आयोजना बैंक
कर्णाली प्रदेश सरकारले ‘आयोजना बैंक’ निर्माण गरेर मात्र लगानी सम्मेलन गर्ने भएको छ । यसअघि आवश्यक तयारी र प्रक्रिया पूरा नहुँदा लगानी सम्मेलन हुन सकेको थिएन । बेला–बेला भइरहने सरकार फेरबदल र योजना आयोगले पूर्णता नपाउँदा लगानी सम्मेलन अन्योलमा पर्दै आएको थियो । यो पटक भने लगानी सम्मेलनका लागि केही आधार निर्माण गरेर मात्र सम्मेलनको मिति तय गर्ने सरकारले जनाएको छ । आयोजना बैंक निर्माण गर्ने र त्यसै अनुरूप लगानी सम्मेलन गर्ने तयारी छ । अहिले आयोजना बैंकको कार्यविधि निर्माणको काम भइरहेको छ । लगानी सम्मेलनबारे यसअघि भएका काम र आयोजनाहरूको सुनिश्चित गरेर मात्र सम्मेलन गर्ने तयारी भएको हो ।
यसअघिको योजना आयोगले समेत केही तयारी गरेको थियो । सोही बमोजिम काम अघि बढाउन लागिएको हो । यसअघि भएका अभ्यास हेर्दा तयारी नहुँदा काम हुनसकेको थिएन । सम्मेलनका केही आधार तय गरेर मात्र काम अघि बढाउन लागिएको जनाइएको छ । यसअघि प्रदेश सरकारले विभिन्न समयमा लगाानी सम्मेलन गर्नेगरी तयारी थालेको थियो । तर सरकारको योजना कार्यान्वयन भएको थिएन । अन्तिम पटक निवर्तमान मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारले यही वैशाखमा लगानी सम्मेलन आयोजना गर्ने योजना बनाएको थियो । वैशाख १९ र २० गते प्रदेश राजधानी वीरेन्द्रनगरमा सम्मेलन गर्नेगरी तयारी थालिएको थियो । सम्मेलनको तयारीका लागि मुख्यमन्त्रीको नेतृत्वमा निर्देशक समिति र अन्य विभिन्न उपसमिति गठन गरिएको थियो । आर्थिक, सामाजिक र सुशासन समितिसमेत गठन गरेर काम अघि बढाइएको थियो । प्रदेश योजना आयोगले वैशाख १९ र २० गते लगानी सम्मेलन गर्ने गरी प्रदेश सरकारलाई कार्ययोजना प्रस्ताव गरेको थियो । उक्त प्रस्तावलाई मन्त्रिपरिषद् बैठकले स्वीकृतसमेत गरेको थियो । २०८० माघ २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख १९ र २० गते कर्णाली प्रदेश लगानी तथा विकास सम्मेलन गर्ने निर्णय गरेको थियो ।
कर्णालीमा लगानीमैत्री वातावरण नहुँदा ठूला पूर्वाधार निर्माणका आयोजना अध्ययनमै सीमित भएका छन् । लगानीमैत्री वातावरण नहुनु, आयोजना सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार अभाव हुनु लगायतका कारण ठूला आयोजना सञ्चालन हुन सकेका छैनन् । दुई पटक लगानी सम्मेलनको योजना विफल बनेको थियो । त्यतिबेला धेरै कामसमेत अघि बढिसकेको अवस्थामा सरकार फेरबदलले गर्दा सम्मेलन अन्योल बनेको थियो । यो पटक भने सरकारले लहडमा भन्दा पनि तयारी पूरा गरेर मात्र लगानी सम्मेलन गर्ने तयारी गरेको छ । हचुवाको भरमा सम्मेलनको मिति तय गर्दा दुविधा उत्पन्न भएको भन्दै तयारी पूरा गरेर मात्र मिति तय गर्न लागिएको हो ।
प्रकाशित मितिः ४ फाल्गुन २०८१, आईतवार १०:१३
सम्पादकीय ।