श्यामप्रसाद शर्माः मेरो स्मृतिमा

वरिष्ठ प्रगतिवादी साहित्यकार श्यामप्रसाद शर्माको ८८ वर्षको उमेरमा (वि.सं. १९८६–२०७४ वैशाख २४) काठमाडौंस्थित आफ्नै निवासमा आइतवार बिहान ४ः०० बजे निधन भएको छ । यी महान् स्रष्टा वि.सं. २००९ सालमा स्थापित प्रगतिशील लेखक संघ, नेपालको संस्थापक अध्यक्ष हुन् र आजबाट उनले जीवनको अस्ताचलमा पुगेर सदाका लागि विदा लिएका छन् र अब हामी माझ उनको सम्झनामात्र जीवित रहेको छ । यी महान् सादगी चिन्तक, समालोचक, निबन्धकार, राजनीतिज्ञ एवम् माक्र्सवादी सौन्दर्यशास्त्रीको निधनले हमी सबैलाई मर्माहत बनाएको छ र म आज बिहानैदेखि बेचैनी महसुस गरिरहेको छु ।
उनी मूलतः निबन्धकार हुन् । तँ, तिमी, तपाईं हजुरजस्ता अद्वितीय निबन्धले उनलाई भाषा विज्ञानभित्र पनि वर्गीयता छ भन्ने कुरा सोच्न बाध्य बनायो र उनले वर्गीय समाजको चित्रण गर्ने सन्दर्भमा भाषा पनि अछुतो छैन अपितु वर्गीयताबाट निर्देशित छ भन्ने धारणा सार्वजनिक गरे, जुन आजपर्यन्त पनि उत्तिकै चर्चित र अद्वितीय मानिन्छ । यसैगरी बहिनीलाई चिठ्ठी, आइमाई साथी, एक घण्टा बिताउन जस्ता निबन्धले पनि उनलाई निकै प्रख्याती दिलाए र उनी प्रगतिवादी शिविरको मूर्धन्य स्रष्टाका रूपमा स्थापित बन्न पुगे । उनी प्रगतिवादी साहित्य शिविरभित्र सर्वमान्य व्यक्तित्वले गणना गरिन्थे र सादगीपनका लागि उनी हाम्रो युगका सबैभन्दा अग्लो कदका ज्यूँदा मानव स्मारक थिए ।
श्यामप्रसाद शर्मा राणाशासनको विरोधमा सत्याग्रह गर्ने र जेलभित्र पनि संघर्ष गर्ने व्यक्तित्व हुन् । उनले काठमाडौंस्थित सेन्टर जेलमा छँदा ‘जेल डायरी’ लेखे र त्यसमा उनले गोपालप्रसाद रिमाललगायतसँग मिलेर आन्दोलन गरेको तथ्य उजागर गरेका छन् । ‘बौलाहा रिमाल’ निबन्धमा उनले गोपालप्रसाद रिमाललाई सच्चा देशभक्त, क्रान्तिकारी एवम् गणतन्त्रवादीको संज्ञा दिएका छन् । वि.सं. २००३ सालदेखि राणाविरोधी आन्दोलनमा सक्रिय श्यामप्रसाद शर्माले नेपाल कम्युनिष्ट पार्टीको स्थापना पश्चात् पुष्पलाल श्रेष्ठसँग पनि मिलेर धेरै लामो समय काम गरेका थिए । वि.सं. २००९ सालमा गोकुल जोशी, युद्धप्रसाद मिश्र, तारानाथ शर्मालगायतसँग मिलेर प्रगतिशील लेखक संघ, नेपालको स्थापना पनि गरे । त्यसै सालदेखि उनले नेपालमा विश्व मजदुर दिवस (मे दिवस) मनाउने परम्पराको थालनी पनि गरे । त्यसबेला श्यामप्रसाद ‘प्रगति’ नामको पत्रिका प्रकाशन गर्थे र त्यसलाई स्वयम् हकरका रूपमा घरघरमा पुगेर बिक्री गर्ने काम पनि गर्थे । आफै सम्पादक र आफै हकरको दर्जा पाउने पहिलो पत्रकारसमेत श्यामप्रसाद शर्मा हुन्भन्दा अत्युक्ति नहोला ।
