निर्माणमा ढिलाइ

मदन भण्डारी राजमार्गअन्तर्गत पश्चिम सुर्खेतको बड्डीचौर–खम्बागाडे सडक खण्डको काम सुस्त गतिमा भइरहेको छ । हालसम्म २२ प्रतिशत भौतिक प्रगति भएको छ । वित्तीय प्रगति २० प्रगति भएको छ । उक्त सडक खण्डको साढे १२ किलोमिटरमा सडक निर्माणको काम भइरहेको हो । यो सडक खण्डका लागि प्रदेश सरकारले ४२ करोड बजेट विनियोजन गरेको छ । अनक जयदेवी जेभी बाँकेले ४२ करोड ४७ लाख ६१ हजार रूपैयाँमा प्रदेश सरकारको पूर्वाधार विकास निर्देशनालयसँग सम्झौता गरेको हो । २०७९ देखि काम सुरु भएको उक्त खण्डमा २०८१ असार १५ गतेसम्म काम सम्पन्न गर्नुपर्ने भएपनि काम अझै अधुरै छ । म्याद थप गरेर निर्माणका काम भइरहेको हो ।

निर्माणको काम भने कछुवा गतिमा भइरहेको छ । निर्माण कम्पनीको लापरबाहीका कारण कामको प्रगति न्यून रहेको छ । पश्चिम सुर्खेतका दुई खण्डमा नयाँ ठेक्का सम्झौता गरेर काम अघि बढाइएको छ । चौकुने गाउँपालिकाको वडा नं. ३ बल्देदेखि वडा नं. २ लगामसम्म र पञ्चपुरी नगरपालिकाको वडा नं. ३ चौरदेखि वडा नं. ९ विद्यापुरसम्म ठेक्का सम्झौता गरिएको हो । दुई खण्डमा गरी २५ किलोमिटर सडक निर्माण गरिने मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतले जनाएको छ । दुई खण्डलाई एउटै प्याकेज गरी सडक निर्माण गर्न लागिएको हो । जसअन्तर्गत बल्देदेखि लगामसम्म १५ किलोमिटर र चौरदेखि विद्यापुरसम्म दश किलोमिटर सडक निर्माण गरिनेछ । ठेक्का सम्झौता भइ सडक निर्माणको काम धमाधम अघि बढेको छ । दिवा यति बिल्डर्स सातदोबाटो ललितपुर र मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतबीच ठेक्का सम्झौता भएको छ । २०८१ भदौ १४ देखि २०८४ भदौ १४ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । एक अर्ब २६ करोड लागतमा २५ किलोमिटर सडक निर्माणको सम्झौता गरिएको हो । यो आयोजना अघि बढेसँगै पश्चिमका तीनै खण्डमा काम सुरु भएको छ ।

यसअघि बड्डीचौर–खम्बागाडे र विद्यापुर–बल्दे सडक खण्ड निर्माणको काम अघि बढाइएको थियो । ४५ किलोमिटरको सडकलाई तीन खण्डमा विभाजन गरेर निर्माण थालिएको छ । विद्यापुर–बल्दे सडक खण्डमा निर्माणको काम धमाधम भइरहेको छ । पश्चिम क्षेत्रका तीन खण्डमध्ये यो तेस्रो खण्ड हो । २२ किलोमिटर सडक खण्ड निर्माणका लागि एक अर्ब २१ करोड रूपैयाँमा काम सम्पन्न गर्नेगरी बानियाँ मोतिदान डि.एस. जेभी काठमाडौंले ठेक्का सम्झौता गरेको छ । सम्झौताअनुसार २०७९ फागुन १७ गतेदेखि सुरु भएको काम २०८२ फागुन १६ गतेसम्म सम्पन्न गरिसक्नुपर्नेछ । उक्त खण्डको भौतिक प्रगति ६० प्रतिशत हासिल भएको छ भने वित्तिय प्रगति ५५ प्रतिशत भएको छ । यो खण्डमा भने काम तिव्र गतिमा भइरहेको छ ।

प्रकाशित मितिः   १ माघ २०८१, मंगलवार ०६:०३