गोपीकृष्णकी मनकी रानी मधुरानी

सम्बन्ध सिसा जस्तै हो । एक पटक फुटेको सिसा फेरि–फेरि जोड्न नसके जस्तै सम्बन्धको विश्वास पनि एक पटक टुटेपछि जोड्न मुश्किल नै हुन्छ । सम्बन्धलाई जति तोड्न सजिलो हुन्छ, त्यति नै जोड्न गाह्रो हुन्छ । अझ त्यसमा पनि दाम्पत्य सम्बन्धमा विश्वास, भरोसा र समझदारी अति अपरिहार्य नै हुन्छ । सानो–सानो कुरामा झगडा गर्ने, शंका उपशंकामा जोडिएका सम्बन्धहरू दिगो हुन सक्दैनन् । सम्बन्ध दिगो बनाउनको लागि त एकअर्काेमा विश्वास, भरोषा र समझदारीको आवश्यकता पर्छ । यस्तै विश्वास, भरोषा र समझदारीले नै जोडेर राखेको सम्बन्ध गोपीकृष्ण ढकाल र मधुरानी ढकालको छ । यो जोडीले सम्बन्धमा विश्वासको वातावरण राम्रो बनाएकै कारण सहज रूपमा सम्बन्ध दिगो बनाएका छन् ।
पिता नन्दलाल ढकाल र माता पवित्रा ढकालको कोखबाट २०२० सालमा वीरेन्द्रनगर–१४ नलखोलामा जन्मिएका गोपीकृष्ण ढकालको बाल्यकाल केही दुःख अनि केही सुखसँगै बित्यो । गाउँमा भएकाले ढकालको बाल्यकाल गोठालो जाने, साथीहरूसँग रमाउने र पढ्नमा नै बित्यो । बाल्यकालमा उनी अन्य साथीहरू भन्दा भिन्न थिए । अलि अप्ठ्यारो स्वभावका थिए । उनले बाल्यकालमा यतिसम्म गर्थे कि आफ्ना दाईदिदीहरू घाँस काट्न रुखमा चढ्दा तलबाट ढुंगाले हान्ने गर्थे ।
ढकालको बिहे गर्ने उमेर पनि पुगेको थियो । घरबाट बिहेको कुरा चलेको थियो । उनलाई केटी देखाउनको लागि केटी भारतबाट बोलाइएको थियो । ढकालको आमा र केटीको आमा बाल्यकालको साथी भएकाले पनि उनीहरूको बिहेको कुरा चल्यो । उनलाई बिहेको लागि भारतबाट ल्याइएको केटी अरु कोही नभएर मधुरानी थिइन् । मधुरानीलाई भारतबाट नेपालमा केटासँग भेटाउन लग्ने हो भन्ने केही थाहा थिएन । उनले भनिन्, ‘म जन्मेको भारतमा हुर्केको पनि उतै मलाई आमाले पहिलो पटक नेपालमा ल्याउनु भएको त्यही पनि केटा देखाउन रै’छ, मलाई त केही थाहा थिएन ।’ उनी पहिलो पटक २०४६ सालमा नेपाल आएकी थिइन् । पिता नामराज पाण्डे र माता विष्णुदेवी पाण्डेको कोखबाट २०२७ सालमा भारतको देहेरादुनमा जन्मिएकी मधुरानीको बाल्यकाल भारतमा नै बित्यो । बाल्यकाल सँगसँगै उनले एसएलसी पास पनि भारतमा नै गरिसकेकी थिइन् । उनी नेपाल आउँदा आईएडमा पढ्दै थिइन् ।
उनलाई नेपाली बोल्न आउँथेन । नेपाली भाषा सबै बुझे पनि बोल्न उनलाई गाह्रो हुन्थ्यो । बाल्यकालदेखि नै मिलनसार स्वभावकी मधुरानी बाबुआमाले रोजेको केटासँग नै बिहे गर्नुपर्छ भन्ने बुझाइ थियो । पहिलो पटक नेपाल आउँदा उनलाई नेपालमा चर्पीको समस्या धेरै भयो । उनी आमासँग चर्पी भएको घरमा बसौं है भन्ने गर्थिन् । उनले भनिन्, ‘त्यति बेला नेपाल आउँदा मलाई चर्पी र चिनी हालेको दुध र चिया खान नपाएर समस्या भएको थियो ।’ मधुरानीका बुवा धर्मकर्ममा अलि बढी आस्था राख्ने भएकाले उनलाई पनि त्यसको प्रभाव प¥यो ।
