पञ्चवर्षीय योजना

वीरेन्द्रनगर नगरपालिकाले पञ्चवर्षीय योजना निर्माण गर्न लागेको छ । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरले पूर्वाधार विकासलाई एकीकृत गर्नेगरी योजना निर्माण गर्न लागेको हो । विकास साझेदार संघसंस्थासँग मिलेर पञ्चवर्षीय योजना निर्माण गर्न लागिएको छ । योजना निर्माणका लागि विभिन्न चरणमा विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफल गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकाका लागि बढ्दो जनसंख्या चुनौतीका रूपमा रहेको छ । अव्यवस्थित रूपमा धमाधम पूर्वाधार निर्माण भइरहेका छन् । जसले गर्दा नगरपालिकालाई व्यवस्थित सहर निर्माण गर्न सकस देखिएको हो । त्यसैले पूर्वाधार विकास, स्वास्थ्य, कृषि, शिक्षा र ऊर्जालाई प्रमुख प्राथमिकतामा राखेर पञ्चवर्षीय योजना बनाउन लागिएको हो ।

वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी हो । दिन प्रतिदिन जनसंख्या बढ्दो क्रममा छ । २०७८ सालको जनगणनाअनुसार नगरपालिकाको जनसंख्या एक लाख ५४ हजार भएको छ तर नगरपालिकाले सेवा भने करिब चार लाख जनसंख्यालाई दिनुपर्छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइका क्षेत्रमा ठूलो जनसंख्यालाई सेवा दिनु चुनौतीको विषय हो । नेपाल सरकारबाट प्राप्त हुने अनुदान जनसंख्याको आधारमा हुन्छ । त्यसमा पनि अहिले ५० प्रतिशत बजेट कटौती भएर आएको छ । यस्ता अन्य चुनौतीमा विद्युत, वनको कुरा, सडक आफ्नो अधिकार क्षेत्रभित्र नपर्दा काम अघि बढाउन नसकेको अवस्था छ । वीरेन्द्रनगरमा धमाधम नयाँ घर निर्माण भइरहेका छन् । बढ्दो जनसंख्याको आधारमा नागरिकलाई आधारभूत आवश्यकता परिपूर्ति गर्नसमेत हम्मेहम्मे हुनेगरेको छ । अब बन्ने पूर्वाधार विकासलाई एकीकृत र दिगोपना दिनेगरी निर्माण गर्नका लागि नगरपालिकाले पञ्चवर्षीय योजना निर्माण गर्न लागेको छ ।

योजनावद्ध विकास निर्माणका लागि पञ्चवर्षीय योजनाको आवश्यकता पर्दछ । आउने वर्षसम्म पञ्चवर्षीय योजना निर्माण गरिसक्नेगरी छलफल अघि बढाइएको नगरपालिकाले जनाएको छ । द एशिया फाउन्डेसनले नगरपालिकाको पञ्चवर्षीय योजना निर्माणमा सहयोग गर्नेछ । उक्त संस्थाले योजना निर्माणका लागि सुरुवाती चरणका काम गरिरहेको छ । नगरपालिकाको पूर्वाधार विकासको मार्गचित्र प्रस्तुत गर्नेगरी योजना निर्माण गर्न लागिएको छ । व्यवस्थित रूपमा पूर्वाधार विकास गर्नका लागि पनि स्पष्ट मार्गचित्र चाहिन्छ । जसको अभावमा हुने विकास अव्यवस्थित हुनुका साथै दिगो हुँदैन । बढ्दो जनसंख्यालाई समेत मध्यनजर गर्दै वीरेन्द्रनगरको विकासलाई व्यवस्थित बनाउनु अनिवार्य छ । प्रदेश राजधानीमा यसैपनि जनसंख्या बढ्दै गइरहेको छ भने विकासको गति पनि बढ्दै छ । तर यसलाई याजनावद्धरूपमा सञ्चालन गर्नु अपरिहार्य छ । जसका लागि पञ्चवर्षीय योजनालाई सघाउ पु¥याउने अपेक्षा गर्न सकिन्छ ।

प्रकाशित मितिः   ७ माघ २०८१, सोमबार ०६:०३