सशस्त्र युद्ध

 

 

प्रत्येक वर्ष फागुनको पहिलो हप्तासम्म माओवादी आन्दोलन जनयुद्ध हो कि हिंसा हो भन्ने सवालमा निकै वादविवाद चल्छ र यसको बहस पैरवीलाई मिडियाले पनि महत्व दिने गर्दछन् । तर यस पटक तुलनात्मक रूपमा बहस सबेरै सेलायो । २०५२ साल फागुन १ गते माओवादीले द्वन्द्व नछेडेको भए देशमा आजपर्यन्त राजतन्त्रको दबदबा कायमै रहन्थ्यो र जनताले हक अधिकार स्वतन्त्रता पाउन सक्दैनथे, त्यसकारण यो जनयुद्ध नै हो भन्ने माओवादीको धारणा छ । आफ्नो जिउ–ज्यानको माया मारी घरबार त्यागेर आन्दोलनमा होमिएका निष्ठावान योद्धा र जुझारु कार्यकर्ताका लागि उक्त द्वन्द्वलाई निसंकोच हिंसा भनिदिँदा भावनामा चोट लाग्न पनि सक्छ । त्यसकारण यसलाई सतही रूपमा हिंसा र जनयुद्ध भनेर कतै पक्षधरता लिइरहनु भन्दा गर्तमा पुगेर अन्वेषण गर्नु उपयुक्त होला कि भन्ने लाग्छ ।

राजदरबार भित्र बन्दुकले राजा वीरेन्द्रको वंश विनाश ग¥यो । तत्कालीन सरकारले विलम्ब नगरी हतारमा राजपरिवारको लास जलायो । राजगद्दीका उत्तराधिकारी ज्ञानेन्द्रले समेत यो घटनाको सत्यतथ्य खोज्न चासो देखाएनन भन्ने जनताको बुझाइ छ । त्यसकारण वीरेन्द्रको वंश विनाशसँगै राजतन्त्रको मूलजरो हल्लिरहेको थियो । कुकर्मले बदनाम भएका कारण जनताको समर्थन नपाएका तत्कालीन पार्टीहरू नयाँ राजासँग मुकाबला गर्न नसकी दिल्लीमा पुगेर माओवादीमा शरणागत भएको कुरा जनतामा अवगत छँदैछ । दिल्लीमा भएको १२ बुँदे सम्झौताको जगमा निर्माण भएको तत्कालीन सात पार्टी र माओवादीको संयुक्त मोर्चालाई जनताले साथदियो, आन्दोलन सफल भयो देशमा गणतन्त्र आयो । त्यसकारण गणतन्त्रको लागि माओवादीको भूमिकालाई पूर्णरूपमा नकार्न मिल्दैन ।

अब यहाँ माओवादी कार्यकर्ता, लडाका र साधारण जनताले बुझ्नुपर्ने कुरा के भने, गणतन्त्र स्थापनाका लागि आन्दोलन छेडेको माओवादी नेतृत्वले विगतमा पटक–पटक राजा वीरेन्द्र र ज्ञानेन्द्रसँग भेट्ने प्रयास गरिरहनुको कारण के हो ? यसको विषयमा चर्चित पुस्तकहरू ‘प्रयोगशाला’ र ‘तुषानल’ले खुलासा गरिरहेका छन् । गणतन्त्र आएपछि मदन भण्डारी हत्याकाण्ड का शंकास्पद गाडी चालक अमर लामालाई दिनदहाडै खुला सडकमा गोलिले ढाल्ने को हो ? पूर्वराजा ज्ञानेन्द्र अनावश्यक रूपमा बोल्न थाले भने दरबार हत्या काण्डको अनुसन्धान गरिन्छ भन्ने ढंगबाट माओवादी नेतृत्वले सार्वजनिक रूपमा बोल्नुको रहस्य के हो ? यी प्रश्नले सहि जवाफ नपाएसम्म कसैलाई खुसी पार्नकालागि जनयुद्धको नाम जपेर धूपधार गर्न सकिँदैन ।

