उम्मेदवारको घरमा कालो झण्डा

सुर्खेत, २२ वैशाख ।
स्थानीय तहको चुनावमा व्यस्त रहेकै बेलामा उम्मेदवारहरूको घरमा नेपाल कम्युनिष्ट पार्टीले कालो झण्डा राखेको छ । चुनाव खारेजीको माग गर्दै आएको उक्त पार्टीले सुर्खेतका सबै उम्मेदवारको घरमा बिहीवार राती कालो झण्डा राखेको हो । मध्य रातमा राखिएका काला झण्डाहरू अधिकांश उम्मेदवारहरूले राती नै हटाएका थिए भने केहीले शुक्रवार बिहान मात्र जानकारी पाएका हुन् ।
नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जिल्लाका सबै उम्मेदवारको घरघरमा कालो झण्डा राखेकोे हो । घरमा कालो झण्डा गाडिएपछि उम्मेदवारले भने सुरक्षाको चिन्ता गरेका छन् । साथै उनीहरूले आफूहरूको सुरक्षाको बारेमा गम्भीर हुन स्थानीय प्रशासनसँग आग्रह गरेका छन् । मध्यरातमा घरमा कालो झण्डा राखिनुले आफूहरू पनि असुरक्षित भएको उम्मेदवारले प्रतिक्रिया दिएका छन् । आफूहरूले चुनाव खारेजीको माग गरिरहेको अवस्थामा उम्मेदवारी दिएकाले विरोध स्वरूप उनीहरूको घरमा कालो झण्डा राखिएको नेपाल कम्युनिष्ट पार्टीले जनाएको छ ।
यो पार्टीले सुरुदेखि नै स्थानीय तहको निर्वाचन खारेजीको माग गर्दै आएको छ । पार्टीको केन्द्रीय कार्यक्रम अनुसार नै जिल्लामा उम्मेदवारको घरमा कालो झण्डा गाडिएको बताइएको छ । मध्यरातमा उम्मेदवारहरूको घरमा कालो झण्डा गाडिएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था थप प्रभावकारी बनाइएको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले उम्मेदवारको घरमा कालो झण्डा गाडिएको पाइएको भन्दै उक्त समूहको खोजी भइरहेको जनाएको छ । सुर्खेतका प्रहरी प्रमुख एसपी मोहनकुमार आचार्यले केही उम्मेदवारको घरमा कालो झण्डा राखेको पाइएको बताए ।
जिल्लाका नौ वटै स्थानीय तहका उम्मेदवारको घरमा कालो झण्डा गाडिएको दाबी नेकपाले गरेको छ । यद्यपि प्रहरीले भने कालो झण्डा कसले र किन राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जानकारी दिएको छ । अनुसन्धानपछि मात्र सत्य बाहिर आउने प्रहरीको भनाइ छ । एसपी आचार्यले भने, ‘हामी यसबारे अनुसन्धान गर्दैछौं, सत्य बाहिर आउनेछ । कुनै पनि हालतमा निर्वाचन विरोधी गतिविधि गर्नेलाई पक्राउ गरेर कारबाही गर्नेछौं, कसैले पनि चुनाव विथोल्न सक्दैन ।’ जिल्लाको सुरक्षा व्यवस्था थप कडा पारिएको भन्दै उनले उम्मेदवारको सुरक्षाका लागि प्रहरीले कुनै कसर बाँकी नराख्ने बताए ।
बिप्लव नेतृत्वको उक्त पार्टीले यसअघि नै जिल्लाका उम्मेदवारहरूलाई धम्की दिदैं आएको थियो । उक्त पार्टीले सार्वजनिक रूपमा नै उम्मेदवारहरूको अपहरण गर्ने चेतावनी दिँदै आएको छ । बिहीवार रातीको घटनाले थप आशंका उत्पन्न भएको भन्दै उम्मेदवार र दलहरूले भने सुरक्षा व्यवस्था मिलाउन स्थानीय प्रशासनसँग आग्रह गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज ध्रुव बोगटीले भने केन्द्रीय कार्यक्रम अनुसार नै आफूहरूले उम्मेदवारको घरघरमा कालो झण्डा गाडेको जानकारी दिए । उनले भने, ‘अहिलेकै अवस्थामा स्थानीय चुनावले निकास दिँदैन, हामीले यसको खारेजीको माग गर्दै आएका छौं । कालो झण्डा त्यसैको विरोधको एउटा संकेत हो, केन्द्रको निर्देशन अनुसार नै हामी अगाडि बढ्नेछौं ।’
स्थानीय प्रशासनले भने शान्ति सुरक्षाको सबै व्यवस्थापन भएको जनाएको छ । साथै उम्मेदवार र मतदाता सबैको सुरक्षा गर्न प्रतिबद्ध रहेको भन्दै प्रशासनले त्रसित नहुन आग्रह गरेको हो । चुनाव विरोधी कुनै पनि क्रियाकलाप नियन्त्रण गर्न प्रहरी सक्रिय रहेको भन्दै एसपी आचार्यले मतदानका लागि ढुक्क हुन आग्रह गरे । चुनाव खारेजीको माग गर्दै वीरेन्द्रनगरमा प्रदर्शनमा उत्रिएका बिप्लवका कार्यकर्तालाई यसअघि प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसैको विरोधमा उक्त पार्टीले उम्मेदवारको अपहरण गर्ने धम्की दिँदै आएको छ । यता प्रहरीले भने त्यस्ता व्यक्ति र समूहलाई निगरानीमा राखिएको भन्दै त्रसित नहुन सर्वसाधारणहरूलाई आग्रह गरेको छ । सुर्खेतमा पाँच नगरपालिका र चार गाउँपालिकाको नेतृत्वका लागि चुनाव हुँदैछ । जहाँ प्रमुख र उपप्रमुखको १८ पदका लागि एक सय २० जना उम्मेदवार मैदानमा छन् । यस्तै १५ जनाले भने स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
स्वतन्त्र उम्मेदवार मध्ये १२ जनाले प्रमुखमा र तीन जनाले उपप्रमुख पदमा उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले जनाएको छ । मतदानको दिन नजिकिंदै गर्दा दल र उम्मेदवारहरू भोट माग्न व्यस्त छन् ।

प्रकाशित मितिः   २३ बैशाख २०७४, शनिबार १४:३१