घाँटी रेटेर श्रीमतीको हत्या

सुर्खेत, २४ वैशाख । (साबिस)
पूर्वी सुर्खेतका एक युवाले श्रीमतीको निर्मम हत्या गरेका छन् । लेकवेशी नगरपालिका–६ मुलपानीका भगत वादीले शुक्रवार बिहान हसियाले गर्दन, टाउको र अनुहारमा प्रहार गरी हत्या गरेका हुन् ।
वादीले पारिवारिक झगडा बढ्दै जाँदा आवेगमा आएर श्रीमती रामकली वादीको हत्या गरेको बयान प्रहरीसमक्ष दिएका छन् । श्रीमतीको हत्यापछि उनी आफै प्रहरीमा पुगेका थिए । हत्या स्वीकार गर्दै प्रहरीचौक रानीघाट पुगेका उनलाई पक्राउ गरी प्रहरीले थप अनुसन्धान गरिरहेको छ । उनलाई इलाका प्रहरी कार्यालय छिन्चुमा राखेर मुद्दा चलाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय छिन्चुका असई मुन्नी चौहानले जानकारी दिए ।
जाजरकोटको छेडागाड नगरपालिका–५ स्थायी घर भएका वादी श्रीमती र बालबच्चासहित लेखवेशीस्थित ससुरालीमा बस्दै आएका थिए । रोजगारीका लागि भारत गएको उनी एक महिनाअघि मात्रै घर आएको जनाइएको छ । प्रहरीसमक्ष वादीले बिहीवार रातभर श्रीमान् श्रीमतीबीच झगडा भएको बताएका छन् । झगडा बढ्दै जाँदा बिहान करिब ६ बजे उनले हसिया प्रहार गरी श्रीमतीको हत्या गरेका थिए । उनीहरूको नौं महिना र चार वर्षकी दुई वटी छोरी छन् ।

प्रकाशित मितिः   २५ बैशाख २०७४, सोमबार १५:४३