कर्णाली समृद्धिका आधार

 

 

कर्णाली प्रदेश नेपाली भाषाको उद्गम थलो मात्रै होइन, साहित्य, सभ्यता र साँस्कृतिक विविधताले पनि भरीपूर्ण प्रदेश हो । खस साम्राज्यको ऐतिहासिक विरासत बोकेको कर्णालीले आफ्नो भौगोलिक, सांस्कृतिक र परम्परागत धरोहरलाई जोगाइरहेको छ । समुद्री सतहबाट एक हजार पाँच सय मिटरको औसत उचाइमा रहेको यो प्रदेश भौगोलिक स्वरूपमा विकट भएपनि प्राकृतिक रूपमा सुन्दर छ ।

प्रदेशको सबैभन्दा होचो भाग सुर्खेत उपत्यका ६ सय मिटरमा छ भने उच्चतम भाग कान्जिरोवा हिमाल ६ हजार आठ सय ८३ मिटरमा अवस्थित छ । कर्णाली प्रदेश १० वटा जिल्ला (हुम्ला, मुगु, जुम्ला, डोल्पा, कालिकोट, दैलेख, जाजरकोट, रुकुमपश्चिम, सल्यान र सुर्खेत) मिलेर बनेको छ । यो नेपालका सात प्रदेशहरूमध्ये क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो प्रदेश हो, जसको कूल क्षेत्रफल ३० हजार दुई सय ११ वर्ग किलोमिटर छ । कर्णाली जनसंख्याको हिसाबले सबैभन्दा सानो प्रदेशको हो । २०७८ को जनगणनाअनुसार कर्णाली प्रदेशको जनसंख्या १६ लाख ९४ हजार आठ सय ८९ रहेको छ । जसमा आठ लाख २८ हजार तीन सय सात पुरुष र आठ लाख ६६ हजार पाँच सय ८२ महिला रहेका छन् ।

कर्णाली प्राकृतिक सम्पदाले सम्पन्न छ । नेपालको सबैभन्दा ठूलो ताल रारा र गहिरो ताल से–फोक्सुण्डो कर्णालीमै छन् । कर्णालीमा २५ नगरपालिका र ५४ गाउँपालिका गरी कूल ७९ स्थानीय तह छन् । मानव विकास सूचकांकमा ०.४२७ रहेको कर्णालीमा औसत प्रतिव्यक्ति आय आठ सय ६ अमेरिकी डलर छ । जुन नेपालकै औसत आयभन्दा कम हो । प्रदेशको युवा साक्षरता दर ६६.१७ प्रतिशत छ भने कूल जनसंख्याको २८.९ प्रतिशत नागरिक निरपेक्ष गरिबीको रेखामुनि छन् । ५१.२२ प्रतिशत जनसंख्या बहुआयामिक गरिबीको चपेटामा छन् ।

कर्णाली भाषा, जातजाति र संस्कृतिको प्राचीन केन्द्र मानिन्छ । यहाँ ब्राह्मण, क्षेत्री, दलित र जनजाति समुदायको बसोबास रहेको छ । कर्णालीमा दशैँ, तिहार, माघे संक्रान्ति, जनैपूर्णिमा, गौरा पर्वजस्ता चाडपर्वले यहाँको सांस्कृतिक बैबभ दर्साउँछ ।

प्रदेशको आर्थिक विकासका मुख्य आधार जल, जमिन र जुडिबुटी हुन् । सिँचाइ र जलविद्युतको प्रचुर सम्भावना रहेको यो क्षेत्र कृषि उत्पादनका लागि पनि उपयुक्त मानिन्छ । यहाँका उत्पादनहरूमध्ये मार्सी धान र औषधिजन्य वनस्पतिहरू विशेष छन् । मन्दिर, गुम्बा, ऐतिहासिक धरोहर र पवित्र स्थलहरूले कर्णालीको महत्त्व झल्काउँछन् ।

यद्यपि, कर्णालीका जनताले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा अनेकौं चुनौतीहरू सामना गर्नुपरेको छ । कर्णालीमा निरक्षरता दर अझै ४१ प्रतिशत रहेको छ । तर, यहाँका प्राकृतिक स्रोतसाधन र सांस्कृतिक सम्पदाले विकासका लागि अथाह सम्भावना बोकेको छ । सामाजिक एकता, परम्परागत ज्ञान र सांस्कृतिक विविधताले भविष्यमा कर्णालीलाई थप समृद्ध बनाउन टेवा पुर्‍याउने देखिन्छ ।

 

