अनुकूलित योजना
कर्णाली प्रदेश सरकारले जलवायु परिवर्तनको असर न्यूनिकरण गर्न जलवायु अनुकूलित कार्यक्रम कार्यान्वयन गर्न लागेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षबाट जलवायु अनुकूलित कार्यक्रम कार्यान्वन गर्न लागेको हो । सञ्चालन भइरहेका कार्यक्रममा समेत जलवायु न्यूनिकरणका विषय समावेश गरेर कार्यक्रम कार्यान्वयन गरिने प्रदेश सरकारले जनाएको छ । कर्णाली प्रदेश जलवायु परिवर्तनको चपेटामा छ । कृषि, जलस्रोत, वनस्पतिमा जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव देखिएको छ । कृषि र वनस्पतिमा मात्र नभइ प्रदेशका नागरिकको जीवनयापनमा समेत असर देखिन थालेको छ । पछिल्लो समय हिमाली क्षेत्रका नदिनाला सुक्दै जानु, हिउँ पर्ने क्रम पनि कम हुनु, खेतिबालीमा रोगकिराको प्रकोप बढ्नु जलवायु परिवर्तनको असर भएको विज्ञहरूले बताउने गरेका छन् ।
जलवायु परिवर्तनको असर कृषि क्षेत्रमा बढी परेको पाइएको छ । जलवायु परिवर्तनले उत्पादनमा ह्रास, रोजगारी गुम्नु, बाढी पहिरो, अतिवृष्टि, अनावृष्टि, खडेरी र भोकमरी लगायतका समस्या देखापरिरहेको हो । कृषिका कार्यक्रमलाई जलवायु अनुकुलनमा जोडेर सञ्चालन गर्न लागिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । कृषकहरलाई विभिन्न सचेतनाका कार्यक्रमसमेत राखिएको छ । जलवायु परिवर्तनको असर कृषि क्षेत्रमा धेरै परेकाले अब सञ्चालन गरिने कार्यक्रम जलवायु अनुकूलित हुने छन् । पानीमा समेत जलवायु परिवर्तनको असर देखिने गरेको छ । पछिल्लो समय खानेपानीका मुहान सुक्न थालेका छन् । गाउँघरमा अध्ययन विनै जथाभावी निर्माण भइरहेका सडकले समेत असर परेको छ । प्रदेश सरकारले जलवायु अनुकूलित खानेपानी आयोजना सञ्चालन गर्ने भएको छ । जलवायु परिवर्तनले समेत पानीको परिमाणमा असर नपर्ने स्रोतहरूको खोजी गरिने प्रदेश सरकारले जनाएको छ । दशवटै जिल्लामा जलवायु अनुकूलित खानेपानी आयोजनालाई प्रभावकारी कार्यान्वयन गर्न लागिएको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले जनाएको छ । अघिल्ला वर्षहरूबाट उक्त कार्यक्रम कार्यान्वयन भइरहेको छ । सशर्त अनुदानमार्फत् कार्यक्रम कार्यान्वयन भइरहेको हो । कार्यक्रम कार्यान्वयनका लागि चालु आर्थिक वर्षमा ६ करोड ५९ लाख बजेट विनियोजन गरिएको छ । जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि सोहीबमोजिमका कार्यक्रम मन्त्रालयले सञ्चालन गर्न लागेको हो ।
कर्णाली प्रदेश सरकारले जलवायु न्यूनिकरणका लागि प्रभावकारी योजना कार्यान्वयन गर्ने भएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर जलवायु अनुकुलका कार्यक्रम प्रभामिकतामा राखेको हो । विशेष गरेर कृषि क्षेत्र जलवायु परिवर्तको चपेटामा परेको छ । तीनतहका सरकारको समन्वयनमा जलवायु अनुकुलनका कार्यक्रम सञ्चालन गरिने प्रदेश सरकारले जनाएको छ । प्रदेशका विभिन्न मन्त्रालय र मातहतका कार्यालयहरूबाट समेत जलवायु अनुकुलनका कार्यक्रम सञ्चालन गर्न लागिएको प्रदेश सरकारले जनाएको छ ।
प्रकाशित मितिः १४ माघ २०८१, सोमबार ०६:०३
सम्पादकीय ।