बालबालिकाले सिकाए ट्राफिक नियम

साझा बिसौनी संवाददाता

सुर्खेत, १३ माघ ।
प्रतिक्षा मन्टेश्वरीका बालबालिकाहरूले यात्रुहरूलाई ट्राफिक नियमबारे शिक्षा दिएका छन् । उनीहरूले बुधवार वीरेन्द्रनगरको नेताचौकमा यात्रुहरूलाई ट्राफिक नियमको बारेमा सिकाएका हुन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले केही दिनअघि मन्टेश्वरीमै गएर बालबालिकाहरूलाई ट्राफिक नियमको बारेमा जानकारी दिएपछि बुधवार बालबालिकाहरूले नेताचौकमा पुगेर यात्रुहरूलाई जेब्रा क्रसको प्रयोग, पैदल यात्रु र साइकलले बाटो काट्ने तरिका, बाटो काट्दा बालबालिकाहरूले ध्यान दिनुपर्ने कुरा लगायतका विषयमा जानकारी दिएका थिए ।
बालबालिकाहरूलाई अहिलेदेखि नै ट्राफिक नियमको बारेमा जानकारी दिन मन्टेश्वरीमै पुगेर आफूहरूले सचेतना कक्षा चलाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख हर्कबहादुर रावलले जानकारी दिए ।
बालबालिकाहरूलाई यसबारे ज्ञान दिँदा उनीहरूमार्फत् अभिभावकसम्म पुग्ने भएकाले मन्टेश्वरीका साना बालबालिकालाई ट्राफिक नियमबारे सिकाइएको र उनीहरूले सडकमै आएर यात्रुहरूलाई सिकाएको उनले जनाए ।
प्रकाशित मितिः   १४ माघ २०७२, बिहीबार १०:४६