प्रदेश नम्बर ६ का मतदाता मतदानका लागि निर्धक्क

वीरेन्द्रनगरमा आफ्नो मतदाता परिचयपत्र लिने क्रममा जम्मा भएका मतदाताहरू ।

सुर्खेत, २९ वैशाख ।
स्थानीय तहको निर्वाचनका लागि प्रदेश नम्बर ६ मा सम्पूर्ण तयारी पूरा भएको छ । प्रदेश अन्तर्गतका १० वटै जिल्लामा सबै तयारी पूरा भएको निर्वाचन अधिकृतहरूले बताएका छन् । यस्तै सबै मतदान केन्द्रमा मतपेटिका, मतदान अधिकृत र सुरक्षाकर्मी पुगिसकेको मध्यपश्चिम क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।
करिब २० वर्षपछि आइतवार हुन लागेको चुनावमा यस क्षेत्रका मतदाताहरू निर्धक्क भोट खसाल्दै छन् । माओवादी युद्धको उद्गमस्थल रहेको यो प्रदेशमा यसअघिका निर्वाचनमा मतदाताहरू त्रसित मानसिकतामा मत खसाल्न बाध्य थिए । संविधानसभाका दुवै निर्वाचनमा त्रसित हुँदै मतदानमा भाग लिएका यहाँका मतदाता यसपालीको चुनावमा भने निर्धक्क मतदानमा सहभागी हुँदैछन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चुनाव बिथोल्ने धम्की दिए पनि सुरक्षा व्यवस्था प्रभावकारी भएपछि मतदाता ढुक्क बनेका हुन् ।
‘यसअघिका चुनावमा ढुक्कसँग भोट हाल्ने अवस्था थिएन, द्वन्द्वको धङधङ्गी बाँकी नै थियो’ जुम्ला कनकासुन्दरी गाउँपालिकाका रेवतीरवण उपाध्यायले भने, ‘मतदान केन्द्रमा बम पड्काउँथे, आफ्नो पार्टीलाई भोट नदिए मारिदिन्छौं पनि भन्थे । अहिले त शान्ति छाएको छ, यसपाली त हामी निर्धक्क भएर भोट हाल्दैछौं ।’ द्वन्द्वको मारमा परेको कालिकोट रास्कोटका गजबहादुर शाहीले भने, ‘त्रासका कारण अघिल्ला चुनावमा हामीले भोट हालेनौं, यसपाली त भोट हाल्ने तयारीमा छौं । अहिले त पहिलाको जस्तो डर र त्रासको अवस्था छैन, ढुक्कसँग गाउँको विकास गर्न सक्ने नेता छान्नेछौं ।’ देशमा शान्ति छाएको र सुरक्षाको अवस्थामा सुधार भएपछि यसपालीको स्थानीय चुनावमा मतदान गर्नका लागि सर्वसाधारण उत्साहित बनेका छन् । चुनाव हुने र नहुने आशंकाको बीचमा पनि आइतवार चुनाव हुने निश्चित भएपछि यो प्रदेशका मतदाता निर्धक्कसँग भोट खसाल्दै छन् ।
मतदाताहरू निर्धक्क भए पनि दलहरू भने ढुकुचुकको अवस्थामा छन् । चुनावी नतिजा हात पार्नका लागि अन्तिम कसरत गरेका दलहरू मतदाताले कसलाई मत दिन्छन् भन्नेमा ढुक्क छैनन् । संविधानसभाको मत परिणाम अनुसार बलियो मानिएको दलविरुद्ध अन्य दलहरूले गठबन्धन गरेका छन् । कांग्रेस, एमाले र माओवादी केन्द्रबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको यो प्रदेशमा कर्णालीका जिल्लामा भने एउटा दल बलियो भएको
स्थानमा अन्य दुई दलले गठबन्धन गरेका छन् । यसकारण पनि नतिजा आफ्नो पक्षमा आउने वा नआउने भन्नेमा दलहरू एकिन हुन सकेका छैनन् । अर्कोतर्फ २० वर्षपछि हुन लागेको यो निर्वाचनमा मतदाताको सोच र धारणामासमेत परिवर्तन आएकाले पनि यहाँका दलहरू आफूले नै जित्ने विषयमा ठोकुवा र दाबी गर्न सकिरहेका छैनन् । मत परिणाम नआउँदासम्म कुन पार्टीले जित्छ भन्ने आँकलन गर्न सक्ने अवस्था छैन ।
परिचयपत्र वितरण जारी
यो प्रदेशका १० वटै जिल्लामा मतदाता परिचयपत्र वितरण कार्य जारी छ । निर्वाचन कार्यालयका अनुसार आज (शनिवार) पनि वितरण जारी रहनेछ । जिल्ला निर्वाचन कार्यालय सुर्खेतका अनुसार बिहीवारबाट सुरु भएको वितरण कार्य अन्तर्गत अधिकांश मतदाताले आफ्नो परिचयपत्र लिइसकेका छन् । जिल्ला निर्वाचन अधिकारी सुनिता थापाले परिचयपत्र वितरण कार्य उत्साहपूर्ण भएको र मतदाताले परिचयपत्र लिने क्रम जारी रहेको बताइन् ।
