नयाँ पुस्ता भोट खसाल्न आतुर
पहिलो मत खेर नफाल्ने अठोट, विकास गर्नेलाई भोट, रोजाइमा योग्य व्यक्ति
सुर्खेत, २७ बैशाख ।
करिब २० वर्षको अन्तरालमा आइतवार हुन लागेको स्थानीय तहको निर्वाचनमा भोट खसाल्न नयाँ पुस्ता आतुर देखिएको छ । हालसम्म कुनै पनि निर्वाचनमा सहभागी नभएको यो पुस्ता स्थानीय तहको निर्वाचनको दिन नजिकिंदै गर्दा उत्साहित बनेको हो । पहिलो पटक मतदान गर्ने प्रतिक्षामा रहेको नयाँ पुस्ताले पूर्वाधार निर्माणको एजेण्डा बोकेका उम्मेदवारलाई मत दिने तरखर गरिरहेको छ ।
उमेर नपुगेको र मतदाता नामावलीमा नाम नहुँदा यसअघि संविधानसभाको निर्वाचनमा भोट हाल्न नपाएका जिल्लाका युवाहरू आइतवारको दिनलाई प्रतिक्षा गरिरहेका छन् । पहिलो पटक आफ्नै वडा, गाउँ र नगरको जनप्रतिनिधि छनौट गर्ने अवसर नजिकिंदै जाँदा युवाहरूमा उत्साह पैदा भएको हो । पहिलो पटक मतदानमा सहभागी हुन लागेका उनीहरूको रोजाइमा राजनीतिक दल भन्दा पनि योग्य व्यक्ति परेका छन् । परिवारका सदस्य र अभिभावकले दलको चुनाव चिन्ह हेरेर मतदान गर्ने तयारी गरिरहँदा नयाँ पुस्ता भने उम्मेदवारको एजेण्डा अध्ययन गर्नमै व्यस्त छन् ।
‘आजसम्म मैले भोट हालेको छैन, पहिलोपटक भोट हाल्ने दिन कुरिरहको छु’ वीरेन्द्रनगर–१२ खोरिया टोलका २० वर्षीय प्रेम कँडेलले भने, ‘अघिल्लो पटक संविधानसभाको चुनावमा उमेर पुगेको थिएन, त्यसबेला भोट हाल्न पाइएन । यसपाली नामावलीमा नाम चढेको छ, म त भोट हाल्न आतुर छु ।’ भोट खसाल्नका लागि प्रतिक्षा गरिरहेका कँडेलले यसपालीको चुनावमा दलभन्दा पनि व्यक्तिको योग्यता र एजेण्डा हेरेर मत खसाल्ने बताए । उनले थपे, ‘पार्टी मात्र हेरेर के गर्नु ? भाषण र आश्वासनले मात्र अब चल्दैन । घरका मान्छेले हाल भनेर पनि हुँदैन, म आफ्नो नेता आफै छनौट गर्नेछु ।’
वीरेन्द्रनगरमा चुनावी प्रचारले माहोल तातिएपछि खोरियाकै सुनिता विकलाई पनि छटपटी भइरहेको छ । पहिलोपटक मतदानमा सहभागी हुन लागेकी उनीलाई आफ्नो पहिलो भोट खेर जाने चिन्तासमेत लागेको छ । ‘आजसम्म भोट हालेकी छैन, मत बदर पो हुने हो की ?’ उनले भनिन्, ‘मेरो पहिलो भोट सही उम्मेदवारलाई दिनेछु, योग्य व्यक्तिले चुनाव जित्न जरुरी छ । जतिसुकै प्रचार र आश्वासन दिए पनि, युवाको भावना बुझ्नेलाई मात्र म मतदान गर्नेछु ।’ पहिलो पटक भोट हाल्न पाउने भएपछि उनमा खुशी छाएको छ । गाउँमा सडक, खानेपानी र शिक्षाको विकास गर्ने एजेण्डा बोकेका नेतालाई भोट हाल्ने उनको भनाइ छ । यतिबेला विभिन्न पार्टीका उम्मेदवार र कार्यकर्ताहरू टोलटोलमा भोट माग्न व्यस्त छन् । तर नयाँ पुस्ता भने पार्टीको पक्षमा नभइ व्यक्तिको पक्षमा उभिने तयारीमा छन् ।
पहिलो पटक यसपालीको चुनावमा भोट खसाल्ने तयारीमा रहेका दिनेश गौतम पनि निकै उत्साहित छन् । वीरेन्द्रनगर–१४ गढीबाट मतदान गर्ने तयारीमा रहेका २० वर्षीय गौतम भन्छन्, ‘जीवनमा पहिलो पटक नेता छान्ने मौका आएको छ, यो बेलामा हामीले अरुको लहैलहैमा भोट खेर फाल्नु हुँदैन । म चुनाव चिन्ह र अनुहार हेरेर आफ्नो मत खेर जान दिन्न, पूर्वाधार विकासको स्पष्ट खाका बोकेको उम्मेदवारलाई मतदान गर्ने निर्णयमा पुगेको छु ।’ युवाहरूको सञ्जाल तन्नेरी चासो सुर्खेतका संयोजक समेत रहेका गौतमले भिजन र विकासको खाका भएका उम्मेदवारलाई मत दिन आफूहरू तम्तयार रहेको जानकारी दिए । साथै आफूहरूले जीवनको पहिलो भोट खेर जान नदिका लागि युवाहरूबीच योग्य उम्मेदवारलाई भोट दिने विषयमा छलफल जारी रहेको उनको भनाइ छ ।
कँडेल, विक र गौतम त केवल नयाँ पुस्ताका प्रतिनिधिमूलक पात्र मात्र हुन् । जिल्लामा पहिलोपटक भोट हाल्ने तयारीमा रहेका युवाहरूमा उत्साह थपिएको छ । दलगत झण्डा र चुनाव चिन्ह बोकेर प्रचारमा ननिस्किएका युवाहरू यतिबेला उम्मेदवारले सार्वजनिक गरेका घोषणा पत्र र एजेण्डाहरू अध्ययन गरिरहेका छन् । एजेण्डालाई प्राथमिकता नदिँदा गाउँको विकास नभएको भन्दै उनीहरूले अब विकास एजेण्डाहरूको आधारमा मत दिनुपर्ने बताएका छन् । यस्तै चुनाव भए देशमा विकास निर्माणको कामले गति लिने र राजनीतिक स्थिरता कायम हुने उनीहरूको विश्वास रहेको छ । निर्वाचनपछि रोजगारीका लागि विदेश पलायन हुनुपर्ने बाध्यता पनि टर्ने नयाँ पुस्ताले अपेक्षा गरेको छ ।
साझा बिसौनी संवाददाता ।