राष्ट्रिय लोकवार्ता सम्मेलन सुरु, लोक संस्कृतिको जगेर्नामा जोड

साझा बिसौनी संवाददाता
सुर्खेत, १२ माघ ।
नेपाली लोकवार्ता पाँचौं राष्ट्रिय सम्मेलन मंगलवारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ । सम्मेलनको अवसरमा मुलुकका प्रख्यात प्राज्ञहरूदेखि लोक कलाकर्मीहरूको सुर्खेतमा जमघट भएको छ । सम्मेलनका सहभागीहरूले नेपालका मौलिक लोक संस्कृतिहरू नै नेपालीको पहिचान भएकाले यसको संरक्षणमा राज्यले लगानी गर्नुपर्नेमा जोड दिए ।
लोकवार्ता परिषद्सहित विभिन्न संघ–संस्थाहरूले संयुक्त रूपमा आयोजना गरेको सम्मेलनको नेपाल प्रज्ञा परिषद्का सदस्य सचिव प्रा.डा. जीवेन्द्रदेव गिरीले मंगलवार उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका गिरीले लोक कला, संगीत, संस्कृति र साहित्यको जगेर्ना गर्न आवश्यक रहेको बताए । उनले लोककला नेपालको सम्पत्ति भएको भन्दै यसको संरक्षण जरुरी रहेको जनाए । यसका लागि अब राज्यले नै लगानी गर्नुपर्ने उनको भनाइ छ ।
लोकसाहित्य र लोकसंस्कृति आत्मसम्मानको परिचायक समेत भएको उनको जिकिर थियो । यस्तै संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाले मुलुकका विभिन्न ठाउँ र समुदायमा रहेका संस्कृतिले सिंगो मुलुककै पहिचान झल्काउने भएकाले तिनको संरक्षण र सम्बद्र्धनमा सबैले ध्यान दिनुपर्ने धारणा राखे । कार्यक्रममा प्राज्ञ नरवेदेश्वरीले थुप्रै लोक कला र संस्कृतिको पहिचान हुनै बाँकी रहेको भन्दै अब राज्यले नै यस्ता कला र संस्कृतिको पहिचान र संरक्षणमा पहल गर्नुपर्ने बताइन् । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले लोक संस्कृतिलाई जगेर्ना गर्न सके पर्यटन विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले आधुनिकताको नाममा युवा पुस्ता आयातित विदेशी संस्कृतिप्रति बढी आकर्षित हुँदै गएको भन्दै अधिकारीले आफ्नै लोक पहिचान र लोक संस्कृति जोगाउन लाग्नुपर्ने विचार व्यक्त गरे ।
सम्मेलनमा साहित्यकार महेन्द्रप्रसाद गिरी, लोक गायक भीमबहादुर कार्की लगायतले अन्य क्षेत्रमा जस्तै राज्यले लोक संस्कृतिको क्षेत्रमा पनि लगानी बढाउने पर्ने धारणा राखेका थिए । उनीहरूले अब विद्यालयहरूमा पनि लोक संस्कृति सम्बन्धी पाठ्यक्रम निर्माण गरेर अध्यापन गर्नुपर्नेमा जोड दिए । प्राज्ञ डा. दीपक गौतमको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा देउडा, राईझुमा, थारु गीत र नृत्य लगायतका लोक संस्कृतिको प्रस्तुत समेत गरिएको थियो । तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा नेपाली लोक साहित्य, कला संस्कृति र रितीरिवाज, भाषा सम्बन्धी ६० वटा कार्यपत्रहरू प्रस्तुत हुने र त्यसमाथि छलफल हुने जनाइएको छ । त्यसैगरी ४० जना प्राध्यापक डाक्टरहरू, प्राज्ञहरू र अनुसन्धानकर्ता एवम् लोक साहित्यविद्हरूबीच साहित्यक छलफल, विशेष सांस्कृतिक कार्यक्रम हुनुका साथै सुर्खेत घोषणापत्र समेत सम्मेलनबाट जारी गरिने छ । 
प्रकाशित मितिः   १३ माघ २०७२, बुधबार १०:४०