श्यामप्रसाद शर्मा पञ्चायत कालमा लामो समय (लगभग २३÷२४ वर्ष) भूमिगत जीवन बिताउन बाध्य भए । त्यतिबेला उनी नेपाल कम्युनिष्ट पार्टी (अति गोप्यतावादी) को प्रमुख समेत थिए । गोविन्द भट्ट, श्यामप्रसाद, जनकप्रसाद हुमागाईं, कुलमानसिंह भण्डारीलगायतका वरिष्ठ साहित्यकार एवम् समालोचक–चिन्तकहरूको एउटा संगठनको नेता भएका उनी जनताका काममा अहोरात्र खटिए र २०४६ सालमा बहुदलीय व्यवस्थाको पुनस्र्थापनापश्चात् उनी सार्वजनिक जीवनमा आए । भूमिगत अवस्थामा छँदा उनले अनेकौं छद्म नामबाट पनि आफूलाई सक्रिय बनाइरहे । विमर्श, बेनामी, दर्शन, हरि शर्मा, राम, कृष्णआदि विभिन्न छद्म नामले श्यामप्रसाद सक्रियतापूर्वक पञ्चायती व्यवस्थाको विरोधमा डटेर लागिरहे ।
श्यामप्रसादसँग मेरो पहिलो भेट २०४८ सालमा काठमाडौं चावहिलस्थित मुरारीप्रसाद अर्यालको घरमा भएको हो । अर्याल बामपन्थी बुद्धिजीवी हुन् र उनको घरमा त्यतिबेला प्रगतिशील लेखक संघको कार्यालय थियो । त्यही हाम्रो भेट भयो र पहिलो चिनजानपश्चात् जीवनपर्यत्न एउटा गुरु शिष्य एवम् दाजुभाइको आत्मीय सम्बन्धमा परिणत भयो । उनले मेरो पहिलो कविता संग्रह मुक्ति संघर्ष (२०४९) मा भूमिका लेखेर मलाई धेरै माया, स्नेह र वैचारिक आधार दिने गरी सुझावहरू समेत दिए, त्यसदिनको पहिलो भेट पछि हामी प्रलेसको सम्मेलनको निम्ति सुर्खेत आयौं । श्यामप्रसादलाई सुर्खेत ल्याउने पहिलो श्रेय पनि मैले नै पाएँ, साथीहरू खुशी हुनुभयो र हामीले सम्मेलन ग¥यौं । उहाँको प्रमुख आतिथ्यमा सुर्खेतले लेखक, निबन्धकार एवम् महान् सौन्दर्यशास्त्रीलाई पायो । हामी त्यसपछि पनि २÷३ पटक प्रगतिशील लेखक संघको कार्यक्रमकासन्दर्भमा सुर्खेतमा उहाँलाई निम्त्यायौं । त्यसअर्थमा भन्नुपर्दा सिंगो नेपाली साहित्यले र साथै सुर्खेती साहित्यिक समाजले आफ्नो मार्गदर्शक एवम् अग्रणी अभिभावक गुमाएको छ । यो हाम्रा लागि अपूरणीय क्षति हो ।
श्यामप्रसादले कहिल्यै पनि पुरस्कारका लागि ¥याल चुहाएनन् । सत्ताको तरफदारी गरेनन् । त्यसैले त उनी पञ्चायतकालभरि दुःख पाएर लुकीलुकी हिँड्न बाध्य भए । बहुदलीय व्यवस्थाको पुनरागमनपश्चात् पनि उनी कहिल्यै सत्ताको अगाडि गिडगिडाएनन् तर कतिपयले उनलाई अनावश्यक लान्छना लगाएर मुक्ति पुरस्कारको विवादमा तानेर अपमानितसमेत गरे । त्यतिबेला म आफै पनि प्रगतिशील लेखक संघ, नेपालको केन्द्रीय सदस्य थिएँ र श्यामप्रसाद त्यसको अध्यक्ष थिए । साथीहरूले पुरस्कार या अध्यक्ष पद मध्ये एउटा छाड्नुपर्ने अड्डी लिए, काठमाडौं न्यूरोडस्थित मूल्यांकन मासिकको कार्यालयमा वादविवाद चक्र्यो, मलाईं भने यो विवादमा सकेसम्म भोट गर्ने अवस्था नआइदिए हुन्थ्यो भन्ने लागेको थियो । म भित्रीरूपमा श्यामप्रसादलाई कार्वाही गर्नुहुन्न भन्ने पक्षमा थिएँ भने बाहिर नेकपा (मसाल) को प्रतिनिधि लेखक भएकाले मसम्वद्ध मोर्चाले उनको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो । म बेचैन थिएँ । खगेन्द्र संग्रौला, निनु चापागाईंलगायतले उनको राजीनामा मागेका थिए र त्यसमा नेकपा (एमाले) निकट लेखकहरू खासगरी गोविन्द भट्ट, हाल नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलगायतले उनलाई स–सम्मान विदा गर्नुपर्छ भन्ने मत व्यक्त गरेका थिए । अन्ततः श्यामप्रसादले राजीनामा दिए र उनलाई प्रगतिशील लेखक संघको अध्यक्षबाट हटाइयो । मत व्यक्त गर्नु नपरे हुने थियो भन्ने मेरो भित्री मनसायको सुरक्षित अवतरण भयो । तर मेरो मन कताकता दुःखीरहेको थियो । यो गल्तीलाई हामीले हाम्रा अभिव्यक्तिमा सच्चाउनुपर्छ, प्रगतिशील लेखक संघले यसको सही प्रतिउत्तर दिनु पनि पर्छ । पुरस्कार लिएकै आधारमा कसैको अवमूल्यन गर्नु, मानमर्दन गर्नु साह्रै दरिद्रता हो र म त्यसका लागि तत्कालीन प्रलेसको केन्द्रीय सदस्यका नाताले आत्मालोचना गर्दछु ।
श्यामप्रसादले मलाई पूर्वाञ्चलकी महान् स्रष्टा झमक घिमिरेसँग पनि चिनजान र सुमधुरसम्बन्ध बनाउन मद्दत गर्नुभयो । झमक घिमिरेले मलाई बारम्बार श्यामप्रसाद (ठूलो बाबाको नामले संवोधन गरेको) को महान् व्यक्तित्वमाथि प्रकाश पार्दै पत्राचारसमेत गरेकी थिइन् । कुनै दिन ती पत्रहरू पनि मैले श्यामप्रसादका स्मृतिमा सार्वजनिक गर्नेछु ।
श्यामप्रसाद शर्मालाई नेपाली साहित्यमा मूलतः प्रगतिवादी निबन्धकार, सौन्दर्यशास्त्री एवम् समालोचकका रूपमा चिनिन्छ । उनी मूलतः निबन्धकार हुन् । उनका धर्म संस्कृतिबारेका निबन्ध, राजनीति र समाज तथा श्रमजीवी वर्गका बारेमा अनेकौं ढंगले प्रकाश परिएका निबन्धहरू छन् । त्यसैगरी सौन्र्दशास्त्रीय चिन्तनमा पनि उनी अग्रणी छन् । सांस्कृतिक रूपान्तरणसम्बन्धी चिन्तनहरूले भरिएका उनका अनेकौं वैचारिक लेखहरू पुस्तककारका रूपमा पनि छँदैछन् । सरल, अति सामान्य कुराहरूमा गहकिलो चिन्तन दिनसक्ने श्यामप्रसादको व्यक्तित्व बहुआयामिक छ । जनताका आवाजहरूलाई प्रतिविम्बित गरेका छन् । ‘मेरा गीतहरूः