‘आचारसंहिता कार्यान्वयन सन्तोषजनक’
सुर्खेत, २८ वैशाख ।
प्रेस काउन्सिल नेपालले बिहीवार सुर्खेतका सञ्चारमाध्यमहरूमा निर्वाचन आचारसंहिताको अनुगमन गरेको छ । काउन्सिल सदस्य एवम् पत्रकार महासंघका केन्द्रीय सचिव संगीता खड्का र काउन्सिलका अर्का सदस्य चेतनाथ धमलाको टोलीले आचारसंहिताको अनुगमन गरेको हो ।
काउन्सिल सदस्य खड्काले जिल्लाका सञ्चारमाध्यमहरूले निर्वाचन आचारसंहिता पालना गरेको पाइएको जानकारी दिइन् । उनले निर्वाचन आयोगको सहयोगमा पहिलो चरणको स्थानीय तहको निर्वाचन हुने प्रदेश नं. ३, ४ र ६ का प्रमुख जिल्लाका सञ्चारमाध्यमहरूले निर्वाचन आचारसंहिता के कति पालना गरेका छन् भनी जिल्ला तहमै पुगेर अनुगमन गर्ने भनिए अनुसार आफूहरू जाजरकोट, सुर्खेत, दैलेख जिल्लामा आएको बताइन् । अनुगमनपछि आयोजित छलफल कार्यक्रममा उनले विगतको तुलनामा सञ्चारमाध्यमहरू सचेत भएका कारण आचारसंहिता उल्लंघनका घटनाहरू न्यूनमात्रा भएको जनाइन् । सञ्चारमाध्यमहरू तटस्थ हुनुपर्ने भएकोले आचारसंहिताको अनुगमनमा आएको उनको भनाइ छ । अहिले स्थानीय तहको निर्वाचन भएकोले आपूmहरू मुख्यतः निर्वाचन आचारसंहिता अनुगमन गर्न आएको र पछि हुने अन्य निर्वाचनको समयमा पनि काउन्सिल अनुगमन गर्ने उनले बताइन् ।
काउन्सिलका अर्का सदस्य चेतनाथ धमलाले स्वस्थ पत्रकारिताका लागि आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिए । काउन्सिलले अहिले आचारसंहिता पालनालाई मूल्यांकनमा प्राथमिकता दिएको भन्दै उनले विगतको तुलनामा अहिले उल्लंघनका घटनाहरूमा कमी आएको पाइएको बताए । पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष सूर्यमणि गौतमले आचारसंहिता जति पालना ग¥यो, सञ्चारमाध्यम उतिनै विश्वसनीय हुने बताए । उनले काउन्सिललाई निर्वाचन आचारसंहितामात्र नभइ पत्रपत्रिका वर्गीकरण, वितरण र आचारसंहिता पालनाको आधारमा पनि उचित मूल्यांकन गर्न सुझाव दिए ।
पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका पूर्व अध्यक्ष श्रीधर पौड्याल, प्रेस युनियनका अध्यक्ष नरेशसिंह थापा, प्रेस चौतारीका अध्यक्ष सूर्यप्रकाश कँडेलले आचारसंहिताको पालनाप्रति प्रतिबद्ध भएको बताएका थिए ।
साझा बिसौनी संवाददाता ।