आर्थिक समृद्धिका आधारहरू

कर्णाली प्रदेश नेपालकै भौगोलिक दृष्टिले सबैभन्दा विकट र दुर्गम क्षेत्रमध्ये एक भए पनि यस क्षेत्रमा आर्थिक समृद्धिका लागि विभिन्न सम्भावना भएका क्षेत्रहरू छन् । मोरिङ्ला र हिल्साको नाका खोलेर भेरी र कर्णाली करिडोर हुँदै चीनको तिब्बत र भारतको उत्तर प्रदेश जोडेर प्रदेशको व्यापारिक नाका बनाउँन सकिन्छ । यसले कर्णालीबासीको जीवनस्तर बढाउनका लागि ठूलो मद्दत गर्नेछ ।

कर्णालीलाई आफैँमा जडिबुटीको राजधानीसमेत भनिन्छ । प्रदेशमा बहुमूल्य यार्सागुम्बादेखि गुच्ची च्याउ, पाँचऔँले, बोझो, सुनाखरी, चिराइतो, भुत्ले र टिमुरलगायत सयौँ प्रकारका जडिबुटी पाइन्छन् । अर्कोतर्फ बहुमूल्य पत्थरहरू टुर्मालिन, काइनाइट, फेन्टालगायत रत्नहरू पाइन्छन् र अव्यवस्थित रूपमा यसको व्यापार भइरहेको छ । यस क्षेत्रमा बहुमुल्य जडिबुटी र खनिज पदार्थहरू समेत पाइन्छन् । उक्त सामाग्रीहरूको प्रदेशमै संकलन, प्रशोधन र भण्डारण केन्द्रहरू स्थापना गरि प्रशोधित सामानहरूमात्र निर्यात गर्न सके प्रदेश जडिबुटी र पत्थरको निकै ठूलो आपूर्तिककर्ता बन्ने निश्चित छ ।

सुर्खेतको अदुवा अहिले पनि विदेशी बजारमा निर्यात हुँदै आएको छ । यहाँ रेसा भएको माल्नेटाको अदुवा लगायत उत्पादनको बजारीकरण गरी विश्वबजारमा व्यापार गर्न सके यो प्रदेशलाई धनी बनाउँन सकिन्छ । कुनै बेला पशुपालनले नै सम्पन्न रहेको कर्णाली प्रदेश हाल पशुपालनले अपेक्षित व्यावसायिक रूप लिन सकेको छैन । कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रलयको तथ्याङ्क अनुसार प्रदेशमा ७१ डेरी, एक ह्याचरी, २६ वटा भेडा फार्म रहेका छन् । पशुपालनको अझै व्यावसायिक नभएको तथ्याङ्कले देखाउँछ । कर्णालीमा करिव ३१.६५ लिटर दुध प्रतिव्यक्ति प्रति वर्ष अपुग हुँदै आएको छ । त्यस्तै मासु १.२२ केजी र अण्डा ३० वटा प्रतिव्यक्ति प्रतिवर्ष अपुग भएको सरकारी तथ्यांकले देखाउँछ ।

कर्णाालीमा ३१.५५ प्रतिशत खेती गरिएको जमिनमा सिँचाइ भएको छ । कुल दुई लाख १६ हजार आठ सय ८० हेक्टरमा खेतीयोग्य जमिनमध्ये वर्षभरी सिँचित भूमि ३८ हजार ३३ हेक्टर छ । ३० हजार तीन सय हेक्टर आंशिक रूपमा सिँचाइ भएको देखिन्छ । प्राप्त तथ्यांकलाई जिल्लागत रूपमा हेर्दा कालिकोट, सुर्खेत र जाजरकोट जस्ता जिल्लामा कुल खेती गरिएको जमिनको सिंचित प्रतिशत धेरै छ तर जुम्ला, सल्यान र मुगुलगायतका जिल्लामा यो प्रतिशत कम रहेको छ ।

 

पर्यटनको आधार

प्राकृतिक स्रोत, साधनले धनी कर्णालीसँग मानवीय सभ्यताको ढुकुटी पनि छ भन्ने थाहा पाउन एकपटक कर्णाली घुम्नै पर्छ । कर्णाली प्रदेश पर्यटकीय हिसाबले ‘भर्जिनल्यान्ड’का रूपमा लिइन्छ । पछिल्लो समय युवाहरूको प्रमुख रोजाइमा कर्णालीको सुन्दर पर्यटकीय स्थलहरू पर्न थालेका छन् । नेपालको इतिहास, नेपाली भाषाको उत्पति र संस्कृति बुझ्न पनि यो प्रदेश महत्वपूर्ण मानिन्छ ।

