समीक्षा

भक्तिधाराका वरिष्ठ कवि काशीनाथ योगी

सुर्खेती साहित्याकाशमा कविवर काशीनाथ योगीको (जन्म १९९० चैत १२ तथा निधन २०८१ असार ५ गते) योगदान विशिष्ट प्रकारको छ । यिनको दीर्घ काव्य साधनालाई समग्रमा मूल्याङ्कन गरियो भने भक्तिधाराको स्थान सर्वोपरि छ र त्यसअन्तरगत पनि राम भक्तिधाराको प्रवर्धनमा नै यिनको सम्पूर्ण काव्य साहित्य केन्द्रीत रहेको पाइन्छ । भक्तिधाराका सन्दर्भमा यत्तिको समकालीन सुर्खेती साहित्यमा दीर्घ साधक सायदै होलान् । अतः यसरी यिनले आफ्नो जीवनभर रामभक्तिधारालाई विकास गर्ने क्रममा नेतृत्त्वकर्ताको रूपमा अगुवाई गरे र अन्ततः एकानब्बे वर्षको उमेरमा गत असार ५ गते सदाका लागि यस संसारबाट विदा भए । यस समीक्षामा उनको यहीँ काव्य साधनाको योगदानमाथि चर्चा र मूल्याङ्कन गर्ने प्रयास गरिएको छ ।

कविवर काशीनाथ योगीको प्रमुख पेसा न्याय सम्पादन भए पनि त्यस क्षेत्रमा भन्दा साहित्य सिर्जनामा नै यिनी केन्द्रीत भएको कुरा हामीले करिब साढे तीन दशकको संगतबाट थाहा पाएका छौँ । जीवनपर्यत्न आफ्ना नवोदित प्रतिभाहरूलाई स्नेहपूर्ण ढाडस दिने र सबैलाई सम्मानपूर्वक लेखन क्षेत्रमा फल्न, फुल्न र फक्रिन मलजल गर्ने कार्यमा यिनले पु¥याएको योगदान हाम्रा लागि फलिभूत सावित भएको छ । त्यस अर्थमा भन्नुपर्दा यी वरिष्ठ कवि समकालीन सुर्खेती साहित्यका लागि सबैका गुरू हुन् र हाम्रो सम्बन्ध गुरूशिष्यको रूपमा स्थापित छ । तसर्थ म यी महान् साधनलाई हृदयदेखि अभिनन्दन गर्दछु ।

नेपाली साहित्यमा राम भक्तिधाराको प्रवर्धनमा आदिकवि भानुभक्त आचार्यले पुर्‍याएको योगदान अद्वितीय नै छ । अतः त्यहीँ धारालाई विभिन्न कविहरूले समय–समयमा माथि उठाउने चेष्टा गरेका छन् र सुर्खेतमा त्यसको प्रभाव विस्तारमा कविवर काशीनाथ योगी प्रमुख हस्ती बनेका छन् भन्ने कुरामा कसैको दुईमत छैन । यस धारालाई अन्य कतिपय भजनमण्डलीहरूले पूजाआजा र धार्मिक अनुष्ठानहरूमा गायन कलाका माध्यमबाट पनि अगाडि बढाएको हामी पाउँछौँ ।

