समृद्धिको मार्गचित्र कोर्ने साझा दायित्व

कर्णाली उत्सवको यो छैठौँ संस्करणमा आमन्त्रण गरी शुभकामना राख्ने अवसर प्रदान गर्नुभएकोमा सर्बप्रथम आयोजक संस्थालाई प्रदेश सरकार र मेरो व्यक्तिगत तर्फबाट हार्दिक धन्यवाद दिँदै यो उत्सवको पूर्ण सफलताको शुभकामना दिन चाहन्छु ।

कर्णालीका बारेमा सुन्ने र सुनाउने तथा सरोकारवालाहरूको ध्यानाकर्षण गर्ने उद्देश्यले प्रारम्भ गरिएको यस उत्सवले पाँचौँ संस्करण पूरा गरिसेकेको छ । छैठौँ संस्करणसम्म आइपुग्दा उत्सवमा हालसम्म गरिएका विचार मन्थनले कर्णालीको वास्तबिक पहिचान बढाउने काममा सकारात्मक टेवा पु¥याएको मैले महशुस गरेको छु । त्यसका लागि आयोजक संस्था एवम् यसमा संलग्न सबैलाई धन्यवाद दिन चाहन्छु ।

सामाजिक रूपमा गरिने संवाद कुनैपनि सभ्य समाजको आधारभूत चरित्र हो । विचार र बहसले समस्याको सिर्जना मात्रै होइन । समाधानका उपायहरूको पनि खोजी गर्छ । कर्णाली उत्सव हरेक संस्करणमा गरिने विचारको मन्थनले समाधानका गनतव्य खोजी गर्ने काममा प्रेरित रहोस् भन्ने यस अवसरमा म शुभकामना पनि दिन चाहन्छु ।

कर्णाली बोल्नासाथ हाम्रो जनजिब्रोमा झुण्डिएको र कर्णालीवासीले मन पराएको कर्नालीलाई सम्झन्छौँ, मनन् गर्छौं र एक पटक पुगेर अनुभव गर्छौं भन्ने जो सुकैको मनमा लाग्न सक्छ । कर्णाली एउटा सभ्यता हो । ठूला—ठूला सहरको मानव सभ्यताको विकास नदीसँग जोडीएको हुन्छ । एथेन्स वा रोमन सभ्यता नै किन नहोस् नदीसँग जोडिन्छ । यस्तै नेपालको पुरानो सभ्यता कर्णाली हो र यो कर्णाली नदीसँग जोडिएको छ । कर्णालीको सभ्यता मानव सभ्यता र संस्कृतिसँग जोडिएको छ ।

कर्णाली प्रदेश मुलुककै एक अनुपम क्षेत्र हो, जहाँ सम्भावनाले अवसर दिएको छ । कर्णाली सभ्यता र इतिहासका दृष्टिले वैभवशाली छ । भाषा, सभ्यता र संस्कृतिका रूपमा यहाँका भूभाग ऐतिहासिक छन् । नेपाली भाषाको उद्गम स्थलका रूपमा जुम्लाको सिंजा हाम्रो गौरव र पहिचान हो । नेपाली भाषा, सभ्यता, संस्कृति सिंजाबाटै सुरु भएकाले कर्णालीलाई विश्वभरका नेपाली भाषीले आफ्नो उद्गम थलोकै रूपमा स्वीकार्ने गर्छन् ।

कर्णालीका हरेक जिल्लामा सम्भावनाका प्रशस्त आधार छन् । स्वर्गभूमिको रूपमा परिचित कर्णालीको रारा सुन्दरताको वर्णन नगर्ने सायदै कम होलान् । आर्थिक, धार्मिक र सांस्कृतिक दृष्टिले उत्तर र दक्षिण व्यापारको ढोका कर्णालीमै छ । कर्णालीले मानसरोवर एवम् मध्यएसिया पुग्ने सिल्क रोडलाई प्रतिनिधित्व गर्छ । हिमाल, पहाड, नदी, वनजंगल, कृषि भूमिलगायत औषधिजन्य उत्पादनको सम्भावना कर्णालीमै छ । मानसरोवर मार्ग, फोक्सुण्डोलगायत सांस्कृतिक र प्राकृतिक भूमिहरूले कर्णालीलाई राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय पहिचान बढाएका मद्दत गरेका छन् । कर्णालीको पानी र जडिबुटी संसारकै उत्कृष्ट छ ।

