किन महत्त्वपर्ण छ स्वतन्त्र बजार अर्थतन्त्र ?
परिचय
विश्वभरको अर्थव्यवस्थालाई हेर्ने हो भने विभिन्न देशले विभिन्न अर्थव्यवस्था अपनाएको पाइन्छ । कुनै मुलुकमा मिश्रित अर्थव्यवस्था, कुनै मुलुकमा समाजवादी अर्थव्यवस्था र कुनै मुलुकमा स्वतन्त्र बजार अर्थव्यवस्था अपनाएको पाइन्छ । आजको यस आलेखमा स्वतन्त्र बजार अर्थव्यवस्था अर्थात् फ्रि मार्केट इकोनमिबारे चर्चा गरिनेछ ।
स्वतन्त्र बजार अर्थव्यवस्था भन्नाले कुनै पनि वस्तु तथा सेवाको माग तथा आपूर्तिका आधारमा वस्तु तथा सेवाको मूल्य निर्धारण हुने बजार संयन्त्र हो । अर्थात् वस्तु तथा सेवाको उत्पादन, वितरण, विनिमय र उपभोग गर्ने सम्पूर्ण अधिकार स्वतः बजारमा निहित हुन्छ भने त्यस्तो बजार अर्थव्यवस्थालाई स्वतन्त्र बजार अर्थव्यवस्था भनिन्छ ।
मुल्य निर्धारण र सरकारको भूमिका
स्वतन्त्र बजार अर्थव्यवस्थामा वस्तु तथा सेवाको मूल्य निर्धारण वस्तु तथा सेवाको माग तथा पूर्तिको अन्तरक्रियाबाट हुन्छ । यस्तो अवस्थामा सरकार वा कुनै पनि सरकारी निकायको हस्तक्षेप रहँदैन । स्वतन्त्र बजार अर्थव्यवस्थामा सरकारको भूमिका भनेको आर्थिक क्रियाकलापहरूमा कुनै पनि किसिमको हस्तक्षेप नगरी पेसा व्यवसाय व्यापार गर्न उपयुक्त वातावरण सिर्जना गरिदिने हो । यसमा सरकारले केवल सहजकर्ताको भूमिका मात्र निर्वाह गर्नुपर्दछ । यस्तो बजार अर्थव्यवस्थामा उत्पादनका साधनहरूको स्वामित्व सरकारमा नभइ स्वतः उत्पादक वा उद्योगी वा व्यवसायीसँग हुन्छ ।
बजारमा स्वतन्त्रता
यस्तो अर्थव्यवस्थामा मानिसहरूलाई कुनै पनि वस्तु उत्पादन गर्न, आफ्नो मनपर्ने पेसा, व्यवसाय र उद्योगमा काम गर्न, त्यस्तै उद्योगहरूमा लगानी गर्न, आफूले चाहेको वस्तु तथा सेवा उत्पादन तथा निर्माण गर्न पूर्ण स्वतन्त्रता रहन्छ । यो यस्तो प्रकारको अर्थव्यवस्था हो जसमा वस्तु तथा सेवाको आयात निर्यातमा कुनै प्रतिबन्ध रहँदैन । अर्थात् अन्तर्राष्ट्रिय बजारमा वस्तु तथा सेवाको आयात निर्यातमा कुनै अवरोध उत्पन्न गरिँदैन । आर्थिक क्रियाकलापहरूमा सरकारी नियन्त्रण हुँदैन ।
सम्पत्तिमाथिको अधिकार