रामचरित्रका गीतिमय गाथा गाएर रातभर जाग्राम बस्ने भजनमण्डलीहरूले पनि राम भक्तिधारालाई अगाडि बढाइरहेका छन् र त्यसप्रकारका गीतिमय श्लोकहरू रामायणका विभिन्न अध्यायहरूमा पाइने दुःखान्तीय परिघटनाहरूलाई जोडेर निर्माण गरिएको पाइन्छ । आदर्श राजा रामको करूण गाथा गाएर भजन सुनाउनेहरूको आफ्नै शैली र पहिचान त छँदैछ तथापि यी सबैको केन्द्रीय प्रतिभाको श्रेणीमा काशीनाथ योगीको नाम निर्वादरूपमा आउने गर्दछ । यी कविले हरेक साहित्यिक गोष्ठी, जमघट तथा सभा, समारोहहरूमा आफ्ना यिनै सुन्दर र विशिष्ट कविताहरूलाई श्लोकवद्ध गर्दै शार्दूलविक्रीडित छन्दमा गायन गर्दै नवोदित प्रतिभाहरूलाई आफ्नो शिल्पशैलीका माध्यमबाट प्रभावित गर्थे र सबैबाट अभिभावकीय सम्मान पाउँथे । कहिलेकाहीँ कुनै जमघटमा यिनका कविताको विशिष्टताको हामीले बखान गथ्र्यौं । यिनका अघिपछि प्रशंसा गथ्र्यौं र यिनको उपस्थितिको आदर गथ्र्यौं । यसरी झन्डै साढे तीन दशकको गुरूशिष्य सम्बन्धको यो कवि समुदायमा थुप्रै प्रतिभाहरू आए गए तर स्थायित्व र दीर्घ साधकका रूपमा स्थापित कवि काशीनाथ योगी समकालीन सुर्खेती साहित्यका कोशेढुङ्गा नै हुन् । हामीले यिनको आलोचना गरे पनि यिनको गाथा गाए पनि सुरूवात यिनैबाट गर्नुपर्ने हुन्छ । त्यसकारण यिनी हाम्रो सुर्खेती कवि समुदायका भीष्म पितामह नै हुन्, सबैभन्दा ज्येष्ठ हुन् र हामी यिनका चेलाचपेटाहरू नै हौँ ।

सुर्खेती साहित्यमा प्रगतिशील साहित्यधारा सबैभन्दा सक्रिय र विकसित धारा हो । त्यसका तुलनामा अन्य धाराहरू कमजोर र यदाकदा देखापर्ने साहित्यिक धाराका रूपमा छन् । हालका केही वर्षहरूमा गजल साहित्यले निकै ठूलो जमघट र साहित्यिक वाहावाही पाए पनि त्यो विधा अझैसम्म विशिष्ट पहिचानका रूपमा स्थापित हुन सकेको छैन । यसो भनिरहँदा के कुरा बिर्सन हुँदैन भने परम्परागतरूपमा चलिरहेका धाराहरूमध्ये भक्तिधाराको स्थान कमजोर छैन, यसका मूल्यमान्यताहरूमा अझैंसम्म पनि डगमगाहट देखिँदैन र विचारमा सुस्पष्टता कायमै छ । त्यसरी भक्तिधारालाई अद्यावधिक गर्ने र आफ्नो वैचारिक धारालाई गुम्नबाट जोगाउने सन्दर्भमा कविवर काशीनाथ योगीकै देन प्रमुख मानिन्छ । यिनका समवयी अर्का कवि हरिभक्त गिरी जसले कृष्ण भक्तिधारालाई स्थापित गर्ने काममा निकै ठूलो योगदान पु¥याए र भन्डै एक दशक अघि यस संसारबाट विदा भए । यी दुवै कविहरू समकालीन सुर्खेती भक्तिधाराका सन्त ज्ञानदिलदासका उत्तरवर्ती अवदान हुन् । हरिभक्त गिरीको विशिष्टता केही लोकछन्द एवम् सुरिलो स्वरकिन्नरीको गीतिमय गाथाले महिमामण्डित गर्नुमा छ भने यिनका कवितामा शान्त र करुण रस प्रधानरूपमा मुखरित भएको छ । तर दुवै कविको मूल तŒव अध्यात्मवाद हो र दुवैको साहित्य सधुक्कडी साहित्य हो । यी दुवै कविहरू मेरा निम्ति प्रेरणाको स्रोत, निकटस्थ र अन्तरङ्ग पनि पाएको छु, तसर्थ दुवैप्रति मेरो सदैव उच्चादरभाव नै रहेको छ ।

