फलफूल खेती प्रवर्द्धन

कर्णाली प्रदेश सरकारले स्याउ तथा ओखरको उत्पादन बढाउन क्षेत्र विस्तार गर्न लागेको छ । गुणस्तरीय स्याउ तथा ओखर उत्पादन र बजारीकरणका लागि क्षेत्र विस्तार गर्न लागिएको हो । यो वर्ष प्रदेश सरकारले फलफूल क्षेत्र विस्तार कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर उक्त योजना अघि सारिएको हो । यो कार्यक्रम नौलो भने होइन । अघिल्ला आर्थिक वर्षहरूमा पनि सरकारले यो कार्यक्रम कार्यान्वयन गरिरहेको छ । यो वर्ष सात जिल्लामा कार्यक्रम कार्यान्वयन गर्न लागिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । साविक कर्णालीका पाँच जिल्लासहित दैलेख र रूकुमपश्चिममा स्याउ तथा ओखर क्षेत्र विस्तार कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो । जिल्ला कृषि विकास कार्यालयमार्फत् कार्यक्रम कार्यान्वयन गरिनेछ । प्रत्येक जिल्लामा करिब दश÷दश लाखका दरले बजेट विनियोजन गरिएको छ ।

साविक कर्णालीका पाँच जिल्लामा स्याउ–ओखर विकास आयोजना सञ्चालन भइरहेको छ । दैलेख र रूकुमपश्चिमलाई पनि ओखर उत्पादनका लागि क्षेत्र विस्तार गर्न लागिएको छ । पछिल्ला वर्षहरूमा किसानहरू अन्नबालीभन्दा फलफूल खेतीतर्फ आकर्षित भएका छन् । बाँझो जमिनलाई उपयोग, कृषकले उत्पादन गर्ने फलफूल खेतीलाई व्यवसायीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो । यो कार्यक्रमबाट कृषकले प्रत्यक्ष लाभ लिनेछन् । आवश्यक प्राविधिकको व्यवस्था गरिएको छ । साविक कर्णालीका कालीकोट, जुम्ला, डोल्पा, हुम्ला, मुगु तथा दैलेख र रूकुमपश्चिममा सो कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो । सम्भाव्यता अध्ययनको आधारमा परियोजनाका लागि पालिकाहरू छनोट गरिनेछन् । प्राविधिकले उक्त स्थान फलफूल उत्पादनका लागि उपयुक्त भए–नभएको अध्ययन गर्नेछन् । सोही अध्ययनका आधारमा पालिका छनोट गरिने जनाइएको छ । कार्यक्रम कार्यान्वयनका लागि गत वर्ष पाँच करोड बजेट विनियोजन गरिएको थियो । केही वर्षदेखि यो कार्यक्रमलाई निरन्तरता दिइएको छ भने यो वर्ष प्राविधिकले छनोट गरेका स्थानमा मात्र कार्यान्वयन हुनेछ । अघिल्ला वर्षहरूमा अनुमानका आधारमा कार्यक्रम कार्यान्वयन गर्दा लक्ष्य अनुरूपको प्रतिफल आउन सकेको थिएन ।

कर्णालीमा फलफूल खेतिको प्रचुर सम्भावना रहेको मानिन्छ । तर व्यावसायिक फलफूल खेति भने न्यून छ । त्यसैले प्रदेश सरकारले स्याउ, ओखर, सुन्तलालगायतका फलफूललाई व्यावसायिकरण गर्न खोजिरहेको देखिन्छ । कर्णालीका हिमाली जिल्लाहरूमा स्याउ तथा पहाडी भेगमा सुन्तला खेती रुचाएको पाइएको छ । प्रदेशमा विगतको तुलनामा हाल फलफूल खेतीको क्षेत्र बढेको छ । फलफूलका लागि विभिन्न सरकारी अनुदानका कार्यक्रम पनि राखिएको छ । यसले पनि ककसानहरूको आकर्षण देखिएको छ ।

प्रकाशित मितिः   २३ पुष २०८१, मंगलवार ०६:०३