युद्ध आफैमा निर्मम हुन्छ, मान्छेको बलिदानी माग्छ । खासमा भन्नुपर्दा रगतबिना युद्ध सम्भव हुँदैन र विश्वका कैयन युद्धले मान्छेलाई घाइते अपाङ्ग मात्रै पारेको छैन अस्तित्व पनि नामेट पारिदिएको छ । तर नेपालको माओवादी युद्ध यति चलाक रहेछ कि नेता र नेताका कुनै छोराछोरीलाई घुनपुत्लो नलाग्ने गरिबका सन्तानले मात्रै कुर्बानी गर्नुपर्ने भएछ । मनन गरौं जो जति युद्धमा घाइते र अपाङ्ग भए, नेताका लहैलहैमा उम्लेर ज–जसले ज्यान फाले ती र तिनका परिवार आज सत्ताको तातो भन्दा कोषौं टाढा छन् । प्राय भारत भूमिलाई सेल्टर बनाएर युद्ध चलाएका नेताका छोराछोरी बुहारी ज्वाईं सम्धी नातागोता सबै वेतनभोगी राजकीय पदमा छन् । कसैका भाग्यमानी छोरा अवैध सुनको कारोबारबाट राजधानीमा भव्य महल बनाउन आफ्ना बाबुहरूलाई सघाइ रहेकाछन् भने कोही नव राजकुमारहरू नक्कली भुटानी शरणार्थी बनाइ जनतालाई विदेश बेच्ने धन्दा चलाएर धन आर्जन गरिरहेका छन् । यस्ता नवधनाढ्यलाई यो व्यवस्था खास्सा छ र जनयुद्धको वकालत नगरी नहुने भएको छ ।

माओवादीको युद्ध चलाक मात्र होइन पक्षपाती पनि रहेछ भन्ने कुरा समयले देखाइदिएको छ । हिन्दुजनका पवित्र मठ मन्दिर भत्काइयो आगोले खरानी पारियो, कथा वाचक मारिए तर यहि द्वन्द्वकालमा तमाम चर्चहरू देशका कुना कन्दरा डाँडाकाँडामा निर्वाद ठडिए विस्तार भए । ‘कम्युनिष्टहरू स्वभावैले कृश्चिय हुन्, म प्रधानमन्त्री हुँदा बल पूर्वक कृसमसमा बिदा दिने निर्णय गरेको हुँ’ भन्ने ढंगबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निसंकोच सार्वजनिक अभिव्यक्ति दिएको सायद जनताले भुलिसकेका छैनन् । बृहत् शान्तिसम्झौता सम्पन्न भएको करिब १६ वर्ष पुगिसक्यो, सत्यनिरूपण र बेपत्ता छानबिन आयोग तमासे जस्तै बनेका छन् । तमाम द्वन्द्वपीडितलाई न्याय नदिएर राज्यले वर्षौंवर्ष झुलाइरहेकोले पीडामाथी पीडा थपेको छ । तिनका आँखाबाट हेरेर मनन गरौँन तिनलाई सुपाच्य हुन्छ जनयुद्ध दिवस ?