तिम्रा स्वरहरू’ भन्ने गीतिसंग्रह उनको चर्चित कृति हो । यसमा उनले छोटाछोटा गीतहरूको संगालो बनाएका छन् र तिनमा जनताका आवाज, शोषण दमनको विरोध गर्नुका साथै श्रमजीवी वर्गको पक्षपोषण गरेका छन् । यसैगरी लेखक कसरी बन्ने ? र साहित्यसम्बन्धी दुई चार कुरा कृतिमा प्रगतिवादी साहित्यको मूल्यमान्यता र यसका आधारहरूका बारेमा गम्भीर विचार व्यक्त गरेका छन् ।
श्यामप्रसादले विभिन्न समयमा अनेकौं पुरस्कारहरू पनि पाएका छन् । उनले मुक्ति पुरस्कार, रू.१।– को नगद पुरस्कार, महेन्द्र प्रज्ञा पुरस्कार, शंकर लामिछाने निबन्धकारिता पुरस्कारआदि केही पुरस्कारहरू प्राप्त गरेका छन् । यसबाहेक विभिन्न जिल्ला, क्षेत्र र विभिन्न संघ–संस्थाबाट पनि पुरस्कृत तथा सम्मानित भएका छन् । गतवर्ष मात्रै उनी प्रगतिशील लेखक संघको आयोजनामा नागरिक अभिनन्दन समारोहमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट अभिनन्दित भए । उनी कहिल्यै पनि पुरस्कार र सम्मान पाएर घमण्ड गर्ने व्यक्तित्व थिएनन् र त्यसको कहिल्यै प्रचार पनि गरेनन् । आत्म प्रशंसाका भोकाहरूका भीडमा श्यामप्रसाद एउटा एक्लो बृहस्पति हुन् र उनी जीवनपर्यन्त त्यसप्रति लालायित भएनन् तर कसैले पनि भनी हालेपछि नकार्न नसक्ने स्वभावका कारणले नै उनले केही पुरस्कार, सम्मान तथा मानपदवीहरू ग्रहण गरे तर त्यसको दुरूपयोग वा अवमूल्यन हुने काम पनि कहिल्यै गरेनन् । त्यसकारण श्यामप्रसाद हाम्रा निम्ति अति आदरणीय त छँदैछन् साथै–राष्ट्रिय मूलभावका निम्ति अपूरणीय हस्ताक्षर पनि हुन् । श्यामप्रसादले पहिलो पुस्ताका कम्युनिष्ट नेताहरूको पनि सानिध्यतामा रहेर लामो समय काम गरेका थुप्रै उदाहरण छन् । उनले ३० को दकशतिर नेकपा (मसाल) का महामन्त्री क. मोहनविक्रम सिंहसँग पनि निकटस्थ रही वैचारिक आदानप्रसाद गर्दा रहेछन् भन्ने कुराको रहस्य त्यतिबेला मात्र खुल्यो जतिबेला उनले मलाई क. मोहनविक्रम सिंहसँग भेटघाटको चाँजोपाँजो मिलाई दिनुप¥यो भन्दै लामो समयसम्म प्रतीक्षा पनि गरे । मैले धेरै प्रयास गरेपछि २०५४ को गर्मी याममा एकदिन डिल्लीबजारको उकालो जहाँ भूपनारायण आचार्यको प्रगतिशील पुस्तक पसल थियो, त्यसैको माथिल्लो तलामा श्यामप्रसादलाई लिएर गएँ र त्यहाँ हामीहरू श्यामप्रसाद शर्मा, मोहनविक्रम सिंह, अजय शर्मा, विमल शर्मा र नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव प्रा.डा.