‘एमाले राम्रो भए देश बन्छ’

साझा बिसौनी संवाददाता
सुर्खेत, १२ माघ ।
नेकपा एमालेका उपमहासचिव घनश्याम भुषालले नयाँ नेपाल निर्माण गर्न राजनीतिक दलहरूमा सुधार आउनुपर्ने बताएका छन् । दलहरू बलिया र सक्षम भए मात्र देश आर्थिक रूपमा सक्षम हुने र विकासले गति लिने उनको भनाइ छ । साथै उनले आफ्नो पार्टी एमाले राम्रो र बलियो भए मात्र नेपालको विकास सम्भव हुने दाबी समेत गरे ।
एमाले सुर्खेतले मंगलवार वीरेन्द्रनगरमा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । एमाले नेता भुषालले भने, ‘देश बनाउनुभन्दा पहिला पार्टीलाई राम्रो बनाऔं, पार्टी राम्रो र बलियो भयो भने मात्र देश राम्रो हुने हो । पार्टीहरू नै असफल र कमजोर भए भने कसरी देश बन्छ ?’ राजनीतिक दलहरू साङ्गठनिक रूपमा बलिया र सक्षम भएका मुलकहरूमा देशको विकास पनि राम्रो भएको भन्दै उनले नेपालको विकासका लागि पनि एमाले राम्रो र बलियो हुनुपर्ने बताए ।
जिल्लाभरीका अगुवा कार्यकर्ताहरू सहभागी भएको उक्त कार्यक्रममा नेता भुषालले पार्टी निर्माणमा एकताबद्ध भएर लाग्न समेत कार्यकर्तालाई निर्देशन दिए । एमाले कमजोर हुँदा देशको विकास अपेक्षा अनुसार हुन नसकेको भन्दै उनले पहिला पार्टीलाई राम्रो र बलियो बनाउने अभियानमा जुट्न आग्रह गरे । साथै उनले एमाले साङ्गठनिक रूपमा बलियो र जनताको बीचमा लोकप्रिय भएपछि देशमा विकासको गतिले काँचुली फेर्ने बताए । पार्टीको मुख्य लक्ष्य नै समृद्ध नेपाल बनाउनु भएको स्पष्ट पार्दै उनले अब पार्टीलाई पहिलो शक्तिको रूपमा स्थापित हुने गरी गाउँमा गएर काम गर्न समेत आग्रह गरे । कठिन अवस्थामा एमालेले देश सञ्चालन गरिरहेको भन्दै उनले संकटको अवस्थामा आफ्नो पार्टीले नै काँध थाम्ने गरेको उल्लेख गरे ।
यस्तै कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य तथा भेरी अञ्चल इञ्चार्ज यामलाल कँडेलले व्यक्तिको पछाडि लाग्ने परम्परालाई त्यागेर विचारको पछाडि लाग्न कार्यकर्ताहरूलाई आग्रह गरे । पार्टीभित्र देखापर्ने गुटहरूका कारण तत्कालका लागि केही व्यक्तिले लाभ प्राप्त गरेको अनुभूति गरेपनि त्यसले समग्र पार्टीलाई नै नोक्सान गर्ने उनको भनाइ छ । नेता र कार्यकर्ताहरूमा पार्टी निर्माणको सामूहिक भावना हुनुपर्ने भन्दै उनले एमालेलाई देशकै शक्तिशाली पार्टीको रूपमा स्थापित गर्ने अभियानमा जुट्न कार्यकर्ताहरूलाई निर्देशन दिए । जनताको भावना अनुसार काम गर्न र पार्टीलाई स्थापित गर्नका लागि समेत उनले कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । सो अवसरमा एमाले अनुशासन आयोगका केन्द्रीय सदस्य बालाराम शर्माले पार्टी निर्माणमा सबैको साझा प्रयास आवश्यक रहेको बताए । एमाले सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाहीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । 
प्रकाशित मितिः   १३ माघ २०७२, बुधबार १०:३६