यति हुँदाहुदै पनि दुःखका साथ भन्नु पर्दछ, कर्णाली भन्ने वित्तिकै दुर्गम, अभाव र विकटको पहिचान बनाउने प्रचलित मान्यता अझै यथावत छ । वर्षोंदेखि बनाइएको रोग भोक र शोकको नकारात्मक बिम्बले हामीलाई अझैं थिचिरहेको छ ।

के कर्णाली भन्ने वित्तिकै दुःख र अभावको पहिचान मात्रै हो त ? के कर्णालीले सधै रोग, भोक र शोक उपमा पाइनै रहने हो ? कर्णालीलाई हिजोको हेय दृष्टिभावले हेर्ने यस्ता नकारात्मक सूचक र मानसिकता के हामीले बदल्न सक्दैनौँ र ? यो उत्सवमा यस्ता विषयहरूमा छलफल र बहसको विषय बन्ने मैले विश्वास गरेको छु ।

कर्णालीलाई समस्याको खाल्डो बनाउने काम भयो तर सम्भावनाको सरोवर बनाउने काममा हामीले ध्यान पु¥याउन सकेनौँ कि ? मेरो विचारमा यस विषयमा पनि हामीले गम्भीर भएर समिक्षा र छलफल गरौँ । कर्णाली विकास र समृद्धिसँग जोडिएको हरेक सकारात्मक पहलहरूमा मेरो तर्फबाट सक्दो प्रयत्न रहने म यहाँ सबैमा प्रतिवद्धता जाहेर गर्न पनि चाहन्छु ।

शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादनका हिसाबमा कर्णाली पछाडि छ । पुराना परम्परामा बाँधिएको छ । सुधारोन्मुख हुँदाहुँदै पनि कतिपय आर्थिक र सामाजिक सूचकहरू दयनीय छन् । पछौटेपन र बेरोजगारी अवस्थाले हाम्रा नागरिकलाई थिचिरहेको छ । व्यवस्थित बनाउन नसक्दा कर्णालीका कतिपय सडकमार्गको अवस्था बिजोग छ । केही सामाजिक जडात्मा समाज बाँचिरहेको छ । धार्मिक अन्धविश्वास र अनावश्यक मान्यताबाट माथि उठ्न नसकेको पनि सत्य हो । तर, आम नागरिकहरूले भन्ने गरेको र बुझ्ने गरेको भन्दा कर्णाली निकै भिन्न छ । कर्णालीलाई हेर्ने र बुझ्ने दृष्टिकोण जे सतहमा आएको छ, त्यो सत्य होइन ।

यहाँका नागरिकले यस्तो सुन्दर कर्णालीको नाम लिँदा लघुताभास गर्नुपर्ने कुनै कारण छैन । बरू कर्णालीको सौन्दर्यताप्रति उच्चताभास गर्नुपर्छ । कर्णाली दुःखको घाउ मात्र होइन, सम्भावनाको मल्हम पनि हो भन्ने विषयलाई हामी सबैले बुझ्न र बुझाउन सक्नुपर्दछ ।

कर्णालीमा गर्नु पर्ने थुप्रै विषयहरू छन् । नीति निर्माण गर्ने तहबाटै थुप्रै विषयहरूमा ध्यान पुगेन र पुर्‍याउन सकेनौँ पनि होला । हिजोदेखिका धेरै विषयहरूलाई सुधार गर्नुपर्नेछ तर यतिहुँदाहुदै पनि कर्णाली हिजोको जस्तो कर्णालीको रूपमा बुझ्ने र बुझाउने कामलाई अब हामी सबैले आ–आफ्नो तर्फबाट सुधार गर्दै लैजानु पर्दछ भन्ने मलाई लाग्दछ ।

