विवाह भएको ६ दिनपछि बोलचाल
चन्द्राको पनि पढेर जीवनमा केही राम्रो गर्ने लक्ष्य र उद्देश्य थियो । चन्द्रा भर्खर एसएलसी दिएर बसेकी थिइन् । घरमा उनलाई माग्न केटा आए । उनलाई लागेको थियो आफ्नो पढ्ने ईच्छा बाबुआमाले पूरा गरिदिन्छन् । तर, उनको बाबुआमाले उनको जिन्दगीको सबैभन्दा ठूलो फैसला गरिदिए, उनको मञ्जुरीविना नै । उच्च शिक्षा पढेर जीवनमा धेरै अगाडि बढ्ने सपनाहरूलाई मनमा नै थन्काएर बाबुआमाले भनेको केटासँग विवाह गर्न राजी हुनुप¥यो उनी ।
उनलाई माग्न गएको केटा को हो, कस्तो छ, उनलाई केही थाहा थिएन । केटापक्षहरू घर फर्किसकेपछि साँझ आमाले तँलाई माग्न आएका केटा हुन् भनेपछि मात्र थाहा भएको थियो । उनले बाबुआमालाई अहिले म बिहे गर्दिन भन्न सकिनन् । उनले भनिन्, ‘त्यति बेलाको समय अहिलेको जस्तो थिएन, बाबुआमाले जहाँ दिए उही विहे गर्नुपथ्र्याे त्यसैले मैले पनि केही नभनेरै बिहेको लागि राजी भएँ ।’
पिता भागीरथ तिवारी र माता टिकावती तिवारीको कोखबाट २०३२ सालमा कल्याणमा जन्मिएकी चन्द्राको बाल्यकाल रमाइलोसँग बित्यो । सात भाइबहिनीमध्ये कान्छी छोरी भएकाले पनि सबैको माया ममतामा हुर्किन् । घरको कामकाज केही गर्नु परेन । उनको आफूले अरुलाई केही नभन्ने र अरुले केही भनेमा पीर मान्ने स्वभाव थियो । कक्षा सातसम्म कल्याणमा नै पढेकी चन्द्राले एसएलसी पास भने दशरथपुरबाट गरिन् ।
एसएलसी दिएर बसेकी चन्द्रालाई माग्न गएका केटा अरु कोही नभएर चुँडामणि आचार्य थिए । पिता पर्शुराम आचार्य र माता मालिकादेवी आचार्यको कोखबाट २०३० सालमा रतुमा जन्मिएका चुँडामणि आचार्यको बाल्यकाल गाउँमा नै रमाइलोसँग बित्यो । पाँच दिदीबहिनीको एक मात्र भाइ भएकाले पनि उनी सबैको माया ममतामा हुर्किए । एउटा छोरा बाबुआमाको प्यारो सबैको माया ममतामा बाल्यकाल बित्यो । उनी बाल्यकालमा लजालु स्वभावका थिए । कक्षा एक रतुमा पढेका आचार्यले कक्षा दुईदेखि एसएलसीसम्म भने अमरज्योति माविबाट
गरे । एसएलसी पास गरेपछि भने आचार्य व्यापारतिर लागे । सुरुमा अंकलको पसलमा बसेर व्यापार गर्ने तरिका सिके । पछि उनले आफ्नै कामना सपिङ्ग सेन्टर सञ्चालन गरी व्यापार सुरु गरे । अहिले उनले व्यापार सुरु गरेको सात वर्ष भयो ।
चुँडामणि र चन्दाको सम्बन्धको सुरुवाती कथा रोचक छ । चुँडामणि घरबाट विवाहका लागि केटी हेर्न निस्किए । घरबाट अर्कै केटी हेर्न गएका थिए तर, बिहे गर्ने पक्का अर्कै केटीसँग गरेर फर्के । उनले भने, ‘घरबाट अर्कै ठाउँमा केटी हेर्न भनेर गएको तर, बाटोमा चिनेको आफन्त भेटिनुभयो र त्यताभन्दा कल्याण जाउँ भनेपछि चन्द्रालाई हेर्न गएँ ।’ उनको फुपु चन्द्राको भाउजु भएकाले पनि बिहेको कुरा चलाउन उनीहरूलाई खासै गाह्रो भएन । चिनजान भएकाले पनि केटो राम्रो र इमान्दार छ भनेर चन्द्राको बाबुआमाले बिहेको लागि स्वीकार गरे ।