विकट जिल्ला डोल्पामा पनि मतदाता परिचयपत्र वितरण कार्य भइरहेको छ । ‘शेफोक्सुण्डो गाउँपालिकामा निर्विरोध भइसकेको छ, अब सात वटामा चुनाव हुँदैछ’ डोल्पाका सहायक प्रजिअ मानबहादुर बुढाले भने, ‘भौगोलिक विकटताले केही कठिन छ, तर हामीले सबै मतदान केन्द्रबाट परिचयपत्र वितरण गरेका छौं । सबै केन्द्रका मतदाता उत्साहित छन्, हामीले आवश्यक सबै तयारी पूरा गरेका छौं ।’ भौगोलिक विकटता र सञ्चारको कमजोर उपलब्धता बाहेक अन्य कुनै समस्या नरहेको उनको भनाइ छ । यो प्रदेशका सबै जिल्लामा मौन अवधि सुरु भएपछि मतदाता र दलहरू परिचयपत्र लिने काममा व्यस्त भएका छन् ।
१६ हजार बढी सुरक्षाकर्मी परिचालन
निर्वाचनको सुरक्षाका लागि यो प्रदेशमा १६ हजार चार सय २७ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । जम्मा ७९ वटा स्थानीय तह रहेको यो प्रदेशमा २५ नगरपालिका र ५४ वटा गाउँपालिका रहेका छन् । सात लाख ८३ हजार चार सय २३ जना मतदाता रहेको प्रदेशभरी आठ सय ९५ वटा मतदानस्थल तोकिएको छ । यस्तै १२ हजार एक सय ५२ जना उम्मेदवारहरू चुनावी मैदानमा छन् ।
निर्वाचनलाई शान्तिपूर्ण बनाउन र मतदाताको सुरक्षाका लागि प्रदेशका १० वटै जिल्लामा पाँच हजार तीन सय २५ नेपाल प्रहरी, तीन हजार एक सय ७० सशस्त्र प्रहरी, पाँच हजार आठ सय तीन म्यादी प्रहरी र एक सय २९ जना राष्ट्रिय अनुसन्धानबाट परिचालन गरिएको मध्यपश्चिमका क्षेत्रीय प्रशासक वेगेन्द्रराज शर्मा पौड्यालले जानकारी दिए । यो बाहेक करिब नौ हजार नेपाली सेना पनि परिचालन हुनेछन् । यद्यपि यसको आधिकारिक तथ्यांक नेपाली सेनाले उपलब्ध गराउन बाँकी रहेको क्षेत्रीय सुरक्षा समितिले जनाएको छ । क्षेत्रीय प्रशासक पौड्यालले भने, ‘प्रदेशभर चुनावको सम्पूर्ण तयारी पूरा भयो, सुरक्षाको प्रभावकारी व्यवस्थापन गरेका छौं । अब कुनै समस्या छैन, मतदाताले ढुक्कसँग मतदान गर्न पाउनेछन् ।
सुरक्षा ‘थे्रट’ विप्लवको पार्टी
निर्वाचन बिथोल्ने धम्की दिएका कारण विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई निगरानीमा राखिएको प्रहरीले जनाएको छ । ‘चुनाव शान्तिपूर्ण नै हुनेछ, त्यति ठूलो चुनौती केही छैन’ मध्यपश्चिमका प्रहरी प्रमुख डीआईजी विजयलाल कायस्थले भने, ‘विप्लवको पार्टीले बिथोल्ने धम्की दिएको छ, उसको शक्ति त्यति ठूलो छैन । यद्यपि हामीले उनीहरूलाई विशेष निगरानीमा राखेका छौं, चुनावलाई शान्तिपूर्ण बनाउन हामी सक्षम छौं ।’
मध्यपश्चिम विश्वविद्यालयका द्वन्द्व र शान्ति अध्ययन विषयका उपप्राध्यापक कमलराज लम्सालले विप्लवको पार्टी नै यसपालीको चुनावका लागि मुख्य सुरक्षा चुनौती रहेको बताए । माओवादी द्वन्द्वको उद्गमस्थल भएकाले पनि विप्लवको पार्टीले यो प्रदेशमा चुनाव बिथोल्ने धम्की दिएको हुनसक्ने उनको भनाइ छ । यद्यपि यही चुनौतीलाई ख्याल गर्दै सुरक्षाकर्मीले पनि आफ्नो योजना बनाएकाले निर्वाचन शान्तिपूर्ण हुने उनको विश्वास छ । उनले विगतको भन्दा यसपालीको चुनावमा बढी उत्साह र अपेक्षासहित मतदाताहरू मतदानमा सहभागी हुन लागेको उनले बनाए ।
मतदाताको संरक्षणमा दल
मौन अवधि सुरु भएसँगै दल र तिनका उम्मेदवारहरू मतदाताको संरक्षणमा केन्द्रित भएका छन् । प्रचार–प्रसार गर्न नपाइने भएपछि दलहरू आफ्ना मतदाता जोगाउन व्यस्त भएका हुन् । खुला रूपमा मत माग्न रोक लागेपछि उनीहरू व्यक्तिगत भेटघाटमा जुटेका हुन् । मौन अवधिमा विभिन्न प्रलोभन र चलखेलका कारण मतदाता प्रभावित हुने भन्दै दलहरूले कार्यकर्तालाई आफ्ना मतदाताको संरक्षण गर्न निर्देशन दिएका
छन् । दलका कार्यकर्ता र उम्मेदवारहरू यतिबेला आफ्नो गाउँ र टोलमा रहेका मतदातालाई व्यक्तिगत रूपमा भेट्दै कुनै पनि प्रलोभन र आश्वासनबाट प्रभावित नहुन आग्रह गरिरहेका छन् ।

प्रकाशित मितिः   ३० बैशाख २०७४, शनिबार १५:५७