कर्णालीका सबै वडामा ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’

सुर्खेत: कर्णालीका सबै वडामा ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ लागू भएको छ । यसअघि १५ वटा वडामा कार्यक्रम कार्यान्वयन हुन सकेको थिएन । चालु आर्थिक वर्षदेखि प्रदेशका सबै वडामा कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७६/२०७७ देखि मुख्यमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गरेको थियो । त्यसयता प्रदेशका सात सय १८ वटा वडामध्ये सात सय तीन वटा वडामा मात्र मुख्यमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन भएको थियो । कार्यक्रमबाट १५ वटा वडा वञ्चित भइरहेका थिए । चालु आर्थिक वर्षबाट सबै वडामा कार्यक्रम कार्यान्वयन गरिएको प्रदेश सरकारले जनाएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

प्रदेश सरकारले सञ्चालन गरेको सबैभन्दा बढी प्रभावकारी कार्यक्रमका रूपमा उक्त कार्यक्रमलाई लिइएको छ । प्रत्येक वर्षको सरकारको बजेट र कार्यक्रममा समेत प्राथमिकतामा पर्दै आएको छ । यो वर्षदेखि प्रदेशका सबै वडा मुख्यमन्त्री रोजगार कार्यक्रममा जोडिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत् बेरोजगार व्यक्तिलाई रोजगारीको अवसर उपलब्ध गराउन कर्णाली प्रदेशका सवै वडामा कार्यक्रम कार्यान्वयन गरिएको हो । यो कार्यक्रम स्थानीय तहबाट कार्यान्वयन हुन्छ । यो वर्ष सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउने योजना बनाएको छ । यो वर्ष एक हजार ६ सय व्यक्तिलाई रोजगारीमा जोड्ने लक्ष्य सरकारले राखेको छ । कार्यक्रमबाट प्रत्यक्ष रूपमा एक हजार ६ सय जनालाई आंशिक रोजगारी दिने सरकारको लक्ष्य रहेको छ । त्यसका लागि एक अर्ब १६ करोड बजेट विनियोजन गरिएको छ ।

अहिले प्रदेशका सबै वडामा कार्यक्रम कार्यान्वयन भइरहेको मुख्यमन्त्री कार्यालयका योजना, अनुगमन तथा आर्थिक पूर्वाधार शाखाका नविन ढकालले बताए । उनका अनुसार पहिलेभन्दा व्यवस्थितरूपमा कार्यक्रम कार्यान्वयन गर्न लागिएको छ । सरकारले तीन जिल्लाका वडाहरूमा २० लाखका दरले बजेट पठाउने गरेको छ । हुम्ला, डोल्पा र मुगु जिल्लाका वडाहरूमा योजना कार्यान्वयनका लागि २० लाख बजेट पठाइएको ढकालले बताए । अन्य जिल्लाहरूमा प्रत्येक वडामा १५ लाखका दरले बजेट पठाउने गरिएको छ ।

 

कर्णालीका ६ सय ३७ वडा ग्रामीण क्षेत्रमा

प्रदेश सरकारले ग्रामीण पूर्वाधार विकासलाई जोड दिएको छ । बेरोजगारीलाई रोजगारी दिने र पूर्वाधार निर्माण गर्नेगरी मुख्यमन्त्री रोजगार कार्यक्रम ल्याइएको हो । कर्णाली प्रदेशका ७९ वटा स्थानीय तहका कूल सात सय १८ वटा वडामध्ये ६ सय ३७ वटा वडा ग्रामीण क्षेत्र रहेका छन् । राष्ट्रिय तथ्यांक कार्यालयले गरेको ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरणसम्बन्धी तथ्यांकले यस्तो अवस्था देखाएको हो । कर्णालीका ७५ वटा सहरी र ६ वटा वडा सहरोन्मुख भए पनि ६ सय ३७ वटा वडा भने ग्रामीण क्षेत्रमा रहेको देखिएको छ ।

सो कार्यालयले ५० हजारभन्दा बढी जनसंख्या र जनघनत्व एक हजार पाँच सय व्यक्ति प्रतिवर्ग किमीभन्दा बढी भएकोलाई सहरी, पाँच हजारभन्दा बढी जनसंख्या र तीन सयदेखि एक हजार पाँच सय व्यक्ति प्रतिवर्ग किमी भएकालाई सहरोन्मुख र पाँच हजारभन्दा कम जनसंख्या तथा ५० देखि तीन सय व्यक्ति प्रतिवर्ग किमी भएको स्थानलाई ग्रामीण क्षेत्र भनी मापदण्ड तोकेको थियो । सोही मापदण्डका आधारमा ग्रामीण र सहरी तथा सहरोन्मुख क्षेत्रको वर्गीकरण गरिएको हो । कर्णालीका ७५ वटा सहरी वडामध्ये सबैभन्दा बढी कालीकोटमा रहेका छन् । जसमा १६ वटा वडा पर्छन् । त्यसपछि रुकुमपश्चिमका १५, सुर्खेतका १३, जुम्लाका पाँच, सल्यान र मुगुका तीन÷तीन र जाजरकोटका दुई वटा वडा सहरी क्षेत्रमा छन् ।

सुर्खेतका ६ वटा वडा मात्रै सहरोन्मुख छन् । हुम्ला र डोल्पाका सबै वडा ग्रामीण क्षेत्रमा छन् । हुम्लामा ४४ र डोल्पामा ६५ वडा छन् । दैलेखका ७२, जाजरकोटका ७५, जुम्लाका ५५, कालीकोटका ६६, मुगुका ४२, रूकुमपश्चिमका ५८, सल्यानका ८० र सुर्खेतका ८० वटा वडालाई पनि ग्रामीण क्षेत्रमा वर्गीकरण गरिएको सो तथ्यांकमा उल्लेख छ । सरकारले सबै स्थानमा पूर्वाधारयुक्त बनाउने नीति अबलम्वन गरेको छ । गाउँ तथा ठाउँ विशेष योजना निर्माण गरेर कार्यक्रम कार्यान्वयन भइरहेका छन् ।

प्रकाशित मितिः   २८ माघ २०८१, सोमबार ०६:०६