उनीहरूको २०५० सालमा मागी विवाह भयो । विवाह भएको ६ दिनसम्म चुँडामिण र चन्द्रा एक आपसमा बोलेका थिएनन् । नदेखेको र नचिनेको मान्छेलाई जीवनसाथी बनाएका दुवै जना एकअर्काेसँग बोल्न लाज मान्थे । माइत जाने बेला पनि जंगलको बाटोभरी सँगै हिँड्ने र गाउँ आएपछि चन्द्रा लाजले आचार्यलाई छोडेर अगाडि नै जान्थिन् । एकअर्काेलाई नजिकबाट चिन्न उनीहरूलाई केही समय लाग्यो । बिहे गरेको ६ दिनसम्म बोलचाल समेत नभएका यो जोडी माइतीबाट घर फर्कने समयमा पहिलो पटक बोलेका थिए ।
विवाह पछिका दिनमा घरको एक्लो बुहारी घरको कामकाजमा सघाउने नन्दहरू भए पनि भान्साको काम भने चन्द्रालाई धेरै आउँदैनथ्यो । तर, उनकी सासुले छोरी जस्तै गरेर चन्द्रालाई घरको सबै काम सिकाइन् । घरमा पनि चन्द्राले माइतीमा जस्तै माया ममता पाइन् । साथमा सहयोग गर्ने र साथी जस्तै नन्दहरू भएकाले पनि उनलाई घरमा सबैसँग घुलमिल हुन समय लागेन ।
चन्द्राको पढ्ने इच्छा विवाह पछि पूरा गर्ने वाचासहित भिœयाएका थिए उनका ससुराले । चन्द्रालाई विवाहपछि पनि पढाउने वाचा उनका ससुराले पूरा पनि गरे । एसएलसीको नजितामा पास भएपछि चन्द्रालाई सुर्खेत क्याम्पस (शिक्षा)मा नाम लेखाएर पढ्न पठाए । आईएड पढ्दै
थिइन् । शिक्षक सेवामा उनको नाम निस्कियो । छोरो पनि जन्मियो । त्यसकारण उनले पढाइलाई छोडेर जागिर र छोरालाई सम्हाल्दैमा १० वर्ष बित्यो । १० वर्षपछि उनले फेरि पढेर अहिले बीएड सकेर अब डिग्री पनि सक्ने तयारीमा छिन् । उनले एक वर्ष बिजौरामा अध्यापन गराइन् । १० वर्ष चौरासे र १० वर्ष वीरेन्द्रनगर–१२ खोरियामा अध्यापन गराएकी चन्द्राले अहिले एक वर्षदेखि ईत्राम स्कुलमा अध्यापन गराउँदै आइरहेकी छिन् । त्यतिमात्र होइन चन्द्रा आचार्यलाई व्यापारमा पनि फुर्सदको समयमा सघाउने गर्छिन् । साथै उनी समाजसेवामा समेत लागेकी छिन् । उनी नेपाल राष्ट्रिय शिक्षक संगठन सुर्खेतको उपाध्यक्ष समेत छिन् ।
विवाहपछि धेरै जसो यो जोडी टाढा नै रहे । चन्द्रा अध्यापनका लागि बाहिर नै बसिन् । आचार्य भने आफ्नै व्यापारमा व्यस्त भए । यो जोडी जति टाढा भए पनि माया भने गाढा नै छ । कहिलेकाहीं सामान्य झगडाले पनि सम्बन्धमा माया बढाइ दिने उनीहरूको भनाइ छ । उनीहरू भन्छन्, ‘सामान्य झगडा भए पनि छिनमा नै सेलाइ हाल्छ ।
यो जोडी जति झगडा गरे पनि एकअर्काेको प्रशंसा पनि खुलेरै गर्छन् । आचार्यलाई चन्द्राको हरेक काममा हौसला र साथ दिने बानी मनपर्ने गर्छ । कहिले काहीं कुरा नबुझेरै रिसाउने बानी भने आचार्यलाई अलि मन पर्दैन उनलाई त्यो बानी हटाइदिएको भए हुन्थ्यो जस्तो लाग्छ । त्यस्तै चन्द्रालाई पनि आचार्यको अभिभावकको भूमिका निर्वाह गर्ने बानी मनपर्छ । उनले भनिन्, ‘उहाँको सानो–सानो कुरामा पनि हामी सबैको धेरै ख्याल राख्ने बानी मनपर्छ ।’ चन्द्रालाई आचार्यको आफूले गल्ती गर्ने आफै रिसाउने बानी भने अलि मन पर्दैन ।
प्रस्तुतीः गीता थापा
प्रकाशित मितिः ३० बैशाख २०७४, शनिबार १५:५३
साझा बिसौनी संवाददाता ।