सरकार छोड्ने कांग्रेसको चेतावनी

सुर्खेत: नेपाली कांग्रेसले कर्णालीमा सरकार छोड्ने चेतावनी दिएको छ । विगतका सहमति कार्यान्वयनमा सरकारले ध्यान नदिएको भन्दै सत्तारुढ दल कांग्रेसले मुख्यमन्त्री यामलाल कँडेललाई सरकारबाट बाहिरिने चेतावनी दिएको हो ।

सोमवारदेखि सुरु भएको कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा कांग्रेस संसदस्य दलका नेता जीवनबहादुर शाहीले तत्कालीन माओवादी केन्द्र र नेकपा एमालेको संयुक्त सरकारसँग भएका आठ बुँदे सहमति कार्यान्वयनको अवस्थाबारे पाँच दिनभित्र जानकारी नगराइए कांग्रेसले सरकार छोड्ने चेतावनी दिएका हुन् ।

शाहीले आठ बुँदे सहमति कार्यान्वयन नभएको बताउँदै तत्काल कार्यान्वयनको अवस्था सार्वजनिक गर्न पाँच दिनको समय दिएका छन् । ‘यसै साताभित्र आठ बुँदे सहमति कार्यान्वयनको अवस्थाका बारेमा जानकारी दिन माग गर्दछु,’ संसदीय दलका नेता शाहीले भने, ‘यदि कार्यान्वयन नभएको पाइए पवित्र गठबन्धन गर्नेहरू बस्नुहोला हामी सरकारबाट बाहिर बस्नेछौँ ।’

गत असार १७ गते भएको सहमतिअनुसार व्यक्तिको नाम, निजी फर्महरूको नामसहित आएको बजेट कार्यान्वयन नगर्ने, क्रमागत र बहुवर्षीय आयोजनाहरूको प्राथमिकता निर्धारण गरेर निर्माण कार्यलाई अघि बढाउने, कृषि, सशर्त, क्रमागत र मर्मत तर्फबाहेक अन्य निर्माणको हकमा १५ लाख र भवन तथा सडक निर्माणतर्फ ३० लाखभन्दा मुनिका योजनाहरू कार्यान्वयन नगर्ने, समपूरक, विशेष र सशर्त अनुदानतर्फ विधि प्रक्रिया पूरा गरी आएका तर छुट भएका पालिकालाई बजेटमा समावेश गर्ने सम्झौता भएका थिए । उक्त सम्झौता आफ्नै पार्टीसमेत सहभागी भएको सरकारले कार्यान्वयन नगरेपछि शाहीले संसद्मा आक्रोश मात्रै पोखेका होइनन्, सरकारबाटै बाहिरिने तयारी पनि गरिरहेका छन् ।

पूर्व मुख्यमन्त्रीसमेत रहेका शाहीले सरकार छोड्दा कारबाही भोग्न परेपनि आफू तयार रहेको बताए । ‘यता सरकार छोड्दा कारबाहीको पनि तयारी होला, त्यो पनि भोग्न तयार छु,’ उनले भने, ‘अन्याय सहेर सरकारमा बसिन्नँ ।’

शाहीले कांग्रेस र माओवादी केन्द्रबीच सरकार बन्दा अपवित्र गठबन्धन भन्ने एमाले संसदीय दलका नेता कँडेल अहिले कांग्रेसको समर्थनमा मुख्यमन्त्री बनेको बताउँदै अहिलेको गठबन्धनलाई के भन्ने भनेर प्रश्न गरे । ‘जुन बेला कांग्रेसलाई छोडेर माओवादी एमालेसँग गयो, त्यति बेला पवित्र गठबन्धन थियो होला । माओवादी कांग्रेससँग मिल्न आउँदा अहिलेका मुख्यमन्त्रीले अपवित्र गठबन्धन भन्नु भएको थियो,’ उनले प्रश्न गरे, ‘अहिले कांग्रेससँग मिलेर सरकार चलाइरहनु भएको छ, यो कस्तो गठबन्धन होला ?’

शाहीले अहिलेको गठबन्धन सरकारलाई निरन्तरता दिने हो भने भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री शेरबहादुर बुढाका विषयमा गम्भीर भएर सोच्नुपर्ने बताए । ‘संघ र प्रदेशको समपूरकका विषयमा थाहा नपाउने अनि सम्झाउन खोज्दा फोन नउठाउने ?,’ उनले भने, ‘यसरी अहिलेको गठबन्धन सरकार अगाडि बढ्न सक्दैन, भौतिक पूर्वाधार मन्त्रीका बारेमा पुनर्विचार गर्नैपर्छ ।’