गणतन्त्र आएपछि आफ्नो भागमा लाभैलाभ हालेका एकजना उच्च पदस्थ व्यक्ति रक्सी धोकी हातमा समेत बोकेर बलात्कारजस्तो निकृष्ट कुकर्ममा जोडिन पुग्छन् । मोबाइल फोनको विवरण र सीसीटिभी फुटेज जस्ता प्रविधिका अकाट्य दसीप्रमाणहरू हुँदाहुँदै कानुनको कर्मकाण्ड पु¥याएर चोख्याउँछ गणतन्त्रले । अन्य देशमा भएको भए त्यस्ता कसुरदारलाई सके मृत्युदण्ड दिइन्थ्यो, यदि त्यहाँ मृत्युदण्डको प्रावधान नभएको खण्डमा आजीवन अनिवार्य कालकोठरीको बास हुन सक्थ्यो तर यहाँ ती भाग्यमानीलाई अस्पतालमा सुताइ जेलको सजाय कट्टा गरियो । यो व्यवस्था ल्याएर उपद्रव गर्नेलाई जनयुद्धको भजन गाउनुपर्ने हुन सक्छ । साँच्चै नेतृत्वलाई विश्वास गरेर युग परिवर्तनका लागि लडेका लडाकु र कार्यकर्ता निराश मन र रित्तो हात फर्किएर समाजमा हीनताबोधले बाँच्नु परिरहेको यथार्थ छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जन्मजात राजावादी हो र हिन्दु धर्मको वकालत गर्छ । यसका अध्यक्ष राजेन्द्र लिंदेन बाहिर मात्रै होइन, संसद्मा पनि उभिएर प्रष्ट भनेका छन् कि समयानुकूल भएमा संविधान फेर्छौं, राजा ल्याउँछौं र धर्मको पनि रक्षा गर्छौं । गणतन्त्रका लागि लडेका भनिएका प्रचण्डले विपरीत सिद्धान्त विचार र उदेश्य बोकेका उनै राजावादीसँग फेरि किन घाँटी जोड्नु परेको हो ? किनभने सत्तामा जान र भोग विलास गर्न । त्यसकारण सत्ताका लागि जे जस्तो पनि गर्नेसक्ने पर्यायवाची नाम बनेको छ उनको । प्रधानमन्त्री हुन का लागि राप्रपाको पनि साथ चाहिने भएपछि अब सरकारमा सामेल गराउनै पर्ने नैतिक संकटलाई उनले पानी झै पिइदिए । यति भैसक्दा पनि फेरि जनयुद्धकै खोल ओढ्नु परिरहेको छ ।

सत्ता जोगाउने बाध्यतामा परेर विशेष गरि राप्रपाको जोड र बलमा पुष २७ गते पृथ्वीनारायण जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय ग¥यो प्रचण्ड सरकारले । त्यसको श्रेय आफ्नो पोल्टामा हाल्न खोजे पनि जनता पत्यादिन तयार छैन किनकि हिजो पृथ्वीनारायण शाहको शालिक तोडफोड गर्न अराजकलाई उचाल्ने पनि प्रचण्ड नै थिए र राप्रपालाई राजतन्त्रको प्रेतात्मा भनी हियाउने पनि उनै थिए । काँग्रेस र एमाले राष्ट्रपति चुन्ने विषयमा केही मनमुटाव पालेका र प्रचण्डलाई आ–आफ्नो कित्तामा तान्न जोड बल गरिरहेको मौका छोपेर फागुन १ गते जनयुद्ध दिवस घोषणा गरि उक्त दिन बिदा दिने निर्णय गरिदिए, ताकी कसैले ठाडो विरोध नगरुन् । २७ गते एकता दिवस मनाउन र बिदा दिन बाध्य भएबाट त्यसको सोधभर्ना तथा क्षतिपूर्ति बापत फागुन १ गते जनयुद्ध दिवसमा बिदा दिने निर्णय भएको हो भन्नेमा कतै सन्देह छैन । तर अदालतले यसलाई खारेज गरिदिंदा भने सपनामा तुषारापात भएको छ । मोहन वैद्य, बाबुराम भट्टराई लगायतका पुराना माओवादी नेतालाई जनयुद्ध शब्दमा कुनै मोह देखिदैन । अहिले जहाँ जे भए पनि माओवादी द्वन्द्वबाट राजनीतिक यात्रा सुरु गरेका रामबहादुर थापा बादलले समेत जनयुद्ध होइन हिंसा नै हो भन्दछन् भने सत्ताको लागि लत्तो छाड्ने अस्थिर प्रवृतिको दबाबमा जनताले जनयुद्ध भनिरहन दरकार छैन ।