सुर्खेतको काँक्रेविहार, देउती बज्यै, नेपालको सबैभन्दा ठूलो र हिमालको काखमा रहेको मुगुको राराताल, दैलेखको श्रीस्थान, पञ्चकोशी, ज्वाला क्षेत्र, भुर्तिका २५ देवल, खसहरूको इतिहास बोकेको सिँजा उपत्यका र जुम्लाको चन्दननाथ, हुम्लाको खार्पुनाथ, डोल्पाको त्रिपुरासुन्दरी, सल्यानको खैराबाङ, जाजरकोट मालिका मन्दिरजस्ता दर्जनौँ मन्दिर, रिन्चेलिङ्ग गुम्बा, लिमी उपत्यका, रलिङ्ग गुम्बा, तिब्बतको मानसरोवर र कैलाश पर्वत पुग्ने प्रमुख मार्ग, कर्णाली जलविहार, रूकुमको स्यार्पू ताललगायत ५२ पोखरी ५३ ताल त्यत्तिकै महŒवपूर्ण छ ।

उत्तरगंगा अर्को महत्वपूर्ण पर्यटकीय गन्तव्य हो । नेपालका सबै नदीहरू दक्षिणतर्फ बग्ने गर्दछन् तर यो नदी उत्तरतर्फ बग्ने भएकाले उत्तरगंगा भनिएको हो । पाण्डवहरू स्वर्ग जाँदा उत्तरगंगाकै बाटो भएर गएको धार्मिक किम्बदन्ती रहेको छ । भेरी नदी किनारा हुँदै नेपालको सबैभन्दा गहिरो ताल (डोल्पा, शे–फोक्सुण्डो) अर्को महŒवपूर्ण गन्तव्य हो । जाजरकोट हुँदै कुशेमुसे र चाखुरेको बुकिझुल्ने पाटन र करैचुली, सिस्ने हिमाल, काञ्जिरोवा हिमाल, पातरासी हिमाल, कागमारा हिमाल, सैपाल हिमाल, पुथा गोरखखाङ हिमाल (वि.सं. २०७१ बाट खुल्ला गरिएको), चंखेलीजस्ता हिमाल तथा डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र मुगुको रारा राष्ट्रिय निकुञ्ज महŒवपूर्ण पर्यटकीय गन्तव्य हुन् । प्रदेश सरकारले उपरोक्त स्थलहरूको पर्यटकीय पथमार्ग बनाएर अघि बढ्न सक्नुपर्छ ।

कर्णाली प्रदेशमा ६ हजार मिटरभन्दा अग्ला १२ वटा हिमाल मध्ये अधिकांश नचढिएका हिमालहरू छन् । मानसरोवर क्षेत्रबाट उद्गम हुने नेपालकै लामो नदी कर्णालीमा मानसरोवरदेखि गंगासम्मको ¥याफ्टिङको सम्भावनालाई उजागर गर्दछ । हालै नेपाल सरकारको पर्यटन मन्त्रालयले एक सय एकवटा पर्यटन गन्तव्यहरू घोषणा गरेकोमा कर्णाली प्रदेशमा १८ वटा पर्न गएका छन् । कर्णाली प्रदेश सरकारले पनि प्रदेश भित्र एक सय पर्यटकीय गन्तव्यहरू घोषणा गरेको छ । तसर्थ, तीनै तहका सरकारले पर्यन क्षेत्रमा लगानी गरे कर्णाली बासीले राम्रो लाभ लिने देखिन्छ । कर्णालीलाई पर्यटनको माध्यमबाट पनि आर्थिक रूपमा संमृद्ध र सवल बनाउँन सक्निछ ।
प्रदेश सरकारको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेशको पर्यटन गुरुयोजना नै निर्माण गरेर १० ओटै जिल्लाका पर्यटकीय क्षेत्रको विकास गर्ने लक्ष लिएको छ । साही अनुसार केही स–साना कदमहरू समेत चालेको देखिन्छ । तर ती कदमहरू पर्याप्त भने छैनन् ।

 

जलविद्युत उत्पादन

कर्णाली प्रदेश समृद्धिको अर्को आधार हो, यहाँको जलविद्युत । कर्णाली प्रदेशमा रहेका विभिन्न नदी नालाहरूबाट करिब १८ हजार मेगावाट जलविद्युत उत्पादन गर्न सकिने सरकारी तथ्यांकले देखाउँछ । कर्णाली, तिला र भेरी नदीमा गरिएको सम्भाव्यता अध्ययनअनुसार कर्णाली प्रदेशम १८ हजार मेगावाट विद्युत उत्पादन क्षमता छ । तर प्रदेशमा ८.२५ मेघावट जलविद्युत मात्र राट्रि«य ग्रीटमा आवद्ध रहेको प्रदेश योजना आयोगको तथ्यांकमा उल्लेख छ ।

