बजेट खर्च सुस्त
चालु आर्थिक वर्षमा पनि कर्णाली प्रदेश सरकारको बजेट कार्यान्वयन गति सुस्त देखिएको छ । सरकारले ६ महिनाको अवधिमा आठ प्रतिशत बजेट मात्र खर्च गरेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म पुँजीगततर्फको आठ दशमलव ९० प्रतिशत बजेट खर्च भएको हो । गत वर्ष न्यून बजेट खर्च गरेको सरकारले यस वर्ष विकास बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउँदै खर्चमा सुधार ल्याउने बताएको थियो । सरकार विगतका वर्षहरूमा झै बजेट कार्यान्वयनमा सुस्ताएको हो । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ३१ अर्ब ४१ करोड ४१ हजार बजेट ल्याएको छ । यो बजेटमध्ये १८ अर्ब ७५ करोड ५१ लाख ६८ हजार रूपैयाँ पुँजीगततर्फको हो । पुँजीगततर्फ पुस मसान्तसम्म सरकारले एक अर्ब ६६ करोड ९३ लाख ६० हजार तीन सय ८९ रूपैयाँ मात्रै खर्च गरेको छ । यो जम्मा पुँजीगततर्फ छुट्याइएको बजेटको आठ दशमलव ९० प्रतिशत मात्रै हो ।
सबैभन्दा धेरै विकास बजेट भएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले ६ महिनामा जम्मा दश प्रतिशत मात्रै बजेट खर्च गर्न सकेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार दश अर्ब १७ करोड ८२ लाख २४ हजार रूपैयाँ विकास बजेट रहेको भौतिक पूर्वाधार मन्त्रालयले पुस मसान्तसम्म एक अर्ब, एक करोड ९३ लाख ७५ हजार सात सय २६ रूपैयाँ मात्रै खर्च गरेको छ । यहीँ अवधिमा मन्त्रालयले चालुतर्फ भने ३५ प्रतिशत बजेट खर्च गरेको छ । यस्तै जलस्रोत तथा ऊर्जा मन्त्रालयले यो अवधिमा पुँजीगततर्फ पाँच दशमलव ६८ प्रतिशत बजेट खर्च गरेको छ । मन्त्रालयले यो अवधिमा १४ करोड ८२ लाख १३ हजार आठ सय ८१ रूपैयाँ खर्च गर्न सकेको छ । ऊर्जासँग पुँजीगततर्फको दुई अर्ब ६० करोड ९० लाख तीन हजार रूपैयाँ बजेट रहेको छ ।
उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले पुँजीगततर्फ चार दशमलव ७२ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । उद्योगले पाँच करोड २५ लाख ९५ हजार नौ सय ९१ रूपैयाँ खर्च गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँग पुँजीगततर्फ एक अर्ब ११ करोड ४९ लाख ६१ हजार बजेट छ । मन्त्रालयले चालुतर्फ भने ३३ प्रतिशत खर्च गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्षको ६ महिनामा चार दशमलव ९१ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार मन्त्रालयले ६ महिनाको अवधिमा दुई करोड ४३ लाख दश हजार दुई सय ९२ रूपैयाँ खर्च गरेको हो । मन्त्रालयसँग चालु आर्थिक वर्षका लागि पुँजीगततर्फ ४९ करोड ५१ लाख ५० हजार बजेट छ ।
प्रकाशित मितिः ८ माघ २०८१, मंगलवार ११:२१
सम्पादकीय ।