आजदेखि ‘कर्णाली उत्सव’ हुँदै
सुर्खेत: कर्णाली उत्सवको छैटौँ संस्करण आज (सोमवार) देखि सुरु हुँदै छ । ऋति फाउण्डेशनको आयोजनामा विगत पाँच वर्षदेखि हरेक वर्ष सुर्खेतमा कर्णाली उत्सव सञ्चालन हुने गरेको छ । त्यसकै निरन्तरता अन्तर्गत यसपटक छैटौँ संस्करण हुने भएको हो ।
तीन दिनसम्म चल्ने उत्सवमा कर्णाली प्रदेशको पहिचान र सम्भावना केलाइने आयोजकले जनाएको छ । परम्परागत रूपमा हुने कचहरी वा बैठकको आधुनिक रूपमा उत्सवको माध्यमबाट कर्णालीमा सार्वजनिक बहसको श्रृंखला थालनी गरिएको आयोजक समितिका प्रकाश लामिछानेले बताए ।
वीरेन्द्रनगरस्थित सिटी हलमा सोमवार दिउँसो १२ बजेदेखि उत्सवको उद्घाटन सत्र चल्नेछ । त्यसपछि सोमवार नै ‘के पढ्यौँ ? के पढायौँ ?’, ‘स्वाइनी स्वर’, पैकेलोको कथा, ‘किस्सा तन्नेडीका’, ‘बैकिनी बाल्लिछन्’ लगायतका सत्र सञ्चालन हुने जनाइएको छ । साँझ देउडा ब्याटलसहित पहिलो दिनको समापन गरिने लामिछानेले जानकारी दिए ।
दोस्रो र तेस्रो दिन पनि विद्धत प्रवचनसहित विविध शीर्षकमा सत्रहरू सञ्चालन गरिनेछ भने बुधवार गजल साँझसहित उत्सवको समापन हुनेछ । समाजमा खुला र लोकतान्त्रिक बहसलाई संस्कारको रूपमा विकास गर्न सघाउने कर्णाली उत्सवका संयोजक कमल लम्सालले बताए । ‘कुनै पनि कामको सुरुवात बिचारबाटै हुन्छ । हामी त्यही विचारबाट प्रेरित छौँ,’ लम्सालले भने ।
प्रकाशित मितिः ५ फाल्गुन २०८१, सोमबार ०६:०४
साझा बिसौनी ।