कांग्रेस सुर्खेतको प्रतिबद्धताः ‘एक घर, एक रोजगारी’

सुर्खेत, २२ वैशाख ।
स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेस सुर्खेतले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी घोषणापत्र सार्वजनिक गरेको हो ।
कांग्रेसले भौतिक पूर्वाधार निर्माणका साथै रोजगारीलाई प्राथमिकतामा राखेको छ । उसले आफ्ना विशेष योजना अन्तर्गत ‘एक घर, एक रोजगारी’ अभियान कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ । हरेक नागरिकलाई रोजगारीको वैकल्पिक व्यवस्था नहुञ्जेलसम्म वर्षमा कम्तीमा तीन महिना रोजगारीको व्यवस्था गर्ने कांग्रेसले जनाएको छ ।
त्यसैगरी स्थानीय तहका हरेक नगर र गाउँपालिकाको केन्द्रस्तरमा शाखा रहने गरी खाद्य संस्थान स्थापना गरी कृषि उपज खरिद तथा बिक्रीको व्यवस्थापन गर्ने, भूमिहीन सुकुम्बासीलाई जग्गाको व्यवस्थापन गरी आवास निर्माण गर्ने, राष्ट्रिय परिचयपत्रको आधारमा दैनिक उपभोग्य वस्तु सहुलियतमा उपलब्ध गराउन रासन कार्ड लागू गर्ने, गरीब, विपन्न, मजदुर, अशक्त र वृद्धवृद्धालाई आकस्मिक उपचार सहयोगका लागि कोषको व्यवस्था गर्ने, गरिबीको रेखामुनी रहेका घरपरिवार विद्युत र पानी महशुलको न्यूनतम शुल्कमा अनुदान दिने, सामाजिक सुरक्षा भत्ता घरघरमै उपलब्ध गराउने, असहाय बालबालिको पालनपोषण र शिक्षा प्रदान गर्न कोष स्थापना गर्ने, स्थानीय करलाई सम्बन्धित क्षेत्रको विकासमा प्राथमिकता दिने योजना कांग्रेसले अघि सारेको छ ।
भेरी–बबई बहुउद्देश्यीय आयोजना निर्माणको सुरुवात, झुप्रा बृहत खानेपानी आयोजना, धुलियाविट–बांगेसिमल फोरलेन सडक निर्माण, गुमी–पातीहाल्ना सडक निर्माण, दशरथपुर–रानीवास हुँदै अवलचिङ्गको चक्रपथ सडक निर्माण, काँक्रेविहार मन्दिरको पुनर्निर्माण, वीरेन्द्रनगरमा हटलाइन सडक निर्माण, सुर्खेत उपत्यका चक्रपथ सडक निर्माण, भेरीगंगा र गुर्भाकोट नगरपालिका क्षेत्रमा स्मार्ट सीटी निर्माणको अध्ययन, भेरी करिडोर सिँचाइ तथा सडक योजनाको सुरुवात लगायतका योजना कांग्रेसको घोषणापत्रमा समावेश छन् । वीरेन्द्रनगरलाई प्रदेश नम्बर ६ को राजधानी बनाउन पहल गर्ने, बुलबुले ताल, देउतीबज्यै, शिव मन्दिर, काँक्रेविहार, बराहताल, भोटेचुली, जाजुरादह, गुप्ती दह, चमेरे गुफा, भेरी–कर्णाली दोभानको संरक्षण तथा सम्बद्र्धन गरी जिल्लालाई पर्यटकीय गन्तव्यको विकास गरी उपयुक्त स्थानमा होमस्टे सञ्चालन गर्ने बताइएको छ । यस्तै चौकुने सिमेन्ट उद्योग, लखरपाटा सिमेन्ट उद्योग, ईट्टा तथा टायल कारखाना, जडिबुटी प्रशोधन केन्द्र स्थापनामा जोड दिइने जनाइएको छ ।