बिरामीले लामै थला पारेपछि प्रचण्ड पत्नी सीता दाहालको अस्पतालमा मृत्यु भयो । मृत्युले परिवार र आफन्तजनलाई भावविह्वल बनाएर शोकमा डुबाइदिन्छ । शोकको घडीमा पनि उछार खेलेर प्रचण्डले सीता दाहालको मृत्युमा राष्ट्रिय सम्मान दिने घोषणा गरिदिए । शोकाकुल अवस्थामा मुख खोलेर कोही अर्घेलो हुन नसके पनि यतिसम्मको छुद्रता सायद धेरैलाई हजम भैरहेको थिएन । बहालवाला प्रधानमन्त्रीको श्रीमती मृत्यु हुँदा राष्ट्रिय सम्मान पाउने हो भने भोलि पूर्वप्रधानमन्त्रीका श्रीमतीहरू पनि कालगतिले मृत्यु हुँदा सम्मान किन नपाउने भन्ने गम्भीर प्रश्न खडा हुन सक्छ । पूर्वप्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको मृत्युमा गणतन्त्रको सरकार तमासे बनेको पनि जगजाहेर छ । प्रष्ट देखिने र बुझिने गरि गणतन्त्रको सत्ताले पक्षपात गर्ने क्षमता राख्दो रहेछ । आफ्नो हात जगन्नाथ भने झैं तत्कालीन सरकारले आफ्नो बजेटमा समेत सीता दाहाल मेमोरियल कलेज अफ नेचुरोथेपी स्थापना गर्ने घोषणा गरेको थियो । देशकालागि सीता दाहालको योगदान नेपाली जनताले अनुभूत गर्ने होकि प्रचण्ड पक्षधरले बर्णन गरेका कुरामा मात्रै समर्थन गर्ने हो विज्ञहरू नै वकालत गरुन् । पक्षपातबाट पाखा पारिएकाहरूले जनयुद्धलाई बोक्न र उचाल्न जरुरी देखिदैन ।

सशस्त्र युद्धको पूर्वसन्ध्यामा तत्कालीन सरकारलाई ४० बुँदे मागको फेहरिस्त तेर्साएर माओवादी आन्दोलनमा गएको कुरा सबैलाई अवगत छ । २०६४ सालदेखि माओवादी प्रत्येक्ष र परोक्ष रूपमा सत्ता वरिपरि कृयाशील छ । ती ४० वटा मध्ये कतिवटा माग सम्बोधन भए त्यसको मूल्याङ्कन हुनु पर्दैन ? सत्ता प्राप्तिका लागि प्रचण्डले आदर्श सिद्धान्त विचार निष्ठा सबै त्यागेर कहिले कुनै पार्टीसँग एकीकरण गरे, फेरि अर्को पार्टीसँग गठबन्धन गरे र स्वार्थमा पालैपालो पार्टी फेर्दै फेर्दै हिंडे । आफ्नो अडानमा अडिन पनि नसक्ने अनि जनयुद्धको ढिपी पनि नछाड्नेका लागि आखिर कसले र किन थामिदिनु पर्ने हो सार बिहिन जनयुद्ध ? प्रचण्ड परिवारको स्तुतिगानका लागि जनयुद्ध भन्नेहरूले भनिरहुन् तर जनताले आत्मसात गर्न सक्दैनन् । जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने भनि निर्णय भएकोमा अदालतको आदेशले खारेज गरिदिएको मात्रै होइन माओवादी द्वन्द्वलाई जनयुद्ध भन्ने शब्द प्रयोग नगर्न पनि रोक लगाएको अवस्था छ ।

अब समाज विभाजित हुने विषय र शब्दको निरर्थक बहसमा बहकिरहनु भन्दा उपलब्धिको खोजी गरिनुपर्छ । राजनीतिक खिचातानीमा धेरै समय बर्बाद भैसकेको छ, कोही कसैको उक्साहटमा लागेर समाज भत्काउने दिशामा समय खर्च गर्नु वाञ्छनीय हुँदैन । विवेकशील जनताले समूह, समुदाय र देश जोड्दै अगाडि बढ्ने साझा संकल्प लिनुपर्छ भन्ने लाग्छ ।

 

-उमालाल आचार्य

प्रकाशित मितिः   ४ फाल्गुन २०८१, आईतवार १०:१४