स्वतन्त्र बजार अर्थव्यवस्था स्वतन्त्र समाजको एक महŒवपूर्ण पक्ष हो । स्वतन्त्र बजार अर्थव्यवस्थाले सम्पत्तिमाथिको अधिकार व्यक्तिमा निहित हुनुपर्छ भन्ने कुरालाई जोड दिन्छ । यसले उत्पादनका साधनहरूको स्वामित्व व्यक्तिको रहनुपर्छ भन्ने कुरालाई जोड दिन्छ । स्वतन्त्र बजार अर्थव्यवस्था आर्थिक उदारीकरणबाट नै प्रवद्र्धित भएको हुन्छ । यसले अन्तर्राष्ट्रिय व्यापारलाई समेत समर्थन गर्छ । स्वतन्त्र बजार अर्थव्यवस्थाबाट आर्थिक अधिकार तथा आर्थिक स्वतन्त्रताको संरक्षण एवम् प्रवर्धन भएको हुन्छ । यसले आर्थिक न्याय एवम् आर्थिक अधिकारको सवाललाई समेत स्थान दिएको पाइन्छ । स्वतन्त्र बजार अर्थव्यवस्थाले व्यक्तिमा निजी सम्पत्तिमाथिको स्वतन्त्रता, शैक्षिक विनिमयको स्वतन्त्रता, वैकल्पिक छनोटको सुविधा, स्वस्थ प्रतिस्पर्धाको सुनिश्चितता, लगानीको स्वतन्त्रता, सरकारी एकाधिकार विरुद्धको स्वतन्त्रतालाई अपनाएको एवम् अँगालेको हुन्छ । यो अर्थव्यवस्थाका कारण व्यक्तिगत स्वतन्त्रता, सम्पत्तिको हकको संरक्षण, नवप्रवर्तन र उद्यमशीलताको विकास तीव्र गतिमा अगाडि बढ्दछ । अब स्वतन्त्र बजार अर्थव्यवस्थाका आयामहरूबारे चर्चा गरौँ ।
विश्वव्यापीकरण
यो स्वतन्त्र बजार अर्थव्यवस्थाको आयाम हो । कुनै पनि देशमा उत्पादित वस्तु तथा सेवाहरूलाई कुनै पनि अवरोधविना स्वतन्त्र रूपमा विश्व अर्थतन्त्रमा जोड्नु नै विश्वव्यापीकरण हो । यसले अन्तर्राष्ट्रिय व्यापारमा आइपर्ने समस्याहरू, अवरोधहरूको कटौती, उपभोक्ताको मागमा वृद्धि, ढुवानी तथा उत्पादन लागतमा कमी र सञ्चार तथा यातायातमा प्राविधिक उन्नति गर्ने उपायहरूलाई जनाउँछ ।
निजीकरण
यसले सरकार वा सरकारी अङ्गको स्वामित्वमा रहेका सम्पत्ति, उद्योग, व्यवसाय र सार्वजनिक संस्थानहरूलाई आंशिक वा पूर्ण रूपमा निजी क्षेत्रको स्वामित्वमा हस्तान्तरण गर्ने प्रक्रिया हो । यसले मुलुकमा व्यापार व्यवसायमा प्रतिष्पर्धात्मक क्षमतामा वृद्धि गर्दछ । साथै सरकारी हस्तक्षेप तथा नियन्त्रणमा कमी, रोजगारीका अवसरहरूमा वृद्धि गर्दछ ।
आर्थिक उदारीकरण
अर्थतन्त्रलाई सरकारी हस्तक्षेपबाट मुक्त गरी निजी क्षेत्रकै आर्थिक गतिविधिहरूमा अग्रसर गर्नु आर्थिक उदारीकरण हो । यसमा स्रोत, साधनहरूको वितरणमा बजार संरचनाको भूमिका महŒवपूर्ण रहेको हुन्छ । यसअन्तर्गत बजार स्वतन्त्र गर्ने, सार्वजनिक संस्थानहरूको निजीकरण गर्ने, लाइसेन्सको खारेज गर्ने, वैदेशिक व्यापारका अवरोध तथा बन्देजहरू हटाउने विषयहरू रहन्छन् ।
उपभोक्ता सार्वभौमता र बजारमा प्रतिष्पर्धा
यसअन्तर्गत उपभोक्ताहरू आफ्नो इच्छा, आवश्यकता र चाहनाअनुसार वस्तु तथा सेवाहरू छनौट गर्न स्वतन्त्र हुन्छन् । वस्तु तथा सेवाहरू खरिद तथा बिक्रीमा बिक्रेता तथा क्रताको स्वतन्त्र कारोबार हुने हुँदा स्रोत साधनहरूको कुशल बाँडफाँड हुने साथै वस्तु तथा सेवाको मूल्य निर्धारण पनि स्वयम् बजारले नै गर्छ ।