कवि काशीनाथ योगीले चालीसको दशकदेखि आफ्नो काव्य साधनामा राम भक्तिधारालाई परिष्कारपूर्ण शिल्पशैलीमा ढाल्दै र गाल्दै निकै उत्कृष्ट काव्यकृतिहरू दिएका छन् । उनले रामगाथाका अनेकौँ उक्तिसूक्ति र भाववन्दनाहरूलाई आफ्नै मौलिक शैलीमा भावान्तरण गर्दै रामलीलाका करूण कथाहरूको सुन्दर गायन गरेका छन् । कुनै–कुनै कविताहरू भने पृथक र सामाजिकसन्दर्भसँग मेल खाने भएता पनि ती कविताका प्रसंगहरुमा रामचरित्रलाई सादृश्यकरण गर्नु कवि काशीनाथ योगीको मुख्य विशेषता हो । यसरी पनि उनले राम भक्तिधाराको यशोगान गरेको हामी पाउँछौँ । मानिसका व्यक्तिगत झैंझगडा, लेनदेन र मनमुटावका पक्ष–विपक्षमा बाझिने विचार वा भावहरूलाई संयोजन गरेर त्यसमा अध्यात्मवादको रङ्ग भर्नु यिनका कविताको अर्को महत्त्वपूर्ण विशेषता हो । सायद यस्ता सामाजिक विषयसँग जोडिएका विचारहरू उनको न्यायसम्पादन पेसासँगको उठबसबाट कवितामा संक्रमण भएका पनि हुनसक्छन् किनकि उनको दैनिकी नै न्याय सम्पादनको क्षेत्रमा आधारित थियो ।

फलस्वरूप तिनै सामाजिक लेनदेन, झैँझगडा, बाधाअड्चनआदि विषयहरूले कवितामा प्रवेश पाएका हुन सक्छन् । सामाजिक जीवनको उतारचढावपूर्ण अवस्थालाई न्यायसम्पादन गर्ने व्यक्तिले अवश्य पनि नजिकैबाट नियालेको हुन्छ र ती विषय, परिवेश र घटनाक्रमहरू आफ्ना सिर्जनामा मुखरित भएका हुन्छन् भन्ने कुराको गतिलो उदाहरण कथाकार गुरूप्रसाद मैनालीका कथाहरूबाट पनि बोध गर्न सकिन्छ । कथाकार मैनाली आधुनिक नेपाली कथाका प्रवर्धक मात्रै हैनन् शैलीशिल्पको बुनोटका दृष्टिले पनि निकै सफल एवम् यशस्वी कथाकार हुन् । मैनालीको न्याय सम्पादन क्षेत्रको लामो अनुभवले नै उनलाई सामाजिक विषयहरू बुझ्नमा ठूलो मद्दत गरेको थियो भन्ने कुरा समालोचकहरूले औंल्याएको पाइन्छ । यसरी कविले अपनाएको पेसा, व्यवसाय एवम् सामाजिक जीवनका अनुभवको प्रभावले नै उसलाई कुन दृष्टिकोण प्रदान गर्ने भन्ने कुरा एकहदसम्म निर्धारण गर्न सक्दछ भन्ने कुरामा कवि काशीनाथ योगीमा पनि लागू भएको छ । धर्म, संस्कृति, धार्मिक क्रियाकलाप र त्यसप्रतिको सामिप्यताले यिनलाई आफ्नो युगको यथार्थतासँग नजिक्याएको एवम् त्यसमै पूर्णरूपमा समर्पित गराएको तथ्य उनका कविताहरूबाट प्रतिबिम्बित भएको पाइन्छ ।

