सुखद् संकेत
भेरी लिफ्टिङ खानेपानी आयोजना अघि बढाउनका लागि थप सहजता भएको छ । मन्त्रिपरिषद्को बैठकले आयोजना निर्माण स्थलमा रहेका रुख कटानको अनुमति दिएसँगै भेरी नदीको पानी वीरेन्द्रनगरमा ल्याउने बृहत् योजना कार्यान्व्यनको बाटो खुलेको हो । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले रुख कटानको अनुमति दिने निर्णय गरेको हो । वीरेन्द्रनगर र लेकवेशी नगरपालिकामा पर्ने ३.२ हेक्टर राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न अनुमति दिइएको हो । जग्गा भोगाधिकारसहित रुख कटानको अनुमति पाएकाले अब थप कानुनी प्रक्रिया पूरा गरेर काम अघि बढाइनेछ ।
भेरी लिफ्टिङ आयोजनाअन्तर्गतका सुरुवाती चरणका काम धमाधम भइरहेका छन् । ट्यांकी निर्माण र पाइपलाइन विस्तारको सर्वेको काम भइरहेको आयोजनाले जनाएको छ । पाइपलाइन विस्तारको प्रि–फिजिविलीटी अध्ययनको काम धमाधम भइरहेको छ । भेरी नदीको पानी लिफ्टिङ गरेर तीन वर्षभित्रैमा वीरेन्द्रनगर उपत्यकामा ल्याउने गरी निर्माण कार्य अघि बढाइएको छ । त्यसका लागि त्रिपक्षीय सम्झौता भइ काम अघि बढेको हो । खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना इकाई कार्यालय सुर्खेत, वीरेन्द्रनगर नगरपालिका र चिनियाँ कम्पनी सिंज्याङ टम्र्स इन्टरनेशनल इकोनमी एण्ड टेक्निकल को–अपररेसन कम्पनी लिमेटेडबीच ठेक्का सम्झौता भएको हो । सम्झौताअनुार २०८१ भदौ १२ गतेदेखि २०८४ भदौ १२ गतेसम्म निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । तीन अर्ब पाँच करोडमा ठेक्का सम्झौता गरिएको छ । ग्लोबल टेण्डरमार्फत् गरिएको ठेक्कामा सहभागी भएका ११ निर्माण व्यवसायीमध्ये चिनियाँ कम्पनी छनौटमा परेको हो । वीरेन्द्रनगर नगरपालिकाले ‘ड्रिम प्रोजेक्ट’ को रूपमा अगाडि सारेको भेरी लिफ्टिङ खानेपानी आयोजना निर्माण प्रक्रियामा प्रवेश गरेको हो । संघीयता कार्यान्वयनपछि खानेपानीको क्षेत्रमा संघीय सरकारबाट स्थानीय तहले पाएको सबैभन्दा ठूलो लगानीबाट भेरी लिफ्टिङ खानेपानी आयोजना बन्न लागेको हो । भेरी लिफ्टिङ खानेपानी आयोजना निर्माणका लागि कूल लागतको ७० प्रतिशत खर्च विश्व बैंकले बेहोर्ने छ । बाँकी ३० प्रतिशत रकम संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा लगानी गरिने छ ।
वीरेन्द्रनगर उपत्यकामा भेरीको पानी ल्याउन विगतका वर्षहरूमा संघीय र प्रदेश सरकारले पटक–पटक बजेट विनियोजन गर्ने गरेका थिए । योजना कार्यान्वयन नहुँदा रकम फ्रिज जाने गरेको थियो । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा हाल खानेपानीको संकट छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले अहिले २० हजार घरधुरीलाई धारामार्फत् खानेपानी वितरण गरिँदै आएको छ । अझै करिब १८ हजारभन्दा बढी घरधुरीलाई खानेपानीका धारा अपुग रहेको जनाइएको छ । भेरी लिफ्टिङ आयोजना अघि बढ्ने भएसँगै वीरेन्द्रनगर उपत्यकाको खानेपानी समस्या समाधान हुने अपेक्षा गरिएको छ ।
प्रकाशित मितिः २५ माघ २०८१, शुक्रबार १५:१७
सम्पादकीय ।