लेकाली क्षेत्र संरक्षण

कर्णाली प्रदेश सरकारले जलवायु अनुकूलनका कार्यक्रम कार्यान्वयनमा जोड दिएको छ । जलवायु अनुकूलनका कार्यक्रम कार्यान्वयन गर्न विशेष रणनीतिक योजना बनाउन लागिएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर योजना निर्माण गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । लेक तथा पाटन संरक्षण रणनीति योजना निर्माण गर्न लागिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । रणनीतिक योजना निर्माण गरेर जलवायु अनुकूलनका कार्यक्रम कार्यान्वयन गरिने छ । अहिले लेक तथा पाटन संरक्षण रणनीति योजनाका विषयमा विभिन्न तहमा छलफल भइरहेको छ । रणनीतिक योजना निर्माणको काम भने प्रदेश वन निर्देशनालयले गरिरहेको छ ।

साविक कर्णालीका पाँच जिल्लासहित जाजरकोट र रुकुम पश्चिमका क्षेत्रहरू समेटेर रणनीतिक योजना निर्माण गर्न लागिएकोे छ । अहिले रणनीतिक योजनाको मस्यौदा निर्माणको काम अन्तिम चरणमा पुगेको छ । प्रदेशका लेकाली भेगलाई समेटेर लेक, पाटन र खर्कको दिगो व्यवस्थापनका लागि योजना निर्माण गर्न लागिएको हो । जलवायु परिवर्तनका नकारात्मक प्रभावको न्यूनीकरण गर्न लेक तथा पाटन संरक्षण रणनीति योजना निर्माण गरी आवश्यक कार्यक्रम कार्यान्वयन गरिने छ । रणनीतिक योजना निर्माणका लागि सातवटै जिल्लामा छलफल चलाइएको थियो । स्थानीय कृषकहरूसँग जिल्ला–जिल्लामा छलफल चलाइएको हो । साविक कर्णालीका कालीकोट, जुम्ला, डोल्पा, हुम्ला, मुगु तथा जाजरकोट र रूकुमपश्चिममा स्थानीय कृषकहरूसँग छलफल चलाइएको छ । दुई चरणमा मन्त्रालयमा समेत छलफल गरिएको छ । पर्यटन प्रवद्र्धन, पर्यापर्यटन, जडीबुटीको दिगो व्यवस्थापन, चरन व्यवस्थापन, उद्यममा आधारित लद्यु उद्यम, डेरीमा आधारित उद्यम सञ्चालन, स्वच्छ पानीका लागि जलाधार व्यवस्थापन तथा चरन खर्क र पाटनको दिगो व्यवस्थापन लगाएतका विषय रणनीतिक योजनामा समावेश गरिएको छ ।

रणनीतिक योजनाको मस्यौदा निर्माणको काम अन्तिम चरणमा पुगेको छ । लेक तथा पाटन संरक्षण रणनीति योजनाको शैदान्तिक सहमतिका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मामिला तथा कानुन मन्त्रालयमा मस्यौदा पेस गरिने छ । त्यसपछि मन्त्रीपरिषद्बाट पारित भए कार्यान्वयनमा जानेछ । पछिल्लो समय जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा उत्पादन घटिरहेको छ । त्यसको सोझो असर कृषकलाई परिरहेको छ । खासगरी पुस र माघ महिनामा हिमालमा हिउँ नपर्नु, पानी नपर्नु, असोज–कार्तिकमा अत्यधिक वर्षा हुनु जलवायु परिवर्तनको प्रभाव रहेको विज्ञहरू बताउँछन् । हिमाली क्षेत्रमा पानी पर्ने क्रम बढ्नुलाई जलवायु परिवर्तनसँग जोडेर हेर्न थालिएको छ । बढ्दो जलवायु परिवर्तको असर न्यूनिकरणका लागि प्रदेश सरकारले केही पहल थालेको छ । यो वर्ष जलवायु अनुकूलनका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

प्रकाशित मितिः   २४ पुष २०८१, बुधबार ०६:०३