‘नाइट्रोजन प्लान्ट’का लागि भवन शिलान्यास

सुर्खेत: कर्णालीमा ‘तरल नाइट्रोजन प्लान्ट’ निर्माणको काम सुरु भएको छ । सोमवार प्लान्टका लागि भवनको शिलान्यास गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले भवनको शिलान्यास गरेका हुन् ।

पशुको नश्ल सुधार योजना अन्तर्गत प्रदेश सरकारले तरल नाइट्रोजन प्लान्ट स्थापना गर्न लागेको हो । पशुपन्छी विकास निर्देशनालय सुर्खेतको परिसरमा प्लान्ट स्थापनाका लागि भवन निर्माण गर्न लागिएको हो ।

पशु नश्ल सुधारमार्फत् उत्पादन वृद्धि गर्न कृत्रिम गर्भाधानका लागि आवश्यक तरल नाइट्रोजन प्लान्ट स्थापना गर्न लागिएको हो । प्रदेशलाई दुधमा आत्मनिर्भर बनाउनका लागि प्लान्ट स्थापना गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार यो वर्ष प्लान्ट स्थापना गर्न पर्याप्त बजेट विनियोजन गरिएको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ मा प्लान्ट स्थापना गर्नका लागि चार करोड ८५ लाख बजेट विनियोजन गरिएको मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले जानकारी दिए ।

गत आर्थिक वर्षमा समेत प्रदेश सरकारले बजेट विनियोजन गरेको थियो । उक्त वर्ष ४० लाख बजेट विनियोजन भएको थियो । सो बजेटमा डिपीआर निर्माण गरिएको कठायतले जानकारी दिए । यो वर्ष सरकारले पर्याप्त बजेट विनियोजन गरेकाले भवन निर्माणको काम अघि बढाइएको हो ।

गाई र भैँसीको नश्ल सुधार र उच्च गुणस्तरका पाडा र बाच्छा उत्पादन गर्ने उद्देश्यसहित कर्णाली प्रदेशमै पहिलोपटक प्लान्ट निर्माणको काम अघि बढाउन लागिएको हो । मन्त्रालयका प्रवक्ता कठायतका अनुसार नश्ल सुधारका लागि अहिले कर्णालीमा पशुको वीर्य बाहिरबाट ल्याउनु पर्ने बाध्यता छ । महँगो र समय धेरै लाग्ने भएकाले निकै समस्या हुनेगरेको छ । झन्झटिलो चाहेको समयमा सहज उपलब्ध पनि नहुने समस्या देखिएपछि सरकारले प्रदेशमै नाइट्रोजन प्लान्ट निर्माणको योजना अघि बढाएको हो ।

कर्णली प्रदेशमा पहिलो पटक स्थापना गर्न लागिएको ‘तरल नाइट्रोजन प्लान्ट’ निर्माणले बाहिरबाट ल्याइने उच्च जातका राँगा र साँढेको जमेको वीर्यलाई सुरक्षित राख्न र कृत्रिम गर्भाधान प्रक्रियामा प्रयोग गर्न सहयोग पुग्ने पशुपक्षी विकास निर्देशनालय सुर्खेतले जनाएको छ । कर्णाली प्रदेशमा हालसम्म बाहिरबाट वीर्य आपूर्ति गरिँदै आएको छ । कर्णालीमै यो प्रक्रिया सञ्चालन गर्नका लागि नाइट्रोजन उत्पादनका लागि प्लान्ट निर्माण गर्न लागिएको पशुपन्छी विकास निर्देशनालयका निमित्त निर्देशक कृष्णप्रसाद पंगेनीले बताए । कृत्रिम गर्भाधान कार्यक्रमलाई सुदृढ बनाउन र दूध उत्पादनमा वृद्धि ल्याउन यो कार्यक्रमले सहयोग पुग्ने उनले जानकारी दिए । ‘प्रशोधित वीर्यका स्ट्रहरू संरक्षण तथा भण्डारणका लागि नभइ नहुने अति आवश्यक वस्तु तरल पदार्थ नाइट्रोजन बाहिरबाट आपूर्ति गर्नुभन्दा यहीँबाट कृत्रिम गर्भाधान केन्द्रहरूमा वितरण गर्ने लक्ष्य राखिएको छ ।

मन्त्रालयले कर्णालीका विभिन्न जिल्लामा करिब दुई सय कृषकहरूलाई कृत्रिम गर्भाधान सेवा उपलब्ध गराउँदै आएको छ । विशेषगरी, दूध र मासु उत्पादनका लागि कृत्रिम गर्भाधानमार्फत् नश्ल सुधार अत्यन्त प्रभावकारी मानिएको निर्देशनालयले जनाएको छ । पंगेनीका अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्म प्लान्ट निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आगामी आर्थिक वर्षबाट कर्णाली प्रदेशमा तरल नाइट्रोजन उत्पादन गर्न थालिने छ । यस परियोजना सफल भएमा कर्णाली प्रदेशमा कृषि र पशुपालन क्षेत्रमा उल्लेखनीय प्रगति हुने विश्वास सरकारको छ ।

प्रदेश सरकारले सन् २०३० सम्म पशुपन्क्षीमा लाग्ने रोग उन्मुलन गर्ने जनाएको छ । पशुपन्छीमा महामारीको रूपमा फैलिन सक्ने विभिन्न संक्रामक रोगहरूको उन्मूलन गर्न खोप अभियान सञ्चालन गर्ने भएको हो । प्रत्येक जिल्लामा रहेका गाई, भैँसी, बाख्रा र घाँसको श्रोत केन्द्रहरूको सुदृढीकरणका कार्यक्रमसमेत राखिएको मन्त्रालयले जनाएको छ । बाहिरबाट खरिद गरेर ल्याइएका उच्च जातका राँगा र साँढेको जमेको वीर्यलाई सुरक्षित राख्न र कृत्रिम गर्भाधान प्रक्रियामा प्रयोग गर्न प्लान्ट सहयोगी हुने बताइएको छ । जसले गर्दा दूध र मासु उत्पादनका लागि कृत्रिम गर्भाधानमार्फत् नश्ल सुधार प्रभावकारी हुने अपेक्षा सरकारको छ ।

प्रकाशित मितिः   १३ फाल्गुन २०८१, मंगलवार ०६:०६