मुनाफा आर्जन गर्ने लक्ष्य
उद्योग, व्यवसाय तथा फर्महरू बढी भन्दा बढी नाफा गर्छन गर्न चाहन्छन्, जसले बजारमा नयाँ अन्वेषण, आविष्कार र आर्थिक वृद्धि विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ ।
उद्यमशीलता
स्वतन्त्र बजार अर्थव्यवस्थाले नविनतम् वस्तु तथा सेवाको उत्पादन तथा निर्माण गर्ने कार्यलाई जोड दिन्छ, जुन उद्यमशीलता हो । व्यक्तिहरूले स्वतन्त्र रूपमा अध्ययन, अनुसन्धान र आविष्कार गर्ने कार्य गर्दछ जसलाई उद्यमशीलता भानिन्छ । स्वतन्त्र बजार अर्थव्यवस्थाले उद्यमशीलता प्रवर्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ ।
स्वतन्त्र बजार अर्थतन्त्र महत्त्व
धेरै आलोचकहरूका अनुसार स्वतन्त्र बजार अर्थव्यवस्था धनी तथा विकशित राष्ट्रमा मात्र काम गर्दछ । यो त गरिब तथा अल्प विकसित राष्ट्रमा त्यति उपयुक्त हुँदैन भन्ने तर्क राख्दछन् । तर त्यस्तो हुँदैन । प्रत्येक राष्ट्रले आफ्नो माटो सुहाउँदो अर्थव्यवस्था अँगालेका हुन्छन् तर कुरा आउँदछ, स्वतन्त्र अर्थव्यवस्था ठिक या बेठिक भन्ने । स्वतन्त्र अर्थव्यवस्था जुनसुकै मुलुकमा उपयुक्त र सान्दर्भिक हुन्छ । यति आलोचकहरूका अनुसार जाने हो भने सर्वप्रथम उनीहरूलाई म केही प्रश्न सोध्न चाहन्छु ।
के तपाईलाई थाहा छ सिंगापुर, दक्षिण कोरिया, लक्जमबर्ग, ताइवान, नॉर्डिक देशहरू, आदि जस्ता धनी देशहरू ७१ वर्ष पहिले सबै अत्यन्तै गरिब थिए तर ती सबैले आज हामीले देखेको सम्पत्ति उत्पन्न गर्न उत्कृष्ट बजार–आधारित नीतिहरू अनुसरण गरे । यसैबीच, हामी तुलना गरौँ नेपाल र भारतजस्ता देशले स्वतन्त्रतापछि पनि समाजवाद र केन्द्रीय योजनाजस्ता अव्यवस्थित आर्थिक नीतिहरू अपनाए । ल म चाहन्छु कि तपाईंले यस बारे आलोचनात्मक रूपमा सोच्नुहोस् र प्रश्नको जवाफ दिनुहोस्ः
स्वतन्त्र बजार नीतिहरू लागू गर्ने देशहरूको तुलनामा हामी कहाँ पुग्यौँ आफै विचार गर्नुहोस् । स्वतन्त्र बजार अर्थव्यवस्थाले आर्थिक वृद्धि र विकास उच्च दरमा अघि बढ्दछ । यसले मुलुकको आय वितरणमा रहेको असमानता समेत घटाउँछ । अध्ययनहरूको अनुसार स्वतन्त्र बजार अर्थव्यवस्था अपनाएका मुलुकहरूमा लैङ्गिक समानतामा समेत तुलनात्मक रूपमा स्वतन्त्र बजार अर्थव्यवस्था नअपनाएका मुलुकहरूको बढी रहन्छ । बालश्रम दर समेत स्वतन्त्र बजार अर्थव्यवस्था अपनाउने मुलुकहरूमा कम रहन्छ ।
