चुनावी प्रचारमा बालबालिका प्रयोग

सुर्खेत, २८ वैशाख ।
सुर्खेतमा विभिन्न राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् । आचारसंहिता विपरित चुनावी कार्यक्रममा बालबालिकाहरूको प्रयोग गरेको पाइएको छ ।
जिल्ला बालकल्याण समिति सुर्खेतको आयोजनामा गठन भएको निर्वाचनमा बालअधिकार अनुगमन समितिले चुनावी प्रचार–प्रसारमा बालबालिकाको प्रयोगको अवस्थाको बारेमा बिहीवार गरेको अनुगमनका क्रममा चुनावी गतिविधिमा बालबालिकाको प्रयोग भएको पाइएको हो । समितिले बिहीवार भेरीगंगा नगरपालिका र गुर्भाकोट नगरपालिकामा अनुगमन गरेको हो । बालअधिकार अधिकृत रमा भण्डारीले राजनीतिक दलहरूको चुनावी सभामा बालबालिकाको प्रयोग कसरी भइरहेको छ भन्ने विषयमा अनुगमन गरिएको बताइन् ।
राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै बालबालिकाहरूलाई चुनावी प्रचार–प्रसारमा प्रयोग गरेको अनुगमनका क्रममा भेटिएको उनले बताइन् । चुनावी प्रचार–प्रसारमा १४–१५ वर्ष उमेरका बालबालिकाहरूले दलहरूको निर्वाचन चिन्ह अंकित टिर्सट लगाएर प्रचार–प्रसारमा हिँडेको भेटिएको अनुगमन समितिले जानकारी दिएको छ । ‘विद्यालय बन्द हुँदा बालबालिकाहरू चुनावी सभाहरूमा रमाइलोको लागि आएका हुन भनेर अभिभावकहरूले भन्नुभएको छ’ भण्डारी भनिन् । विद्यालय बन्द नगर्ने हो भने प्रचार–प्रसारमा बालबालिका प्रयोग नहुने अभिभावकहरूले बताएका छन् । समितिले यसअघि निर्वाचनमा बालबालिकाको प्रयोग कुनै पनि वाहनामा गर्न नहुने कुरामा सबैलाई सचेत एवम् प्रतिबद्ध गराउने उद्देश्यले बालकल्याण समितिले दुई दिन लगाएर उम्मेदवारहरूसँग हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको थियो ।
निर्वाचन आचारसंहिता–२०७२, मा बालबालिकालाई प्रयोग गर्न हुँदैन भन्ने उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय बालअधिकार सम्बन्धी महासन्धी १९८९, बालबालिका सम्बन्धी ऐन २०४८, बालश्रम नियमित र निषेध गर्ने ऐन २०५६, विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा तथा कार्यान्वयन निर्देशिका २०६८, नेपालको संविधान २०७२ लगायतका बालबालिका सम्बन्धी कानुनी दस्तावेजहरूमा कुनै पनि वाहनामा निर्वाचनका गतिविधिहरूमा बालबालिकाको प्रयोग गर्न निषेध गरेको छ ।

प्रकाशित मितिः   २९ बैशाख २०७४, शुक्रबार १७:००