त्यसैगरी शान्ति सुरक्षा कायम गर्ने, जलविद्युतको विकास गर्ने, शिक्षा र स्वास्थ्यको समुचित प्रबन्ध गर्ने, सबै वडा, गाउँपालिका र नगरपालिका जोड्ने सडक विस्तार गर्ने, कृषिमा आधुनिकीकरण, निजी क्षेत्रलाई प्रोत्साहन र लगानीको वातावरण सिर्जना गर्ने घोषणा पनि कांग्रेसले गरेको छ । निजी क्षेत्रलाई आर्थिक उन्नति इन्जिनको रूपमा विकास गर्ने, खानेपानीको उचित प्रबन्ध मिलाउने, सरसफाईमा जोड दिने, सुरक्षित र स्वस्थ बस्तीहरूको निर्माण गरी सम्पूर्ण ग्रामीण जनतालाई सुरक्षित जीवन प्रदान गर्ने आश्वासन समेत कांग्रेसले दिएको छ । मतदाता रिझाउन २६ वटा विभिन्न शीर्षकमा योजना अघि सारेको कांग्रेस सुर्खेतले विज्ञान, प्रविधि, अनुसन्धान तथा विकास, आम सञ्चार र पत्रकारिता, खाद्य तथा पोषण सुरक्षा, नियमन तथा उपभोक्ताहित संरक्षण, सुशासन, भ्रष्टाचार तथा आर्थिक अपराध नियन्त्रण, सहर तथा बस्ती विकास, खेलकुद, कला, संस्कृति तथा चलचित्र, वातावरण, प्राकृतिक स्रोत व्यवस्थापन, सुकुम्बासी समस्या समाधानसहितका योजना घोषणापत्रमा समावेश गरेको छ ।
पार्टीको घोषणापत्र सार्वजनिक गर्दै नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले कांग्रेसको नेतृत्वमा शान्ति र संविधान प्राप्त भएको भन्दै अब कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान सञ्चालन हुने बताए । उनले जनताको विकास र समृद्धिको चाहना पूरा गर्न कांग्रेस प्रतिबद्ध रहेको भन्दै स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारहरूलाई मतदान गरी विजयी बनाउन अपिल गरे ।
समृद्ध वीरेन्द्रनगर बनाउने संकल्प
कांग्रेसको वीरेन्द्रनगर नगर समितिले पनि छुट्टै संकल्पपत्र सार्वजनिक गरेको छ । विभिन्न २३ वटा
शीर्षकमा समावेश नगर विकासको योजनामा सुशासन कायम गर्ने, एकीकृत सहरी विकास रणनीति बनाइ सहरीकरणलाई व्यवस्थित गर्ने, वीरेन्द्रनगरलाई प्रदेश ६ को राजधानीको रूपमा विकास गर्ने, स्थानीय युवालाई लक्षित गरी पर्यटन गाइड तालिम प्रदान गर्ने, सहकारी तथा बैंकिङ प्रबद्र्धन गर्ने, उद्योगधन्दाको विकास गर्ने, शान्ति सुरक्षा कायम गर्ने, शिक्षा र स्वास्थ्यसँग सम्बन्धित अनुसन्धान र विकास केन्द्र स्थापना, हरेक वडामा लाइब्रेरी, गरीब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, सार्वजनिक यातायात सञ्चालन गर्ने जनाइएको छ ।
वीरेन्द्रनगर नगरसमितिको संकल्पपत्र सार्वजनिक गर्दै नेपाली कांग्रेस क्षेत्र नम्बर २ सुर्खेतका सभापति नारायण कोइरालाले कांग्रेसले समृद्ध वीरेन्द्रनगरको खाका संकल्पपत्रमार्फत् स्पष्ट राखेको बताए । उनले संकल्पपत्रमा नसमेटिएका योजनालाई पनि कांग्रेसले प्राथमिकताका आधारमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मितिः   २३ बैशाख २०७४, शनिबार १४:३२