान्वयन गर्न लागिएको हो । मुगुको रारा ताल, सुर्खेतको काँक्रेविहार, बुलबुले उद्यान तथा चौघान पार्क र रूकुमपश्चिमको स्यार्पु तालको संरक्षण र विकासका लागि गुरुयोजना कार्यान्वयन गर्न लागिएको हो । उक्त गुरुयोजना कार्यान्वयनका लागि चालु आर्थिक वर्षमा १४ करोड बजेट विनियोजन गरिएको छ । यो वर्षदेखि कार्यान्वयन गर्नेगरी काम अघि बढाइनेछ । सरकारले सोही बमोजिमका कार्यक्रमसमेत राखेको छ ।
त्यसैगरी प्रदेश सरकारले हरियाली प्रवद्र्धन कार्यक्रममा जोड दिएको छ । प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाको मुख्य सहरी क्षेत्र तथा नदी किनारामा सहरी हरियाली प्रवद्र्धन कार्यक्रम गरिनेछ । त्यसका लागि प्रदेश राजधानी हरियाली कार्यक्रम सुरु हुनेछ । पर्यटन पूर्वाधारका योजनालाई आवश्यकताको आधारमा निर्धारण गरिएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मितिः १४ फाल्गुन २०८१, बुधबार १३:४५
साझा बिसौनी ।