तीन ठूला खानेपानी आयोजना निर्माण हुँदै
सुर्खेत: प्रदेश सरकारले यो वर्ष तीन वटा ठूला खानेपानी आयोजना कार्यान्वयन गर्न लागेको छ । दैलेख र सल्यान जिल्लामा तीन वटा ठूला खानेपानी आयोजना कार्यान्वयन गर्न लागेको हो । बजेटको स्रोत सुनिश्चितता गरेर बृहत् खानेपानी आयोजनाको काम अघि बढाएको प्रदेश सरकारले जनाएको छ ।
दैलेख जिल्लाको बारतडी खानेपानी तथा बहुउद्देश्यीय आयोजना, पञ्चकोशी क्षेत्र बृहत् खानेपानी आयोजना र सल्यान जिल्लाको बनगाड कुपिण्डे बृहत् खानेपानी आयोजना सञ्चालन गर्न लागिएको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले जनाएको छ । खानेपानी आयोजना अघि बढाउन प्रदेश सरकारले यो वर्ष १३ करोड बजेट विनियोजन गरिएको मन्त्रालयका प्रवक्ता पदमराज देवकोटाले बताए । उनका अनुसार बजेटको स्रोत सुनिश्चित गरेर आयोजनाको काम अघि बढाइएको छ ।
नागरिकलाई खानेपानी उपलब्ध गराउन तीन वटा परियोजना एकसाथ सञ्चालन गर्न लागिएको देवकोटाको भनाइ छ । सरकारले खानेपानीको स्रोत पहिचान गरेर ठूला खानेपानीका आयोजना सञ्चालन गर्ने नीति अबलम्वन गरेको छ । सोही नीति बमोजिम प्रदेश सरकारले तीन वटा खानेपानीका आयोजना एकैसाथ कार्यान्वयन गर्न लागेको जनाइएको छ । तीन वटा आयोजनाको यो वर्ष नै ठेक्का सम्झौता गरेर काम अघि बढाइने प्रदेश सरकारले जनाएको छ ।
दैलेख जिल्लामा दुई वटा ठूला खानेपानीका आयोजना सञ्चालन हुनेछन् । एउटा खानेपानी आयोजनाको ठेक्का सम्झौता भइ काम भइरहेको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखले जनाएको छ । पञ्चकोशी क्षेत्र बृहत् खानेपानी आयोजनाको काम अघि बढाइएको कार्यालयका निमित्त प्रमुख टोपेन्द्रसुन्दर मल्लले बताए । यो वर्षदेखि ठेक्का सम्झौता गरेर काम अघि बढाइएको हो । पाँच करोडमा ठेक्का सम्झौता गरिएको मल्लले बताए । चालु आर्थिक वर्षमा उक्त आयोजनाको काम अघि बढाउन प्रदेश सरकारले दुई करोड बजेट विनियोजन गरेको छ ।
यसैगरी जिल्लाको बारतडी खानेपानी तथा बहुउद्देश्यीय आयोजना निर्माण गर्न लागिएको छ । आयोजना निर्माणका लागि चालु आर्थिक वर्षमा पाँच करोड बजेट विनियोजन गरिएको प्रदेश सरकारले जनाएको छ । अहिले अध्ययनको काम भइरहेको कार्यालय प्रमुख मल्लले बताए । उनका अनुसार अध्ययनको रिर्पोटका आधारमा अन्य काम अघि बढाइनेछ । उक्त आयोजना अघि बढाउन ८५ लाखको लागत अनुमान छ । सरकारले पाँच करोड बजेट मात्र विनियोजन गरेको छ ।
सल्यान जिल्लाको बनगाड कुपिण्डे बृहत् खानेपानी आयोजना निर्माण गर्न लागिएको छ । बजेटको स्रोत सुनिश्चित गरेर आयोजना अघि बढाउन लागिएको प्रदेश सरकारले जनाएको छ । आयोजनाको अध्ययनको काम सकेर सम्झौताको चरणमा रहेको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय सल्यानले जनाएको छ । आयोजना अघि बढाउनका लागि १२ करोड बजेटको स्रोत सुनिश्चित भएको कार्यालय प्रमुख अनुप श्रेष्ठले बताए । उनका अनुसार टेण्डर गरेर ठेक्का सम्झौताको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यो वर्ष ऊर्जा विकास मन्त्रालयले एक हजार दुई सय हेक्टर जमिनमा सिँचाइ विस्तार गर्ने लक्ष्य लिएको छ । मन्त्रालयले खानेपानी, सिँचाइ तथा ऊर्जा विकासका क्षेत्रमा काम गर्दै आइरहेको छ । सिँचाइका योजनालाई प्रभावकारी बनाउन लागेको हो ।
कर्णालीमा कृषियोग्य जमिनको क्षेत्रफल धेरै भएपनि सिँचाइको भने अभाव छ । हालसम्मको तथ्यांकले कूल सिञ्चित क्षेत्रफल २८ दशमलव आठ प्रतिशत मात्रै देखिएको छ । प्रदेशभर ५६ दशमलव आठ प्रतिशतले सिँचाइ सुविधा लिएका छन् । कृषि गणनाअनुसार कर्णाली प्रदेशमा मुख्य गरेर धान, मकै र गहुँको खेती बढी हुन्छ । २९ हजार दुई सय ४१ हेक्टर जमिनमा धान खेती हुने गरेको छ भने ४० हजार ८३ हेक्टरमा मकै र ५१ हजार २६ हेक्टरमा गहुँ खेती भइरहेको छ । सिँचाइको अभावमा जमिन बाँझो हुने क्रम बढेको भन्दै मन्त्रालयले सिँचाइको कार्यक्रमलाई मुख्य योजनाको रूपमा राखेको हो ।
प्रकाशित मितिः २५ माघ २०८१, शुक्रबार ०६:०६
साझा बिसौनी ।