बाह्य स्रोत जुटाएर पूर्वाधार निर्माण
सुर्खेत: आन्तरिक स्रोत कमजोर रहेका स्थानीय सरकारले बाह्य लगानी जुटाएर पूर्वाधार निर्माणलाई अघि बढाउन थालेका छन् । जनचाहनाअनुसारका पूर्वाधार विकासका लागि पालिकाहरूले लगानीको खोजी र परिचालन गर्न थालेका हुन् ।
वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्षमा ठूला पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । यो वर्षमा चार अर्बभन्दा बढी बाह्य लगानी जुटाएर पूर्वाधार निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले यो वर्ष बहुचर्चित भेरी पम्पिङ आयोजनाको निर्माण थालेको छ । भेरी नदीको पानी पम्पिङ गरेर वीरेन्द्रनगर उपत्यकामा ल्याउने यो आयोजना लामो समयपछि कार्यान्वयनमा आएको हो । आयोजना सम्पन्न गर्न संघीय सरकारले ८० प्रतिशत र प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले २० प्रतिशत लगानी जुटाउनुपर्ने छ । उक्त आयोजना सम्पन्न गर्न तीन अर्ब ५० करोड आठ लाख १५ हजार रूपैयाँ लागत लाग्ने छ ।
नगरपालिकाको आफ्नै विकास बजेट भने न्यून छ । चालु आर्थिक वर्षमा नगरपालिकाको विकास बजेट ८३ करोड मात्र रहेको छ । नगरपालिकाले यो वर्ष चार अर्ब हाराहारीमा बाह्य लगानी जुटाएको छ । एक दर्जनभन्दा धेरै ठूला आयोजना बाह्य लगानी जुटाएर निर्माण थालिएको नगरप्रमुख मोहनमाया ढकालले बताइन् । उनका अनुसार यो वर्ष ठूला आयोजना निर्माण थालिएको छ । ढकालले भनिन्, ‘दिर्घकालीन योजना अनुरूप पूर्वाधार निर्माण थालेका छौँ, आयोजना निर्माण गर्नका लागि आवश्यक बजेट जुटेको छ, पूर्वाधारमा उल्लेखनिय उपलब्धि हासिल गर्ने नगरपालिकाको योजना छ ।’
स्थानीय तहहरूको आन्तरिक आम्दानी न्यून छ । पुँजीगत बजेट पनि कम हुँदा विकास निर्माणका कामलाई अघि बढाउन समस्या हुनेगरेको हो । तर स्थानीय तहहरूले बाह्य लगानी जुटाएर विकास निर्माणका काम अघि बढाएका छन् । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाले चालु आर्थिक वर्षमा दुई अर्ब ४० करोड हाराहारीमा बाह्य लगानी जुटाएको छ । नगरपालिकाको आफ्नै वार्षिक विकास बजेट न्यून छ । पालिकाको चालु आर्थिक वर्ष २०८१÷०८२ को विकास बजेट २२ करोड हो । अघिल्लो वर्षभन्दा विकास बजेट घटेको छ । गत आर्थिक वर्षमा ३० करोड विकास बजेट थियो । विकास निर्माणका काम बाह्य लगानीका भरमै गर्नुपरेको गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले बताए । हरेक वर्ष कुनै न कुनै निकायबाट गरी गुर्भाकोट नगरपालिकाले अर्बौ बजेट जुटाएर विकासमा खर्चने गरेको छ । नगरले आवश्यकताका आधारमा उक्त बजेट परिचालन गर्दै आएको हो । बाह्य स्रोतबाट आउने सहयोगलाई भौतिक पूर्वाधार, सडक, भवन निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी र कृषिमा लगानी गरिरहेको नगर प्रमुख पुनले जानकारी दिए । गुर्भाकोट नगरपालिकाले प्रदेश र संघीय सरकार तथा गैरसरकारी संस्थाहरूसँग विकासका लागि साझेदारी गर्ने प्रस्ताव गर्दै स्रोतको जोहो गर्ने गरेको उनले बताए ।
यस्तै गुर्भाकोट नगरपालिका वडा नं. ८, १० र १२ नम्बर वडा जोड्ने पुल निर्माण गर्न लागिएको छ । पुल निर्माणको चर्चा चलेको लामो समयपछि कार्यान्वयनमा लगिएको हो । दुई वर्षअघि नै पुल निर्माणका लागि डीपीआर तयार पारिएको थियो । स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुर्खेतले पुल निर्माणको डीपीआर तयार पारेको हो । डीपीआरअनुसार ३० करोड ९० लाख ७० हजार लागत अनुमान रहेको छ । ठेक्का सम्झौता भइ पुल निर्माण प्रक्रिया अघि बढेको नगरपालिकाले जनाएको छ । २०८१ असार ३ गते पुल निर्माणको ठेक्का सम्झौता गरिएको थियो । सम्झौताअनुसार २०८३ असार १० गते पुल निर्माण कार्य सम्पन्न गर्नुपर्नेछ । २१ करोड १९ लाखमा पुल निर्माणको सम्झौता भएको नगरप्रमुख पुनले बताए । ठेक्का सम्झौता गरेर निर्माणको काम अघि बढाइएको हो ।
सुर्खेतका अधिकांश पालिकाले बाह्य लगानी जुटाएर पुर्वाधार निर्माण गर्ने गरेका छन् । प्रि–फिजिविलिटी अध्ययनका आधारमा मात्र काम गर्ने पालिकाहरूले प्रतिवद्धता जनाएका छन् । सोही अनुरूप पूर्वाधार निर्माण गर्दा दिगो र आवश्यकताका आधारमा हुने जनाइएको छ ।
प्रकाशित मितिः ४ माघ २०८१, शुक्रबार १०:३२
साझा बिसौनी ।