नेपाली साहित्यमा प्राथमिककालको उत्तरार्धदेखि सुरू भएको राम भक्तिधारासँग केवल आदिकवि भानुभक्त आचार्यको मात्रै प्रतिभा जोडिदैन अपितु त्यसपछि देखा परेका मूर्धन्य स्रष्टा लेखनाथ पौड्यालमा पनि यो भावधारा निकै सशक्तरूपमा देखापरेको हामी पाउँछौँ । भक्तिधाराका दुईवटा धाराहरू सगुण भक्तिधारा र निर्गुण भक्तिधारामध्ये, सगुण भक्तिधारामा पनि राम भक्तिधारालाई प्रवर्धन गर्ने क्रममा कवि सुन्दरानन्द बाँडाले नै रामायणको प्रथम लेखन गरेकाले उनी यस धाराका प्रथम कवि नै हुन् भन्ने कुरामा कसैको दुईमत छैन । त्यसपछिका कविहरूमध्ये आदिकवि भानुभक्त आचार्य नै राम भक्तिधाराका सर्वश्रेष्ठ कवि बन्न सफल भए र त्यहीँ धारालाई निरन्तरता दिने काम काशीनाथ योगीजस्ता पाका एवम् सिद्धहस्त कविहरूले गरे भन्ने कुरामा कुनै शंका रहँदैन । यदाकदा कृष्ण भक्तिधाराका विरलै कविताहरू पनि यी कविले नलेखेका हैनन् तर त्यसमा यिनको लामो समयसम्म निरन्तररूपमा कलम चलेको पाइँदैन । प्राथमिककालीन कृष्ण भक्तिधाराका प्रसिद्ध कविहरू विद्यारण्य केशरी, वीरशाली पन्त, पतञ्जली गजुर्‍याल, इन्दीरस, वसन्त लुइँटेलआदिका गोपिका स्तृति, द्रौपदी स्तृति, श्रीकृष्ण चरित्र र समुन्द्रलहरी, गीतगोविन्दजस्ता केही महŒवपूर्ण काव्यकृतिहरू यसधाराका महŒवपूर्ण उपलब्धि हुन् भन्ने कुरा स्पष्ट नै छ ।

कृष्ण भक्तिधारामा जति विविधता र व्यापकता पाइन्छ, राम भक्तिधारामा भने त्यसको ठीक विपरित राम भक्तिको एकरसता नै बढी पाइन्छ । राम चरित्रमा पाइने वीरता, धीरता, बल, पराक्रम, करुणा, भावुकता, न्यायशील चरित्र एवम् कर्तव्यपरायणताजस्ता सर्वोपरि मानवीय गुणहरूलाई भावगांगेयमा समायोजन गर्नु र पाठकहरूलाई द्रवीभूत गर्नसक्नु यसधाराका मुख्य विशेषता हुन् । सरल, सरस एवम् सम्प्रेषणीय शैलीमा यिनले खुबै राम्रा कविताहरू सिर्जना गरेका छन् । भानुभक्तीय रामायणकालीन भाषाको प्रयोग जसमा; आया, खाया, गया, याहीँ, त्याहिँ, मर्जी भयो, हजुरका चरणमा, श्रीरामजीका करकमलमा, भयाथ्यो, गर्‍याथ्यो, आयाथ्यो, खायाथ्योजस्ता अन्तुकान्तमय शैलीको प्रयोग गरेर प्राथमिककालीन नेपाली भाषालाई आफ्ना कवितामा जीवन प्रदान गरेका छन् ।

यिनले वर्णनात्मक शैलीमा सुन्दर व्याख्यासहित विषय परिवेशलाई चित्रमय ढङ्गले सुस्पष्टरूपमा बुझिने गरी छन्दमय गेयात्मकतामा आधारित कविताहरू लेखेका छन् अपितु ती सबै कविताहरू आद्योपान्तरूपमा छन्दभङ्गको दोषबाट भने मुक्त भएका छैनन् । यसका साथै कवि काशीनाथ योगीका कवितामा यी विशेषताहरू विद्यमान छन् र उनले सिर्जेका काव्यकृतिमा ‘राम सकल गुण धाम’ भन्ने भावलाई मुखरित गरेका छन् । यदाकदा यी कविले निर्गुण भक्तिधारामा पनि कविता सिर्जना गरेका छन् । निर्गुण भक्तिधाराअन्तरगत ईश्वरीय चेतनाले जागृत तर निराकार, अलौकिक, अमूर्त, अदृश्यजस्ता विषयले कवितामा स्थान पाएको हुन्छ र त्यसमा ईश्वरको कुनै अंश दृश्यगोचर हुँदैन । यस्ता खालका कविता पनि कवि काशीनाथ योगीले लेखेका छन् तर न्युनरूपमा मात्रै छन् । यसरी उनले सधुक्कडी साहित्य, भजनमय गीतिगान, ईश्वरको निराकार स्वरूपको स्तुति, पुराण, धर्मशास्त्र, अध्यात्म दर्शन आदिको सुन्दर र कलात्मक प्रस्तुति गरेर धार्मिक भावनालाई सविस्तार गर्ने प्रचारात्मक अभियानको अगुवाइ गर्ने काम पनि गरेका छन् ।

