मतदाता परिचयपत्र वितरण सुरु

सुर्खेत, २८ वैशाख । (साबिस)
यही वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि निर्वाचन आयोगले बिहीवारदेखि मतदाता परिचय–पत्र वितरण सुरु गरेको छ । सुर्खेतमा सबै मतदान केन्द्रहरूबाट परिचय–पत्र वितरण सुरु गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार बिहीवारदेखि सुरु भएको मतदाता परिचय–पत्र वितरण कार्य वैशाख ३० गतेसम्म जारी रहनेछ । तीन दिनभित्र जिल्लाका सबै मतदाताहरूको परिचय–पत्र वितरण भइसक्ने कार्यालयले जनाएको छ । हरेक दिन बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको अवधिमा परिचय–पत्र वितरण गरिनेछ । परिचय–पत्र मतदान केन्द्रमा खटिएका मतदान टोलीबाट प्राप्त गर्न सकिन्छ । निर्वाचनमा आफ्नो मत जाहेर गर्नका लागि मतदाता परिचय–पत्र अनिवार्य रहेको छ ।
मतदाता परिचय–पत्र वितरण सुरु भएसँगै पहिलो दिन बिहीवार हरेक मतदान केन्द्रमा परिचय–पत्र लिनेको भिड लागेको थियो । मतदाताले आफ्नो नागरिकता वा परिचय खुल्ने कागजात लिएर मतदान केन्द्रमा गई परिचय–पत्र लिन सक्नेछन् । आयोगले परिचय–पत्र लिन सकभर मतदाता स्वयम् जानुपर्ने वा आफन्तले पनि लिनसक्ने जानकारी दिएको छ । मतदाता नामावलीमा फोटोसहितको विवरण हुन्छ । त्यसलाई राम्रोसँग चेकजाँच गरेर परिचय–पत्र
वितरण गर्ने हुनाले पनि सकेसम्म मतदाता आफै परिचय–पत्र लिन जानुपर्ने जनाएको छ । परिचय–पत्र विना मतदाता नामावलीमा नाम भए पनि मतदान गर्न नपाइने आयोगले जनाएको छ । आयोगले सबै मतदाताको बार कोडसहितको मतदाता परिचय–पत्र छापेको छ । फोटोसहितको मतदाता परिचय–पत्र पाउँदा नागरिकहरू हर्षित छन् ।

प्रकाशित मितिः   २९ बैशाख २०७४, शुक्रबार १७:०५