पूर्वाधार, पहुँच, जागरण र सुधारका सूचकहरूले भन्छः कर्णाली अब हिजोको जस्तो भोक र शोकको पर्याय होइन । अब कर्णाली दुःखका गीत, कविता र गजल लेख्ने विम्ब होइन । विकास र समृद्धिका साहित्य रस लेख्न बाध्य बनाउने अवस्था सिर्जना गर्ने साझा अभियानको थालनी गर्न म यसै मञ्चबाट सबैमा आह्वान पनि गर्न चाहन्छु ।

विकास र समृद्धिप्रतिको नागरिकका तीव्र चाहना र आकांक्षा छन् । अन्यन्त्रको तुलनामा विकास र समृद्धिको हिसाबले हामी यतिबेला समृद्धशाली भइ सक्नुपर्ने थियो । छिमेकी मूलकहरूमा भएको तीव्र विकासको परिकल्पना गर्नु हाम्रो कुनै दोष होइन । अहिलेको भन्दा धेरै नै गर्न सकिने अवस्था बन्न सक्थ्यो होला तर केही हुँदै भएन भन्ने जुन लघुभास सिर्जना गर्न खोजिएको त्यो पनि सत्य होइन । मुलुक नै बर्बाद भयो भन्ने जुन खालको नकारात्मक भाष्य सिर्जना गरिएको छ त्यसलाई बदल्न आफ्ना आचरण र व्यवहारमा सुधार गरी अब नागरिकलाई आशा र विश्वास दिलाउने अभियानको थालनी गर्नु ढिलाइ गर्नु हुँदैन भन्ने विषयलाई मैले राम्रोसँग बुझेको छु ।

मैले सरकारको नेतृत्व गर्दा वा जनप्रनिधि रहँदा सधै भन्दै आएको छु । विकास र समृद्धि भनेको साझा अभियान हो । यो एकल प्रयासले मात्र सम्भव छैन । अझ कर्णालीको विकास र समृद्धिको लागि गरिने इमान्दार प्रयत्नमा यहाँ कोही पनि सत्ता र प्रतिपक्ष हुनुपर्ने मैले जरुरी देखेको छैन ।

मुलक संघीय संरचना गइसकेपछि हामीले गच्छे अनुसारको शासन व्यवस्था सञ्चालन गरिरहेका छौँ । संविधानले तीनै तहका सरकारलाई परिभाषित जिम्मेवारी र अधिकारको व्यवस्था गरेको छ । यद्यपि, संविधान अनुसार प्राप्त गर्नुपर्ने अधिकारका सन्र्दभमा कतिपय कानुन अझै बनेका छैनन् । त्यसतर्फ पनि हामीले प्रयत्न र दबाब बढाइ राखेका छौँ ।

सरकार भनेको सबै यसैले गर्ने हो भन्ने बुझाइ नागरिकमा छ । सबै काम प्रदेश सरकारले गर्न सक्दैन र अधिकार क्षेत्रभित्र पनि पर्दैन । आफ्नो अधिकार क्षेत्र पर्ने कामहरू इमान्दारिता पूर्वक गर्ने र आफ्नो अधिकार क्षेत्र बाहिरका विषयहरू संघीय सरकारलाई महशुस गराउने दृढ अभियानमा म लागिरहेको छु ।

दलीय व्यवस्थामा जति सुकै आलोचना गरेपनि राज्य सञ्चालन गर्ने यही प्रणालीबाट निर्वाचित जनप्रतिनिधि नै हुन् । मैले सरकारको नेतृत्व गरेपछि कर्णालीको विकास र समृद्धिलाई साझा बनाउने अभियानको थालनी स्वरूप राजनीतिक दलहरूको सर्वदलिय बैठकमार्फत् यहाँका खास समस्याहरूको पहिचान गरी एउटै धारणा बनाउने कोशिस गरेको थिए ।

