कसरी हुन्छ मत बदर ?

सुर्खेत, २९ वैशाख ।
आइतवार बिहानैदेखि स्थानीय तह निर्वाचनको मतदान सुरु हुँदैछ । यस पटक ठूलो आकारको मतपत्र र धेरै चुनाव चिन्ह हुनाले पनि धेरै मत बदर हुने आशंका गरिएको छ । निर्वाचनमा आफ्नो मत खेर नजाओस् भन्ने चाहनुहुन्छ भने तपाईंले भोट हाल्दा केही कुरामा ध्यान दिनुपर्ने हुन्छ ।
यसपटकको निर्वाचनमा मतदाताले सातवटा छाप लगाउन पाउँछन् । मतपत्र लामो र ठूलो हुन्छ । त्यसैले, यसअघिका निर्वाचनमा भन्दा यसपटक मत हाल्दा अलि धेरै ध्यान दिनुपर्ने हुन्छ । आफ्नो मत बदर हुनबाट बचाउन सबैभन्दा पहिले मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर छ कि छैन भनेर हेर्नुपर्छ । किनभने मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र बदर हुन्छ । मतपत्रको तल्लो भागमा मतदान अधिकृतले हस्ताक्षर गर्ने ठाउँ हुन्छ त्यहीँ हेर्नुपर्छ । मत्रपत्र लिएपछि गोप्य मतदान गर्ने ठाउँमा गएर मतपत्रमा सातवटा छाप लगाउने हो । यसरी छाप लगाउँदा पहिला पाँचवटा ठाडो लहरमा प्रत्येकमा एउटा छाप लगाउनुपर्छ ।
पहिलो लहरमा मेयर वा गाउँपालिकाको अध्यक्षको चुनाव चिन्ह हुन्छ । यसमा आफूलाई मन परेको चुनाव चिन्हमा एउटा छाप लगाउनुपर्छ । दोस्रो लहरमा उपप्रमुख, तेस्रो लहरमा वडा अध्यक्ष, चौथो लहरमा महिला वडा सदस्य र पाँचौं लहरमा दलित महिला वडा सदस्यको चुनाव चिन्ह हुन्छ । यी प्रत्येक लहरमा एउटा चिन्ह लगाउनुपर्छ । एउटै लहरमा दुई वा दुईभन्दा धेरै चिन्हमा छाप लगाएमा मत बदर हुन्छ । किनभने पहिलो लहर मेयर वा अध्यक्ष पदको लहर हो । दुईजना मेयरलाई भोट दिने कुरै भएन । त्यसैले पहिलो लहरमा मेयर वा अध्यक्षका लागि तल र माथि दुईवटा छाप लगाएमा मत बदर हुन्छ । दोस्रोदेखि पाँचौंसम्म पनि एउटा लहरमा एउटा मात्रै छाप लगाउनुपर्छ ।
छैठौं र सातौं लहरमा खुला वडा सदस्यका लागि मतदान गर्ने हो । यसमा भने जुन लहरमा लगाए पनि दुईवटा छाप लगाउन पाइन्छ । एउटै लहरमा दुईवटा छाप लगाउन पनि पाइन्छ र एक–एक वटा बाँडेर दुईवटै लहरमा लगाउन पनि पाइन्छ । किनभने खुलाबाट सबैभन्दा धेरै मत ल्याउने दुईजना उम्मेदवार विजयी हुन्छन् । छैठौं र सातौंमा दुईवटा भन्दा बढी छाप लगाएमा भने त्यो मत बदर हुन्छ । मत लगाउँदा छाप लगाउने ठाउँमा राखिएको स्वस्तिक चिन्ह नै प्रयोग गर्नुपर्छ र, स्वस्तिक छाप स्पष्ट बुझिने गरी लगाउनुपर्छ । मसी लतपतिएमा मत बदर हुन्छ ।
कुनै एउटा लहरको मत बदर भएमा सबै मतपत्र बदर हुँदैन । जस्तैः अध्यक्षका लागि मत दिँदा बिग्रियो भने त्यहि मतमात्र बदर हुन्छ । उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र दुई जना वडा सदस्यका लागि हालेको मत भने सदर नै हुन्छ । स्वस्तिक छापले चुनाव चिन्ह छोएमा मत बदर हुँदैन तर वरिपरिको घेरा छोएमा भने बदर हुन्छ । कोठा बाहिर छाप लगाएमा, दुईवटा कोठाको बीचमा पर्ने गरी छाप लगाएमा पनि मत बदर हुन्छ । त्यसैले, आफ्नो मत बदर हुनबाट बचाउन आफूले छाप लगाउन चाहेको निर्वाचन चिन्ह भएको कोठाभित्र पर्ने गरी र वरिपरिको रेखालाई नछुने गरी छाप लगाउनुपर्छ । कहिले काँही मतपत्र पट्याउँदा छाप लत्पतिने वा अर्को कोठामा पनि छाप बस्नसक्छ । त्यसैले मतपत्र पट्याउँदा पनि ध्यान दिएर सही तरिकाले पट्याउनुपर्छ ।

प्रकाशित मितिः   ३० बैशाख २०७४, शनिबार १५:५६