करिडोर कनेक्टिभिटी

कर्णाली प्रदेश सरकारले करिडोर कनेक्टिभिटी संरक्षण कार्यक्रमको अवधारणा ल्याएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेर उक्त कार्यक्रम ल्याएको हो । मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनिकरणका लागि वन क्षेत्रमा वन्यजन्तुको आहारा बढावा दिने उद्देश्यले कार्यक्रम कार्यान्वयन गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । पछिल्लो समय निर्माण भइरहेका भौतिक संरचनाका कारण वन्यजन्तुको बासस्थान गुम्नुका साथै आहारा नहुँदा जंगली जनावर बस्तीमा पुग्ने गरेका छन् ।

वन्यजन्तुको आहारा बढावा दिने प्रजातिका बिरुवाहरूको वृक्षरोपण गरेर करिडोर कनेक्टिभिटी संरक्षण गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । भेरी करिडोर र कर्णाली करिडोर लक्षित कार्यक्रम गरिने छ । वन्यजन्तु संरक्षण गर्न नयाँ कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेर उक्त योजना ल्याइएको छ । यसअघि प्रदेश सरकारले यस्तो कार्यक्रम कार्यान्वयन गरेको छैन । पछिल्लो पटक सम्भाव्यता अध्ययन नै नगरेर सडक निर्माण गरिँदा त्यसको सोझो असर वन्यजन्तुमा परिरहेको छ । घाइते, टुहुरा भएका वन्यजन्तुहरूको सुरक्षा, हेरचाह तथा उद्धार गरी प्राकृतिक बासस्थानमा फर्काउन वन्यजन्तु उद्धार केन्द्र स्थापना गर्ने प्रदेश सरकारले जनाएको छ । संरक्षित क्षेत्र आसपासका बासिन्दा अन्य वन्यजन्तुभन्दा पनि बँदेलबाट बढी पीडित हुन थालेपछि मानव–वन्यजन्तु द्वन्द्वको घटना न्यूनीकरण गर्ने र स्थानीयवासीलाई संरक्षणप्रति थप अभिप्रेरित गर्ने उद्देश्यले प्रदेश सरकारले उक्त कार्यक्रमको योजना ल्याएको हो । वन्यजन्तुको बासस्थानमा सुधार र मानव बस्ती वरिपरि तारबार लगाउने, वन्यजन्तु उद्धार केन्द्र, प्राणी उद्यानको स्थापना, समस्याग्रस्त वन्यजन्तुको व्यवस्थापनमा संलग्न कर्मचारीको दक्षता र क्षमता विकास गर्न, स्थानीय समुदायमा सचेतना कार्यक्रम सञ्चालन र वैकल्पिक आयआर्जनका कार्यक्रम सञ्चालन गर्नेगरी कार्यक्रम ल्याइएको प्रदेश सरकारले जनाएको छ ।

पछिल्लो समय वनजंगलमा बँदेलको संख्या बढेपछि बँदेलले आफ्नो विचरण क्षेत्र खोज्ने क्रममा मानव बस्तीमा पस्ने गरेको छ । पछिल्ला वर्षहरूमा बँदेलको आक्रमणबाट मानवीय क्षति धेरै हुने गरेको छ । वन्यजन्तु संरक्षणको काममा सहयोग गर्ने समुदाय तिनै वन्यजन्तुबाट बढी पीडित हुन थालेपछि प्रदेश सरकारले मानव–वन्यजन्तु द्वन्द्वका घटना हुनै नदिने उपायको खोजी गर्न थालेको छ । निकुञ्ज तथा वन क्षेत्र वरपरका समुदायमा सचेतनाका कार्यक्रम सञ्चालन गरिने छ । अन्य प्रदेशमा भने यो कार्यक्रम कार्यान्वयन भइरहेको छ । कर्णाली प्रदेश सरकारले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने योजनाका साथ कार्यक्रम ल्याएको हो । भइरहेका सडक निर्माणका कारण मानव–वन्यजन्तु द्वन्द्व बढिरहेको छ भने वन्यजन्तु बस्तीमा पस्दा ठूलो क्षति हुनेगरेको छ । यो योजनाले यस्तो क्षति न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मितिः   २४ माघ २०८१, बिहीबार १२:१६