उनले जिल्ला भ्रमणमा जाँदा समपूरक बजेटका विषयमा मतदाताले प्रश्न उठाएपछि त्यसको विषयमा बुझ्न पटक–पटक फोन गरेपनि नउठेको बताए । मन्त्रीको फोन नउठेपछि मुख्यमन्त्रीसँग समपूरक बजेटका विषयमा कुरा राखेको बताए । ‘यदि यो सरकारलाई निरन्तरता दिने हो भने भौतिक पूर्वाधार मन्त्रीको स्थिति के हुने हो, सबैभन्दा ठूलो दलको नेताको फोन नउठाउने ? के गर्छ र भन्ने जस्तो हो भने त्यो मन्त्रीलाई ‘स्याक’ नगर्दासम्म हामी सरकारमा बस्ने कि नबस्ने मुख्यमन्त्रीज्यू ?’ उनले प्रश्न गरे ।

समपूरकतर्फको बजेट फ्रिज गए त्यसको जिम्मेवारी कसले लिने हो त्यसको जवाफ दिन पनि माग गरे । ‘अघिल्लो वर्ष १८ करोड फ्रिज गयो, अहिले पनि त्यहीँ अवस्था देख्दै छु,’ उनले भने, ‘यो गम्भीर विषय हो ।’ शाहीले तत्कालीन मुख्यमन्त्री राजकुमार शर्माले आफूसँग सल्लाह नै नगरेर गाडी सुविधा दिने निर्णय गरेर आफ्नो बदनाम गर्न खोजेको आरोप लगाए । ‘न मैले गाडी लिएँ तर मुद्दा मैले खेप्न प¥यो,’ उनले भने, ‘तपाईंहरूले अनावश्यक किन मलाई दुःख दिइरहनुहुन्छ ।’
उनले संघीयताको मर्ममा आफूहरू चल्न नसकेको बताए । ‘हामी दलको दास हौँ ?, मन्त्री माथिबाटै तोकिने, समितिको सभापति पनि माथिबाटै तोकिने ?,’ उनले भने, ‘अनि हामीले संघीयताको वकालत गर्नुपर्ने ?’

यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बेइमानी गरेको आरोप लगाएको छ । सोमवार बसेको प्रदेशसभा बैठकमा बोल्दै प्रतिपक्ष दलका नेता राजकुमार शर्माले तत्कालीन अवस्थामा माओवादीसँग गरिएको सम्झौता कार्यान्वयन नगरी बेइमानी गरेको बताए । ‘मुख्यमन्त्रीसँग हस्ताक्षर गरेको कागज मेरो खल्तीमै छ,’ उनले भने, ‘के रोजगारी दिने कुरा गलत हो ? बेठिक थियो ? समयमै गर्न नसक्ने कुरा मैले पनि अनुभूति गरे तर गर्नु त पथ्र्यो नि । के कर्णालीमा रोजगारीको आवश्यकता छैन ?’

दश हजारलाई रोजगारी दिने कुरा आफ्नो मनोगत कुरा नभइ समग्र कर्णालीको आवश्यकता भएको शर्माले बताए । उनले अगाडि भने, ‘मैले मेरा कार्यकर्ता भर्ती गर्न गरेको भन्ने आरोप पनि लाग्यो, एमालेले नै भर्ती गरेको भए पनि हुन्थ्यो नि अहिले । प्रतिपक्ष दलको हिसाबले मेरो केही पनि थिएन ।’ रोजगार दिने कुरामा भाग्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ । अविच्छिन्न उत्तराधिकारी संस्था हुनुका नाताले संसद्ले पारित गरेको कुरामा मुख्यमन्त्रीले उदासीनता देखाएको शर्माले बताए । ‘गर्छु भनेर सम्झौता पनि गर्नुभयो तर बेइमानी गर्नुभयो,’ उनले भने ।

मुख्यमन्त्री कँडेल मनपर्दो तरिकाले हिँडिरहेको शर्माको आरोप छ । सरकार मनपरी गर्ने थलो नभएको र विधि, नीति नियम अनुसार चल्नुपर्ने उनको भनाइ थियो । भूकम्प प्रभावित क्षेत्रमा पनि काम गर्ने प्रतिवद्धता भुलेको उनको आरोप छ । रुकुम–पश्चिमको भ्रमणका क्रममा मुख्यमन्त्री कँडेलले सहिदको अपमान गरेको आरोप पनि शर्माले लगाए । उनले भने, ‘रुकुमको सहिद पार्कमा पुगेर, सहिद पार्कमा उभिएर मान्छेले जिउँदो मान्छेलाई दुख दिने भए भन्नु भएछ, के तपाईं आकाशबाट खसेर आएको हो ? धर्तीबाट उम्रिएर आएको हो ?’

प्रकाशित मितिः   ८ माघ २०८१, मंगलवार ११:१९