जय नेपाल कपको उपाधि एमयूलाई
सुर्खेत: ‘जय नेपाल कप’ अन्तरविश्वविद्यालय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मध्यपश्चिम विश्वविद्यालयले जितेको छ । मंगलवार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनलमा मध्यपश्चिमले भारतको लखनऊ विश्वविद्यालयलाई ५८ रनले पराजित गर्दै उपाधि जितेको हो ।
मध्यपश्चिमले दिएको एक सय ७६ रनको लक्ष्य पछ्याएको लखनऊले २० ओभरमा नौ विकेटको क्षतिमा एक सय १७ रन मात्र जोड्न सक्यो । लखनऊका लागि ओपनर मनन कान्डपालले ५८ रन जोडे पनि अरु ब्याटर चल्न सकेनन् । बलिङमा मध्यपश्चिमका दिवान पुनले तीन विकेट लिए भने राजकुमार शाहले दुई विकेट हात पारे ।
त्यसअघि पहिले ब्याटिङ गरेको मध्यपश्चिमले ६ विकेटको क्षतिमा एक सय ७५ रन जोडेको थियो । ओपनिङ राम्रो हुन नसके पनि मध्यपश्चिमका लागि दिवान पुनले ३६ बलमा ५८ रन तथा विपिन खत्रीले २८ बलमा पाँच चौका र चार छक्काको मद्दतमा नटआउट ५९ रन बनाए ।
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको आयोजनामा भएको जय नेपाल कपमा तीन देशका आठ विश्वविद्यालयले भाग लिएका थिए । नौं दिनसम्म भएको प्रतियोगिता जलवायु परिवर्तनको मुद्दालाई प्रवर्धन र ग्रासरुट क्रिकेटको विकासका लागि आयोजना गरिएको संघको भनाइ छ । प्रतियोगिताको विजेता मध्यपश्चिमले १५ लाख पायो भने उपविजेता लखनउले १० लाख रूपैयाँ हात पा¥यो ।
प्रकाशित मितिः १६ माघ २०८१, बुधबार ११:५९
साझा बिसौनी ।