मानव सेवा आश्रम: पूर्वाधार निर्माण गर्न प्रदेश सरकारको सहयोग
सुर्खेत: मानव सेवा आश्रमको लागि आवश्यक पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । आश्रमको पूर्वाधार निर्माणका लागि कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा एक करोड बजेट विनियोजन गरिएको हो ।
सडक मानवमुक्त प्रदेश कार्यान्वयन गर्न मानव सेवा आश्रमलाई सहयोग गरिएको जनाइएको छ । सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले मानवता प्रवद्र्धनका लागि थालिएको पुण्य काममा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए । उनले चालु आर्थिक वर्षमा एक करोड बजेट विनियोजन गरिएको र आवश्कताका आधारमा सहयोग गर्ने जनाए । पूर्वाधार निर्माणमा प्रदेश सरकारले हातेमालो गर्न लागेको समेत उनको भनाइ छ ।
सुर्खेतमा मानव सेवा आश्रमका लागि विभिन्न निकायबाट आर्थिक सहयोग भइरहेको छ । स्थानीय सरकारले समेत पूर्वाधार निर्माणमा सहयोग गर्ने भएको छ । विगतदेखि नै आर्थिक तथा सामाजिक रूपमा सहयोग गर्दै आएको वीरेन्द्रनगर नगरपालिकाले पूर्वाधार निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै समेटेर मानव सेवा आश्रमको पूर्वाधार निर्माणका लागि सहयोग गर्न लागिएको नगरपालिकाले जनाएको छ । डेढ करोड बराबरको पूर्वाधार निर्माणको काम नगरपालिकाले गरिदिने नगरप्रमुख मोहनमाया ढकालले बताइन् । उनका अनुसार नगरपालिकाले उक्त बजेट बराबरको पूर्वाधार नै खडा गर्न लागेको हो । सुरुवातीका वर्षहरूदेखि नै नगरपालिकाले सहयोग गर्दै आएको छ । आर्थिक र सामाजिक सेवाभावले विगतदेखि नै काम गरिरहेको भन्दै ढकालले यो वर्ष निर्माणको काम सुरु हुनेबित्तिकै पालिकाको तर्फबाट पूर्वाधार निर्माणको कामसमेत सुरु गर्न लागिएको जनाइन् ।
आश्रमको पूर्वाधार निर्माणका लागि विभिन्न क्षेत्रबाट सहयोग भइरहेको मानव सेवा आश्रम सुर्खेत जिल्ला संयोजक सुजन गौतमले बताए । उनका अनुसार कर्णाली प्रदेशस्तरीय मानव सेवा आश्रमको भवन निर्माण गर्न लागिएको छ । उनले भने, ‘यो वर्ष नै मानव सेवा आश्रमको पूर्वाधार निर्माण सुरु हुन्छ, निर्माण समिति गठन गरेर, टेण्डर आह्वान गर्छौं ।’
महायज्ञबाट नौ करोड
मानव सेवा आश्रमको पूर्वाधार निर्माणका लागि हालै सम्पन्न भएको महायज्ञबाट नौ करोड ७६ लाख रूपैयाँ संकलन भएको छ । आश्रमले गत २१ मंसिरदेखि २८ मंसिरसम्म वीरेन्द्रनगरको खुल्ला मञ्चमा श्रीमद् भगवत् सप्ताह ज्ञान–विज्ञान महायज्ञ आयोजना गरेको थियो । महायज्ञबाट नौ करोड ७६ लाख ९२ हजार आठ ४३ रूपैयाँ दान संकलन भएको हो ।
महायज्ञबाट करिब पाँच करोड रकम संकलन हुने अपेक्षा गरिए पनि लक्ष्यभन्दा करिब दोब्बर बढी दान संकलन भएको महायज्ञ मूल आयोजक समिति संयोजक डा. नवराज केसीले जानकारी दिए । ‘महायज्ञमार्फत् हामीले समुदायलाई जोडेका छौँ, एक रूपैयाँदेखि एक करोडसम्म पनि दान गर्नुभएको छ,’ केसीले भने, ‘सबै मनकारीहरूको साथ पाएर होला लक्ष्यभन्दा करिब दोब्बर दान रकम संकलन भएको छ ।’
महायज्ञबाट एक करोड ९७ लाख ६६ हजार ६५ रूपैयाँ नगद जम्मा भएको छ भने एक करोड ३३ लाख २७ हजार ६ सय एक रूपैयाँ अनलाइन माध्यमबाट प्राप्त भएको छ । ३७ लाख ८८ हजार नौ सय २१ रकम बराबरको चेक प्राप्त भएको छ । पाँच करोड चार लाख १६ हजार ३२ रूपैयाँ स्थानीय तह र विभिन्न संघ संस्थाहरूले प्रतिबद्धता गरेका छन् भने ५७ लाख ७९ हजार पाँच सय ८२ रूपैयाँ व्यक्तिगत प्रतिबद्धता गरेका छन् । महायज्ञको कलश यात्रामा प्रयोग भएको कलश बिक्रीबाट मात्रै ४२ लाख ७४ हजार आठ सय ८२ रूपैयाँ संकलन भएको छ । दान पेटिकामा प्राप्त दान तीन लाख २६ हजार चार सय ५५ र किताब बिक्रीबाट १३ हजार तीन सय पाँच रूपैयाँ संकलन भएको महायज्ञ मूल आयोजक समितिले जनाएको छ । महायज्ञको खर्च भने ५० लाख ७४ हजार ८७ रूपैयाँ भएको बताइएको छ ।
प्रकाशित मितिः १४ माघ २०८१, सोमबार ११:५७
साझा बिसौनी ।