विवाद यथावत
कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रसारण लाइन विस्तारमा देखिएको विवाद सुल्झिन सकेको छैन । जसले गर्दा आयोजना अघि बढाउन सकस भइरहेको छ । काम अवरुद्ध भएको छ । बाँकेको बैजथानस्थित बस्ती प्रभावित हुने भएपछि त्यहाँका नागरिकले अवरोध सिर्जना गरेका छन् । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार बैजनाथ गाउँपालिकाको वडा नं. १ गाभर र वडा नं. ४ को बानियाँभार हुँदै लाइन विस्तार गर्नुपर्नेछ । तर उक्त लाइन विस्तारले बस्ती र खेतीयोग्य जमिनमा असर पुग्ने भन्दै स्थानीयले विरोध जनाएका छन् । पछिल्लो पटक विवाद समाधान गर्नका लागि प्रदेश तथा संघीय सांसदसमेत प्रभावित क्षेत्रमा पुगेर स्थानीयसँग छलफल गरेका छन् । तर स्थानीयले कुनैपनि हालतमा बस्तीबाट विद्युत विस्तार गर्न नहुँने बताइरहेका छन् ।
विभिन्न समयमा स्थानीयसँग छलफल गरिएता पनि सकारात्मक निश्कर्ष आउन नसकेको आयोजनाले जनाएको छ । सोही विवादकै कारण आयोजनाको काम अघि बढाउन समस्या भएको छ । विवाद समाधानका लागि दुई प्रदेशका सरकार प्रमुख प्रदेश तथा संघीय सांसदसमेत त्यस क्षेत्रमा पुगेको थिए । उक्त विषय थप पेचिलो बन्दै गएको छ । तर आयोजनाको विवाद भने समाधान हुनसकेको छैन । विवादित बाहेक अन्य स्थानको काम करिब अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । विवाद समाधान भए अबको तीन महिनामा काम सम्पन्न गर्न सकिने छ । लाइन विस्तार कार्यको सुरुवात २०७७ असारदेखि गरिएको थियो । हालसम्म आयोजनाको ८० प्रतिशत प्रगति हासिल भएको छ । अझै २० प्रतिशत काम गर्न बाँकी छ । जग्गा र वनका कारण आयोजनाले तोकिएकी मितिमा काम समेत गर्न सकेको छैन । भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले ७० करोड रूपैयाँमा आयोजनाको ठेक्का पाएको हो । विवाद नै विवाद हुँदा आयोजनाले अपेक्षित रूपमा काम गर्न सकेको छैन भने विवाद पनि समाधान हुन सकेको छैन ।
वनको विवाद भने समाधान भएको छ । अहिले रुख कटानको काम धमाधम भइरहेको छ । अहिलेसम्म करिब दुई हजार रुख काटिएको छ । करिब पाँच हजार भन्दा बढी रुख काटिनेछ । एक सय ४८ फाउन्डेशन निर्माण गरिएको छ । अब १३ वटा फाउन्डेशन निर्माण गर्नुपर्ने हुन्छ । उक्त विवादित क्षेत्रमा उक्त फाउन्डेशन निर्माण गरिनेछ । हालसम्म ३६ किलोमिटर तार तान्ने काम सकिएको छ । सुर्खेतको सुब्बाकुनामा सव–स्टेशन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । हालसम्म ९० प्रतिशत निर्माणको काम सकिएको छ । १३२ केभी प्रशारण लाइन सम्पन्न नहुँदा कर्णाली प्रदेशमा विद्युतको समस्या हुँदै आएको छ ।
प्रकाशित मितिः २८ पुष २०८१, आईतवार ०६:०३
सम्पादकीय ।