कांग्रेसको वीरेन्द्रनगर जित्ने दाउ, मन्त्री र केन्द्रीय नेता भोट माग्दै
सुर्खेत, २५ वैशाख ।
सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानी केही दिनदेखि वीरेन्द्रनगरमा छन् । वीरेन्द्रनगरमा कुनै औपचारिक कार्यक्रम नभए पनि वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि उनी वीरेन्द्रनगरमा बसेका हुन् । यसअघि जिल्लामा नेपाली कांग्रेसका उम्मेदवारहरूको टुङ्गो लगाउन वैशाख दोस्रो साता सुर्खेत आएका उनी काठमाडौं पुगेर लगत्तै गृहजिल्ला फर्किएका छन् । यतिबेला उनी कांग्रेसका उम्मेदवारहरूको पक्षमा भोट माग्न व्यस्त छन् ।
निर्वाचन आचारसंहिता अनुसार मन्त्रीहरूले पार्टीको चुनावी प्रचार–प्रसारमा सहभागी हुन नपाइने भए पनि थानी भने चुनावी कार्यक्रममा सहभागी हुँदै आएका छन् । सोमवार मात्र वीरेन्द्रनगरमा आयोजित चुनावी सभामा उनी विशेष अतिथि बनेर सहभागी भएका थिए । यद्यपि उनले मन्तव्य भने राखेनन् । आमसभालाई सम्बोधन नगरे पनि उनले वीरेन्द्रनगरभित्रका विभिन्न वडा र टोलमा पुगेर उम्मेदवारका पक्षमा भोट मागिरहेका छन् ।
यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसहमहामन्त्री पूर्णबहादुर खड्का पनि यतिबेला गृहजिल्लामै छन् । सोमवार आयोजित वीरेन्द्रनगरको चुनावीसभामा उनी नै प्रमुख अतिथि थिए । खड्कासँगै सुर्खेतकै सांसद खड्गबहादुर बस्याल पनि यतिबेला उम्मेदवारका पक्षमा भोट माग्न व्यस्त छन् । अझ महŒवपूर्ण कुरा त के छ भने अहिले जिल्लास्थित कांग्रेसका सबै केन्द्रीय नेतादेखि मन्त्रीसम्म वीरेन्द्रनगरमा केन्द्रित भएका छन् । प्रदेश नम्बर ६ मा सबैभन्दा बढी चासोका साथ हेरिएको वीरेन्द्रनगर नगरपालिकामा विजय हासिल गर्न नेपाली कांग्रेसका केन्द्रीय नेताहरू नै सक्रिय भएर लागेका छन् ।
प्रदेश ६ को सम्भावित राजधानी वीरेन्द्रनगरलाई पार्टीको प्रतिष्ठासँग जोडेर सबै दलहरू निर्वाचनमा होमिएका बेला नेपाली कांग्रेसले पनि आफ्नो ध्यान वीरेन्द्रनगरमा केन्द्रित गरेको छ । जसरी पनि वीरेन्द्रनगरमा यसपटक आफ्ना उम्मेदवारहरूलाई जिताउन केन्द्रीय नेताहरू पूर्णबहादुर खड्का, हृदयराम थानीसहित सांसद खड्गबहादुर बस्याल लगायतका नेताहरू सक्रिय छन् । उनीहरूले सार्वजनिक आमसभा गर्नेदेखि घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् । सोमवार नेपाली कांग्रेस वीरेन्द्रनगर नगर कार्यसमितिले आयोजना गरेको चुनावीसभामा पनी सबै नेताहरू सहभागी भएर आफ्ना उम्मेदवारको पक्षमा भोट मागेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खड्काले कांग्रेसकै नेतृत्वमा संविधान बनेको र त्यसको कार्यान्वयन अन्तर्गत हुन लागेको स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसले नै नेतृत्व गर्नुपर्ने धारणा राखे । ‘जसले संविधान निर्माण गरेर जनताको हातमा सुम्पियो अब उक्त संविधान कार्यान्वयनको नेतृत्व पनि उसैले मात्र गर्न सक्दछ र त्यो नेतृत्व गर्ने पार्टी नेपाली कांग्रेस हो’ खड्काले भने, ‘कांग्रेसले जनताको भावना र चाहना बुझ्न सक्ने, विकास र समृद्धिका लागि नेतृत्व प्रदान गर्नसक्ने व्यक्तिहरूलाई उम्मेदवार बनाएको छ । उहाँहरूले नै वीरेन्द्रनगरलाई समृद्ध बनाउन सक्नुहुन्छ ।’ उनले मुलुकका हरेक परिवर्तन र उपलब्धिहरूको नेतृत्व कांग्रेसले नै गरेको भन्दै अब विकास र समृद्धिको नेतृत्व पनि कांग्रेसले नै गर्ने बताए । यसका लागि वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरूलाई निर्वाचित गराउन उनले आग्रह समेत गरे ।
वीरेन्द्रनगर नगरपालिकाभित्र भएका विकास निर्माणका काममा पनि कांग्रेसको प्रमुख भूमिका रहेको दाबी गरेका खड्काले अबको स्थानीय निर्वाचनमा विजयी भएमा सुन्दर, समुन्नत र नमुना वीरेन्द्रनगर बनाइदिने उद्घोष गरे । हरेक पटक अवसर पाएर पनि असफल भएका र जनतालाई निराशा मात्रै दिएका कम्युनिष्टहरूलाई भोट दिने या हरेक ठूला आन्दोलन र संघर्षको नेतृत्व गरेर जनतालाई सफलता र उपलब्धि दिलाउने कांग्रेसलाई भोट दिने भन्ने निर्णय बुद्धिमत्तापूर्वक गर्न उनले नागरिकलाई आग्रह गरे । पूर्वगृहमन्त्री समेत रहेका खड्काले नेपालमा हालसम्म जे जति विकास र परिवर्तन भए ती सबै नेपाली कांग्रेसको सरकारको हुँदा भएको दाबी गरे ।
कार्यक्रममा सांसद खड्गबहादुर बस्यालले संविधानसभा दोस्रो निर्वाचनमा जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवारहरूले जिते जस्तै यसपटकको स्थानीय तहको निर्वाचनमा पनि त्यही परिणाम दोहोरिने दाबी गरे । नेपाली कांग्रेसले सबै स्थानीय तहमा योग्य र क्षमतावान व्यक्तिहरूलाई उम्मेदवार बनाएको भन्दै जीत सुनिश्चित भइसकेको दाबी समेत दोहो¥याए । नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले वीरेन्द्रनगरमा पछिल्लो समय कांग्रेसप्रति जनलहर उर्लिएको जिकिर गरे । उनले अरुले दलहरूले झुटा आश्वासन बाँडेको भन्दै उनले त्यसलाई विश्वास नगर्न अपिल गरे ।
वीरेन्द्रनगर नगरपालिकाका मेयरका उम्मेदवार देवकुमार सुवेदीले प्रदेश नम्बर ६ को राजधानीको रूपमा प्रस्तावित सहर वीरेन्द्रनगरलाई भौतिक पूर्वाधारले सक्षम बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले यहाँको सुकुम्बासी समस्या समाधान गर्नेदेखि लिएर प्राकृतिक स्रोत व्यवस्थापन, पर्यटनको विकास, कृषि तथा पशुपालनको आधुनिकीकरण लगायतका आफ्ना योजना प्रस्तुत गरे । उपमेयरकी उम्मेदवार जानकी सिंहले महिला, दलित, आदिवासी जनजाति लगायत सम्पूर्ण नागरिकको अधिकार स्थापित गर्ने पार्टी नेपाली कांग्रेस भएकाले कांग्रेसका उम्मेदवारहरूलाई मतदात गर्न आग्रह गरिन् । उनले महिलामाथि हुने हिंसा र असमानताको अन्त्य गर्दै वीरेन्द्रनगरलाई समद्ध बनाउने काममा आफूले नेतृत्व प्रदान गर्ने प्रतिबद्धता जनाइन् । कार्यक्रममा नेपाली कांग्रेस सुर्खेतका पूर्व सभापतिद्वय गोविन्दबहादुर मल्ल, डम्मर जिसी, नेपाली कांग्रेस क्षेत्रीय नम्बर २ का क्षेत्रीय सभापति नारायण कोइराला लगायतले भनाइ राखेका थिए । स्थानीय पिपलचौतारामा आमसभा गर्नुअघि वीरेन्द्रनगर बजारमा र्याली निकालिएको थियो ।
साझा बिसौनी संवाददाता ।