संसदीय समितिमा नेतृत्व चयन

 

सुर्खेत: कर्णाली प्रदेशसभाका विषयगत समितिले नेतृत्व पाएका छन् । लामो समयदेखि नेतृत्वविहीन अवस्थामा रहेका संसदीय समितिहरूले नेतृत्व पाएका हुन् ।

तीन वटा समितिको नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको हो । प्रदेशसभा सचिवालयका अनुसार सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद विन्दमान विष्ट चयन भएका छन् । यसैगरी सामाजिक विकास समितिको सभापतिमा सत्तारुढ दल नेपाली कांग्रेसका पूर्णबहादुर खत्री र अर्थ तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेकपा एमालेकी सांसद दक्षिणाकुमारी शाही चयन भएका छन् ।

विषयगत समितिको नेतृत्व टुँगो लगाउन प्रदेशसभाले मंगलवार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । सोहीअनुसार बुधवार उम्मेदवारको मनोनयन दर्ताको तालिका रहेकोमा तीन वटै समितिमा एक÷एक जनाको मात्रै उम्मेदवारी परेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले जानकारी दिए ।

तीन प्रमुख राजनीतिक दलहरूको सहमतिअनुसार सार्वजनिक लेखा समिति प्रमुख प्रतिपक्ष दलले लिएको छ । यसअघि एमालेका जीतबहादुर मल्ल समितिको सभापति थिए । लेखा समिति प्रतिपक्षलाई दिँदै आएको अभ्यास भएकाले उनले असोज १५ गते राजीनामा दिएका थिए । तत्कालीन समयमा माओवादी–एमाले गठबन्धन बनेपछि अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति रहेका दुर्गबहादुर रावत २०८१ वैशाख १८ मा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेपछि समिति सभापतिविहीन बनेको थियो ।
यस्तै सामाजिक विकास समितिका सभापति रहेका घनश्याम भण्डारी २०८१ साउन २० मा मन्त्री बनेपछि उक्त समिति सभापतिविहीन बनेको थियो । सदन नचलेका बेला सरकारलाई निर्देशन दिने, सरकारले गर्ने काम–कारबाहीमाथि निगरानी गर्ने, आवश्यक परे कारबाहीका लागि सिफारिस गर्ने लगायतका जिम्मेवारी रहेका समितिहरू नेतृत्वविहीन हुँदा कतिपय विधेयकहरू दुई वर्षदेखि समितिमा अड्किएका छन् । समितिले नेतृत्व पाएसँगै ती विधेयकहरूको विषयमा छलफल अगाडि बढ्ने देखिएको छ । चारमध्ये प्रदेश मामिला समितिको सभापतिमा भने लामो समयदेखि एकीकृत समाजवादीका सांसद कल्याणी खड्का छन् ।

प्रकाशित मितिः   १० माघ २०८१, बिहीबार १२:१४