जलविद्युत उत्पादनको प्रचुर सम्भावना रहेको कर्णालीमा ठूला आयोजनाहरू अधुरै रहे पनि दैलेख नौमुलेका दुई वटा साना आयोजनाले भने राष्ट्रिय प्रसारणमा योगदान गरेका छन् । नौमुले गाउँपालिकामा पर्ने ‘द्वारीखोला साना जलविद्युत आयोजना’ र ‘पदमखोला साना जलविद्युत आयोजना’ बाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारणमा लाइनमा जोडिएको छ । दैलेखबाट मात्रै ८.५५ मेगावाट विद्युत उत्पादन भइरहेको छ भने अरू सबै जिल्लामा एक मेगावाटभन्दा कमका आयोजना छन् ।

कर्णालीमा बन्न लागेका प्रायः ठूला विद्युत योजनाहरू निर्माणाधिन छन् । नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत, जाजरकोटस्थित चार सय १० मेगावाटको नलगाड जलाशययुक्त आयोजना र ६ सय ८८ मेगावाटको बेतन कर्णाली आयोजनाको काम भइरहेको छ । प्रदेश योजना आयोगका अनुसार कर्णालीका विभिन्न जिल्लामा अहिले ५९ वटा लघु जलविद्युत योजना सञ्चालनमा छन् ।

ऊर्जा क्षेत्रमा आत्मनिर्भर हुन र मनग्य फाइदा लिनका लागि यस प्रदेशले संघीय सरकारसँग विशेष समन्वय गरी भेरी–बबई डाइभर्सनमा निर्माण गर्न सकिने ४८ मेगावाटको निर्माण कार्यको जिम्मेवारी लिन पहल गरिरहेको छ ।

नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालयको तथ्यांकअनुसार, चार हजार पाँच सय ४१ मेगावाट बराबरका १९ आयोजनाले सर्वेक्षण, २६ मेगावाटका चार आयोजनाले उत्पादन अनुमतिपत्र, एक हजार ९१ मेगावाट बराबरका सात आयोजनाले सर्वेक्षण अनुमतिपत्रका लागि दरखास्त दिएका छन् । उक्त आयोजनाहरू समयमै निर्माण सम्पन हुने हो भने कर्णालीले छोटो समयमा ठूलो आर्थिक फट्को मार्ने सम्भावना रहेको देखिन्छ ।

प्रदेशको आर्थिक समृद्धिका लागि कृषिमा आधारित अर्थतन्त्र, जलविद्युत्, पर्यटन र उद्योग महŒवपूर्ण आधार हुन् । यहाँ मार्सी धान, जडिबुटी र फलफूल उत्पादनका सम्भावनाहरू छन् । जसले कृषिमा ठूलो योगदान गर्न सक्छ । यार्सागुम्बा, सतुवा, जटामसी जस्ता जडिबुटीहरूको व्यावसायिक उपयोगले आयआर्जन बढाउन सहयोग पुर्‍याउँछ ।

कर्णाली नदी र यसको शाखाहरू जलविद्युत उत्पादनका लागि उपयुक्त छन् । साना र ठूला परियोजनाहरूले ऊर्जा उत्पादन गरी राष्ट्रिय र स्थानीय अर्थतन्त्रलाई टेवा दिन सक्छन् । रारा ताल, से–फोक्सुण्डो ताल, र धार्मिक स्थलहरूले पर्यटन क्षेत्रलाई विस्तार गर्ने ठूलो सम्भावना बोकेका छन् ।

कर्णालीको ऐतिहासिक सिल्क रोडले व्यापार र सांस्कृतिक आदानप्रदानको महत्व झल्काउँछ । यसलाई पुनर्जीवित गरी व्यापारिक सम्भावनालाई बढावा दिन सकिन्छ । यहाँका परम्परागत हस्तकलाहरू र ढाका कपडा उद्योगले स्थानीय रोजगारी सिर्जना गर्न सक्छ । यद्यपि, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा सुधार आवश्यक छ । जनशक्तिलाई सिपमूलक तालिम र उद्यमशीलता विकासले कर्णालीलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनेछ । सामाजिक एकता, परम्परागत ज्ञान र स्रोतसाधनको दिगो उपयोगले कर्णाली प्रदेशको समृद्धि सुनिश्चित गर्न सकिन्छ ।

– सन्तोष भण्डारी

प्रकाशित मितिः   २८ माघ २०८१, सोमबार ०६:०४