भूमि आयोगले काम थाल्दै

सुर्खेत: राष्ट्रिय भूमि समस्या समाधान आयोग सुर्खेतका अध्यक्ष केशरबहादुर ओलीले पदभार सम्हालेका छन् । आयोगको कार्यालयमा उनले पदभार ग्रहण गरे ।

पदभार ग्रहण कार्यक्रममा नापी कार्यालय सुर्खेतका कार्यालय प्रमुख एवम् भूमि समस्या समाधान आयोग सुर्खेत जिल्ला समितिका सदस्य सचिव इन्जिनियर दिनेशकुमार भण्डारी, आयोग जिल्ला समिति सदस्य एवम् डिभिजन वन कार्यालय सुर्खेतका वरिष्ठ वन अधिकृत वसन्तबाबु श्रेष्ठ, मालपोत कार्यालयका मालपोत अधिकृत सुनिताकुमारी दर्लामी, जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत गिता बरै मगर र जिल्ला समन्वय समिति सुर्खेतका निमित्त जिल्ला समन्वय अधिकारी रामबहादुर बुढा लगायतको सहभागिता रहेको थियो ।

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने गरी नयाँ आयोग गठन गरेको हो । सुर्खेत जिल्लाका लागि ओली आयोगको अध्यक्षमा नियुक्त भएका छन् । उनी पुर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नं. ३ का स्थायी बासिन्दा हुन् ।

नवगठित आयोगका अध्यक्ष ओलीले आयोगले पूर्णता पाएलगत्तै समितिले जग्गाधनीपुर्जा पाउने प्रतीक्षामा रहेका सुकुम्बासीलाई कुनै पूर्वाग्रह नराखी जग्गाधनीपुर्जा वितरण गरिने बताए । उनले भएका कामका अध्ययन गरेर बाँकी काम अघि बढाउने जानकारी दिए । समितिका सदस्य सचिव इन्जिनियर दिनेशकुमार भण्डारीले आयोगको पूर्णता र केन्द्रको निर्देशन पछि आयोगका काम सूचारु हुने जानकारी दिए ।

यसअघिको आयोगले सुर्खेतका नौ वटा स्थानीय तहमध्ये सात वटामा काम गरेको थियो । वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका, चौकुने गाउँपालिका, गुर्भाकोट, भेरीगंगा र लेकवेशी नगरपालिकामा पुर्जा वितरणको काम गरेको थियो । जिल्लाका दुई पालिकामा भने पूर्जा वितरण सुरु नै हुन सकेको थिएन् । सिम्ता र चिङ्गाड गाउँपालिकामा भूमि आयोगले कुनै पनि काम सुरु गरेको छैन ।

प्रकाशित मितिः   १० माघ २०८१, बिहीबार १२:१२