जीवेन्द्रदेव गिरीका बीच १ घण्टा लामो भलाकुसारी भयो । मोहनजीले श्यामप्रसादका लागि आफ्ना कतिपय उपलब्ध पुस्तकहरू उपहार दिनुभयो र उहाँले पनि आफ्ना केही साहित्यिक कृतिहरू मोहन जीलाई उपहार दिनुभयो । त्यसबेला नेकपा (मसाल) ले पुष्पलाललाई गद्दार मान्नुहुन्न भन्ने मत छैठौं महाधिवेशनबाट पारित गरिसकेको थियो र त्यहाँ ‘गद्दार पुष्पलाल’ को नाम परिवर्तन भइ प्रकाशित भएको पुस्तक दिँदा नाम परिवर्तनको प्रसंङ्ग चल्यो र मोहनजी निकै असमन्जसमा परेजस्तो हुनुभयो । मलाई त्यतिबेलाको असहजताको गाँठो फुक्न नसकेको अहिले पनि ताजा सम्झना छ ।
समग्रमा भन्नुपर्दा श्यामप्रसाद एउटा राजनीतिक चिन्तक तथा साहित्यिक स्रष्टा दुवै हुन् । उनका अनेकौं आनीबानी र विशेषताको सूक्ष्म अध्ययन गर्न सकिन्छ तर उनी निष्कलंकित, बेदाग, सफा र स्पष्टवादीताका प्रतिमूर्ति नै हुन् । अब उनी छैनन् तर सबै चीज उनले यही छाडेका छन्, त्यसको सांगोपांगो अनुसन्धान हुनुपर्छ र त्यसमाथि गम्भीर मूल्यांकन पनि हुनुपर्छ । त्यसै उनी हाम्रा माझ चर्चित भएका होइनन् । उनको साहित्यिक देन अपूरणीय छ र सबैले त्यसको मनन गर्नुपर्दछ ।
श्यामप्रसाद शर्मा हाम्रो परिवारका अभिभावक जस्ता थिए । मैले दुई वर्षअघि उनलाई भेट्दा स्मृति लोपको समस्याले पीडित भइसकेका थिए र उनले मलाई राम्ररी चिन्न पनि सकेनन् । केवल ‘पुरानो मित्र हो’ भनेर पन्छिने मात्र कोशिस गरे । यसैगरी मेरी श्रीमती नमिता भारतीले पनि गतसाल काठमाडौंमा भेट्दा चिन्न नसकेको अनुभूति व्यक्त गरेका रहेछन् । यसरी उनले आफ्नो स्मृति गुमाउँदै गएपछि घरमा बसेर विस्मृतिको गर्भमा निदाउनुबाहेक अर्को कुनै उपाय थिएन । राज्यले यसबारेमा कुनै ख्याल राखेन र उनी आफ्नै औषधि उपचारको बलमा आजसम्म बाँचे ।
श्यामप्रसादको जन्म १९८६ मा मकवानपुर जिल्लाको मन्थली गाविसको सोलीथुम गाउँमा भएको हो । उनले प्रकारान्तरले २ वटी विवाह गरे तर दुवैसँग उनको घरवार टिक्न सकेन । २ वटी छोरी छन्, तिनकै घरमा बसेर साहित्य साधना गर्दै आएका श्यामप्रसाद लामो समयदेखि स्मृति लोपको (अल्जाइमर रोग) शिकार हुँदै आएका थिए । २०७४ वैशाख २४ को सूर्योदय नहुँदै बिहान ४ः०० बजे उनी अघिल्लो दिनको अस्ताचलबाट फिर्ता भएनन् र हामीसँग उनको सम्झना मात्र बाँकिरहेको छ । यी महान् स्रष्टा, साहित्यिक अभिभावक, प्रगतिवादी चिन्तक एवम् सौन्दर्यशास्त्रीको निधन हाम्रा निम्ति अपूरणीय नै रहनेछ । उनको मौलिक लेखन कलाको चिरकालसम्म गाथा गुञ्जिरहोस्, हार्दिक श्रद्धाञ्जली श्यामप्रसाद शर्मा, अलविदा श्यामप्रसाद शर्मा !

(२०७४ वैशाख २४ गते, सुर्खेत)