आजदेखि ‘मौन अवधि’, अन्तिम दिन शक्ति प्रदर्शन

सुर्खेत, २८ वैशाख ।
स्थानीय तहको चुनाव अन्तर्गत आज (शुक्रवार) देखि दलहरूले चुनावी प्रचार–प्रसार गर्न नपाउने भएका छन् । आइतवार हुने मतदानका लागि मौन अवधि सुरु भएको छ । मौन अवधि सुरु भएसँगै राजनीतिक दल र उम्मेदवारहरूले कुनै पनि प्रचारका क्रियाकलापहरू गर्न नपाउने भएका हुन् ।
मौन अवधिभर दलहरूले मतसमेत माग्न पाउने छैनन् । यस्तै सभा, जुलुस, ¥याली र प्रचारका कुनै पनि क्रियाकलाप गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ । यस्तै सामाजिक सञ्जालहरूमा पनि चुनावी प्रचारमा रोक लगाइएएको छ । मौन अवधि सुरु भएसँगै दलहरू मतदाताको संरक्षण गर्ने र आन्तरिक तयारीमा व्यस्त छन् । चुनावी प्रचारको अन्तिम दिन बिहीवार दलहरूले जिल्लाभर नै आफ्नो शक्ति प्रदर्शन गरेका छन् । जिल्लाका पाँच नगरपालिका र चार वटा गाउँपालिकामा बिहीवार दलहरूले आ–आफ्नो शक्ति प्रदर्शन गरेका हुन् ।
शुक्रवारदेखि मौन अवधि सुरु हुने भएपछि दलहरूले चुनावी प्रचार गर्न पाइने अन्तिम दिन बिहीवार तामझामसहित शक्ति प्रदर्शन गरे । दलहरूले नगरपालिका र गाउँपालिकास्तरीय अन्तिम सभाहरू सम्पन्न गरेका छन् । यसअघि वडा र टोलमा केन्द्रित भएका दलहरूले बिहीवार भने अन्तिम चुनावी सभा गरेका हुन् । चुनावी सभामार्फत् दल र तीनका उम्मेदवारहरूले आफूहरूलाई मत दिन आग्रह गरे । करिब २० वर्षपछि हुन लागेको स्थानीय तहको नेतृत्व हात पार्न दलहरूबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । सुर्खेतका नौ वटा स्थानीय तहमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।
प्रदेश ६ को सम्भावित राजधानीसमेत रहेको वीरेन्द्रनगरमा नेकपा एमालेले बिहीवार अन्तिम दिन शक्ति प्रदर्शन गरेको छ । कांग्रेस र माओवादी लगायतका दलहरूले पहिले नै चुनावी सभा सम्पन्न गरेको वीरेन्द्रनगरमा एमालेले भने अन्तिम दिन सभा आयोजना गरेको हो । बिहीवारको शक्ति प्रदर्शनमा जनसहभागिता अपेक्षा अनुसार रहेको भन्दै एमालेले आफ्नो पक्षमा नतिजा आउने दाबी गरेको छ । स्थानीय पिपल चौतारीमा आयोजित सभामा एमाले नेताहरूले वीरेन्द्रनगरको नेतृत्व एमालेले हात पार्ने दाबी गरे । साथै नेताहरूले पार्टी र अनुहार नभइ एजेण्डाका आधारमा मतदान गर्न आग्रह गरे । सो अवसरमा मेयर र उपमेयरका उम्मेदवारहरूले नगर विकासका आफ्ना एजेण्डाहरू सार्वजनिक गरेका थिए ।
सभामा एमाले पोलिटब्यूरो सदस्य यामलाल कँडेलले राष्ट्रियताको रक्षा र संविधान कार्यान्वयनका लागि आफ्नो पार्टीलाई मत दिन आग्रह गरे । उनले भने, ‘तपाईं जुनसुकै पार्टीको हुनुस्, जेसुकै विचारमा आस्था राख्नुस् । त्यसले कुनै फरक पर्दैन, तर देशलाई विखण्डन हुनबाट जोगाउने हो भने यसपाली एमालेलाई भोट दिनुस् ।’ आफ्नो पार्टीले चुनाव जितेमा स्थानीय तहको सरकार सवल र जनमैत्री हुने समेत दाबी गरे । कार्यक्रममा पूर्व सभासद् शान्ता चौधरीले जनजाति र सिमान्तकृत समुदायको शासनमा पहुँच स्थापित गर्नका लागि आफ्नो पार्टीले जित्नुपर्ने बताइन् ।
उनले भनिन्, ‘चुनावमा आफन्त नभन्नुस्, अनुहार पनि नहेर्नुस् । गाउँ र नगर विकासका मुद्दा हेर्नुस्, त्यही आधारमा भोट खसाल्नुस् ।’ उनले सुर्खेतमा एमालेप्रति जनताको आकर्षण देखेर आफू उत्साहित भएको र जीत सुनिश्चित भएको ठोकुवा नै गरिन् ।
कार्यक्रममा एमाले सुर्खेतका उपाध्यक्ष अमृत बिसी र नेता देवेन्द्र बिसीले वीरेन्द्रनगरको मात्र नभइ जिल्लाका सबै तहमा आफ्नो पार्टी विजयी हुने दाबी गरे । जनताका भावना सम्बोधन गर्ने एजेण्डा र विकास कार्यक्रमसहित पार्टीका उम्मेदवारहरू मैदानमा रहेको भन्दै उनीहरूले जनताले मतदान गर्ने विश्वास गरे । साथै उनीहरूले यसपालीको चुनाव कुनै व्यक्तिहरूबीचको नभइ दलहरूबीचको प्रतिस्पर्धा भएकाले एमालेको पक्षमा मतदान गर्न आग्रह गरे । उनीहरूले अब मतदाताको संरक्षण मात्र गर्न सकेमा जीत पक्का भएको उल्लेख गरे । एमालेको तर्फबाट वीरेन्द्रनगरको मेयर पदका उम्मेदवार बालाराम शर्मा र उपमेयर पदका उम्मेदवार मोहनमाया ढकालले पनि आफ्ना प्रतिबद्धताहरू राखेका थिए । शर्माले विकास र जनताको भावना अनुसार काम गर्न उमेर बाधक नहुने बताए । साथै उनले आफूले जितेमा वीरेन्द्रनगरलाई देशकै नमुना सहर बनाउने र प्रदेश राजधानीका लागि लड्ने प्रतिबद्धता जनाए । यस्तै उपमेयरका उम्मेदवार ढकालले नगरको योजनाबद्ध विकासका लागि आफूहरूलाई मत दिन आग्रह गरिन् ।

प्रकाशित मितिः   २९ बैशाख २०७४, शुक्रबार १७:०६