यस किसिमको अर्थव्यवस्थामा अध्ययन, अन्वेषण र आविष्कारलाई प्रतिबन्ध नलगाई संरक्षण तथा प्रवर्धन गरिन्छ । स्वतन्त्र बजार अर्थव्यवस्थामा कुनै पनि उद्योग, व्यापार र व्यवसायहरूमा एकाधिकारी शक्ति हुँदैन । उद्योगहरूबीचमा स्वतन्त्र प्रतिस्पर्धा हुन्छ । कुनै पनि व्यापार, व्यवसाय र उद्योगहरू स्वतन्त्र रूपमा प्रवेश गर्न र बहिर्गमन हुन सक्दछन् । यस्तो बजार अर्थव्यवस्थामा उपभोक्ताहरू आफ्नो इच्छा, आवश्यकता र चाहना अनुसारका वस्तु तथा सेवाहरू छनोट गर्न स्वतन्त्र हुने भएकाले उपभोक्ता सार्वभौमता रहेको हुन्छ ।
यसर्थ माथिका तर्कहरूबाट के स्पष्ट हुन्छ भने स्वतन्त्र बजार अर्थव्यवस्था जुनसुकै मुलुकमा उपयुक्त हुन्छ । यसले मुलुकको बृहत् आर्थिक समस्याहरू जस्तै, आय असमानता, लैङ्गिक असमानता, बालश्रम लगायतका लाई कम गर्न मद्दत गर्दै यस्ता समस्याहरू समाधानमा समेत मार्ग प्रशस्त गर्दछ ।
नेपाल र बजार अर्थतन्त्र
नेपालमा वि.सं. २०४८ सालबाट उदारीकरणको सुरुवात भएको देखिन्छ । वि.सं. २०४६ को बृहत् राजनीतिक परिवर्तन पछी यस प्रकारको अवधारणाले पूर्णता पाएको देखिन्छ । वि.सं. २०५० सालमा नेपालमा पहिलो पटक निजीकरण ऐन ल्याइएको थियो । यस ऐनले औद्योगिक ऐन, उद्यमशीलता ऐन, वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, आर्थिक ऐनको जग बसाल्न मद्दत ग¥यो । नेपालमा निजीकरण ऐनले सर्वप्रथम नेपालमा रहेका सार्वजनिक संस्थानमा निजीकरण प्रक्रिया सुरु भयो । यसपछि निजीक्षेत्रबाट विभिन्न क्षेत्रहरूजस्तै जलविद्युत, स्वास्थ्य, औद्योगिक क्षेत्र आदिमा लगानी बढ्न थाल्यो ।
यसरी मैले यहाँ आर्थिक उदारीरणको विषय जोड्नुको तात्पर्य यो हो कि नेपालमा आर्थिक उदारकरणको सुरुवातले नै बजार अर्थव्यवस्थालाई विकशित हुन मद्दत पुर्याएको थियो । वर्तमान परिप्रेक्षमा वस्तु तथा सेवाको मूल्य निर्धारण बजार शक्तिबाट निर्धारण हुन्छ । स्वतन्त्र बजार अर्थव्यवस्थाअन्तर्गत सरकारले करका दरहरू खुकुलो अर्थात् घटाउनु पर्दछ । यसका साथै अनुदान नीति नी घटाउन आवश्यक छ । अहिले नेपालमा स्वदेशी मुद्राको विनिमय दर राष्ट्र बैंकको नियन्त्रणबाट विनिमय बजारमा ल्याइएको छ । त्यस्तै ब्याजदर निर्धारणका लागि पनि बैंकहरूलाई केही हदसम्म स्वतन्त्र छोडिएको छ ।
(ओकेन्द्र नाथ योगी: लेखक ऋति फाउण्डेसनमा अनुसन्धान प्रशिक्षार्थीको रूपमा आवद्ध छन् ।)
प्रकाशित मितिः २० माघ २०८१, आईतवार ०६:०४
ओकेन्द्र नाथ योगी ।