अगमदिल दासको सोह्र निर्गुण कविता, अखण्डदिल दासको पाँच निर्गुण भजन र ज्ञानदिल दासको उदयलहरी निर्गुण भक्तिधाराको काव्य प्रवर्धनमा कोशेढुङ्गा नै हुन् । अतः यहीँ धारालाई मझौला आयामसम्म रचित कविताहरूका माध्यमबाट कवि काशीनाथ योगीले पनि अगाडि बढाउन योगदान पुर्‍याएका छन् । यसरी भन्नुपर्दा कवि काशीनाथ योगीका कविताहरू मूलतः राम भक्तिधारामा आधारित भए पनि केही छिटफुट रचनाहरू कृष्ण भक्तिधारा तथा निर्गुण भक्तिधारासँग सादृश्य भएका पनि पाइन्छन् तर उनका सबै कविताको विस्तृत आयामलाई मूल्याङ्कन गर्नका लागि भने उनका अनुयायीहरूले छरिएका फुटकर कविताहरूलाई प्रकाशन गरे पश्चात नै सम्भव हुनेछ । मैले यो लेखमा सामान्यतः उनका कविताको शैलीशिल्प, भावभूमि, वैचारिक आधार, दार्शनिक पक्ष, जीवनदर्शन तथा परिवेशगत विशेषताको सामान्य चर्चा मात्रै गर्ने कोशिस गरेको छु । यति कुरा चाहिँ सत्य हो कि उनले लेखेका, गायन गरेका एवम् मेरो मानसपटलमा स्मृतिस्वरूप रहेका विषयवस्तुको सीमासम्म पुगेर मात्रै मैले आफ्नो धारणा बनाएको छु । अतः यसरी कवि काशीनाथ योगीका अनुयायीहरूले उनका रचनाहरूको संकलन गरेर त्यसको प्रकाशन गर्न सकेको खण्डमा भने निसन्देह नै त्यसले मूल्याङ्कनको विस्तृत अवसर प्रदान गर्नेछ भन्ने कुरामा कसैको दुईमत छैन । कविले राष्ट्रिय जागरणका प्रतीक योगी नरहरिनाथ शीर्षकको निकै गहन कृतिको लेखन तथा प्रकाशन पनि गरेका छन् तर त्यो काव्यकृतिको रूपमा नभएर योगी नरहरिनाथको जीवनी, व्यक्तित्व र कृतित्वलाई प्रकाश पार्ने जीवनीमूलक कृतिको रूपमा प्रकाशित भएको छ । यसबाहेक स्थानीय पत्रपत्रिका तथा साहित्यिक प्रकाशनहरूमा पनि यिनका फुटकर कविताहरू प्रकाशन भएका छन् ।

दैलेखको गमौडी, वेदोग्राममा नाथ सम्प्रदायमा जन्मेका यी कविले जीवनको त्रितीयाङ्श समय सुर्खेतमा बसेर काव्यसिर्जना तथा न्यायसम्पादनमा व्यथित गर्दैगर्दा एक्कासि यिनलाई पत्नी वियोगको बज्रपात आइप¥यो । अतः त्यसप्रकारको वियोगले धेरै नै आघात पु¥याउनुका साथै बाँच्ने जिजिविषा क्षीर्ण हुँदै गयो र अन्ततः शताब्दी आयुको दशकमा प्रवेशसँगसँगै एकानब्बे वर्षको उमेरमा २०८१ साल असार ५ गते यिनी संसारबाट सदाका लागि विदा भए । अन्तमा म यी सुर्खेती साहित्यका सर्वमान्य एवम् सबैका पितामह, काव्यकलाका महान् एवम् विशिष्ट स्रष्टाप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु ।

२०८१ माघ २ सुर्खेत

प्रकाशित मितिः   ५ माघ २०८१, शनिबार ०६:०४