संघीय सरकारले कर्णालीप्रति हेर्ने दृष्टिकोणमा उपेक्षाहरू थिए र छन् पनि । तर त्यसलाई हामीले चिर्ने प्रयत्न र प्रयासहरू गरिरहेका छौँ । हाम्रो निरन्तर प्रयत्नपछि पछिल्लो पटक सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले कर्णालीका केही महŒवपूर्ण सडकको स्तरोन्नतिको लागि अहिलेसम्मकै धेरै बजेट बिनियोजन गरेको छ । कर्णालीको भविष्यसँग जोडिएका कर्णाली करिडोर, भेरी करिडोर, गमगढी नाक्चेनाङ्गला सडकजस्ता रणनीतिक महŒवका सडकहरूको स्तरोन्नति र सुधारमा उल्लेख्य बजेट बिनियोजन भइ काम अगाडि बढ्ने प्रक्रियामा रहेको अवस्था छ । अनियमित विद्युतलाई नियमित गर्न १३२ केभिए विद्युत प्रसारण लाइन र सुर्खेत विमानस्थललाई स्तरोन्नति गर्ने काममा केही नीतिगत निर्णय र सुधारका कामहरू भएका छन् ।

कर्णाली प्रदेशको लक्ष्य भनेको विकास, पूर्वाधार र परिवर्तन हो । कर्णाली मुलुक समृद्धिको मुहान बन्न चाहान्छ । कर्णालीको समृद्धिमा जल, जमिन, पर्यटन, जडिबुडी, भेषभूषा, भाषा संस्कृतिलाई हामीले हाम्रो अनुकुलतामा विकास गर्न चाहान्छौँ । यसमा सबैको हातेमालो जरुरी छ ।

कर्णाली विकासमा पछाडि पर्नुको कारण हिजोदेखिको उपेक्षा हुँदै हो तर कर्णालीवासीमा जागरुकताको कमी र उत्तरदायित्वबाट पन्छिनु पनि अर्को कारण हो । सुधारका थुप्रै चुनौतीहरू हाम्रा सामु हुँदाहुदैँ कर्णालीको विकासको लागि क्रमभंग हुने अवस्थाको सुरुवात भएको छ । यतिबेला सबैको साझा प्रयत्नबाट यो क्रमभंगतालाई उच्चतम् बिन्दुमा पुर्‍याएर समृद्धिको मार्गचित्र कोर्ने साझा दायित्व हामी सबैको काधमा आएको छ । म यो मञ्चबाट सबैमा आह्वान गर्न चाहन्छु, सबैले आ–आफ्नो ठाउँबाट इमान्दार प्रयत्न जारी राखौँ । हाम्रो इमान्दार प्रयत्नबाटै कर्णालीको समृद्धि सम्भव छ ।

लोकतन्त्रको विकल्प अझ सहभागितामूलक उन्नत लोकतन्त्र नै हो । यसको विकल्पमा पारिवारिक र वंश परम्पराको शासन व्यवस्था कदापी हुन सक्दैन । व्यक्तिका तमाम कमजोरीहरू होलान । सत्ता सञ्चालन र शासनमा आमूल सुधारको अपेक्षा होला । म त्यसलाई अन्यथा मान्दैन । आवधिक निर्वाचनमार्फत् सार्वभौम नागरिकले त्यस्ता व्यक्तिलाई जनमतबाटै तिस्कार गर्न सक्ने हामीले व्यवस्था गरेका छौँ । तर व्यक्ति विशेषका कमजोरीलाई लिएर व्यवस्थाप्रति घृणा फैलाउने र नागरिकलाई राज्यप्रति वितृष्णा जगाउने कामले न व्यवस्था बलियो हुन्छ न नागरिकले सन्तुष्टी प्राप्त गर्न सक्दछन् ।

अन्त्यमा, कर्णाली उत्सवको यो छैठौँ संस्करणमा कर्णालीको सन्दर्भमा उठेका विचार मन्थनबाट कर्णालीको विकास र समृद्धिमा सकारात्मक र सार्थक टेवा पुग्न सकोस् भन्दै पुनः यो उत्सवको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु ।

(सुर्खेतमा सोमवारदेखि सुरु भएको कर्णाली उत्सवमा मुख्यमन्त्री यामलाल कँडेलको शुभकामना मन्तव्य ।)

प्रकाशित मितिः   ६ फाल्गुन २०८१, मंगलवार ०६:०४