भारतमा जन्मिएर हुर्किए पनि नेपालको संस्कृतिका बारेमा भने मधुरानीका बाबुआमाले आफ्ना सन्तानलाई सबै देखाएका थिए । बाहिरी वातावरणमा हिन्दी बोले पनि घरमा भने मधुरानीका बाबु आमा नेपाली नै बोल्ने गर्थे । त्यही बाबुआमाले बोलेको नेपाली भाषा सुनेर मधुरानीले नेपाली भाषा सबै बुझ्थिन् । तर, बोल्न आउँदैनथ्यो । मधुरानीको मावलीघर सुर्खेत चिसापानी भएकाले र मधुरानी र गोपीकृष्णको आमाहरू बाल्यकालको साथी भएकाले बिहेको कुरा चलेको थियो । केटो पढेको र राम्रो इमान्दार जागिरे भएकाले पनि मधुरानीका बाबुआमाले उनको विहेको कुरा चलाएका थिए ।
मधुरानी नेपाल आएको चार महिनापछि नै उनीहरूको २०४६ सालमा मागी विवाह भयो । मधुरानीलाई भने त्यतिबेला बिहे गर्ने सोच थिएन । उनले ब्यार्चुलरसम्म पढेर बिहे गर्ने सोचमा थिइन् । तर, बाबुआमाको बचन काट्न नसकेर केही नबोलेर उनले बिहेको लागि राजी भइन् । तर, विवाह भएको १० वर्षपछि मधुरानीले फेरि पढाइ सुरु गरिन् र सुर्खेत शिक्षा क्यापसबाट डिग्रीसम्मको अध्ययन पूरा गरिन् । उनको पढ्ने सपना बिहेपछि पूरा भयो । अहिले उनी सीमान्तकृत महिलाहरूका लागि महिला संस्था (वाम) मा कार्यकारी निर्देशकको रूपमा रहेर काम गरिरहेकी छिन् ।
मधुरानीको बुबाले भारतमा नै मन्दिर बनाएका थिए । सबै सन्तानको बिहे त्यहीं मन्दिरमा गर्ने भनेकाले उनीहरूको बिहे भारतमा भएको थियो । विवाहपछि मधुरानी नेपाल आइन् । तर, उनलाई नेपाली भाषा बोल्न नजानेर गाह्रो पनि भयो । भान्सामा प्रयोग हुने सामानको नाम हिन्दीमा फरक नेपालीमा फरक हुने भएकाले उनलाई सामान चिन्न र नेपाली भाषा बोल्न तीन महिना लाग्यो । तर, पनि उनले हिम्मत हारिनन् । घरमा धेरै नबोल्ने मधुरानी सासु ससुराको प्यारी बुहारी बन्न सफल पनि भइन् । विवाहपछि मधुरानी र गोपीकृष्ण एकअर्काेको स्वभाव आनी बानी बुझ्न केही समय लाग्यो त्यतिबेला यो जोडीको झगडा हुन्थेन । विवाह गरेको केही बसन्त पार गरेपछि भने कहिले काहीं सामान्य झगडा भने भयो । तर, झगडाले उनीहरू बीचमा माया झन् प्रगाढ बनायो । उनीहरू भन्छन्, ‘श्रीमान् श्रीमती भएपछि सामान्य झगडा जस्को पनि हुन्छ तर, झगडाले समस्या होइन माया बढाउँछ ।’ उनीहरूका अनुसार दाम्पत्य जीवन सफल र दिगो बनाउनको लागि एकअर्काेको भावना बुझ्न सक्नुपर्ने र एकअर्काेको कमी कमजोरीलाई सहजै समाधान गरेर अघि बढ्न सक्नुपर्छ ।
यो जोडी एकअर्काेको जन्मदिन र विवाह वर्ष आउँदा गिफ्ट आदान–प्रदान गर्ने गर्छन् । २५ औं विवाह वर्षको दिन मधुरानीले गोपीकृष्णलाई औंठी उपहार दिएकी थिइन् । एकअर्काेको जन्मदिनको दिन एकअर्काेलाई सरप्राइज पनि दिने गर्छन् । त्यतिमात्र होइन एकअर्काेको प्रशंसा पनि खुलेरै गर्छन् । ढकाललाई मधुरानीको विवाह पछि घरमा अहिलेसम्म कोहीसँग झगडा नगर्ने बानी मनपर्ने गर्छ । उनी भन्छन्, ‘उनले अहिलेसम्म मेरो घरपरिवारको कोही सदस्यको मन दुखाको छैनिन्, मेरो बुबा आमाको प्यारी बुहारी बनिन् ।’
त्यस्तै मधुरानीलाई पनि गोपीकृष्णको मनको पवित्र र कुरा स्पष्ट रूपमा गर्ने बानी मनपर्ने गर्छ । यो जोडी दुई छोरी र एक छोराको साथमा समय–समयमा घुम्न पनि जाने गर्छन् । यो जोडीका अनुसार जीवन भनेको संघर्ष हो । जीवनको यात्रामा संघर्ष गर्दा कहिले काँडा कहिले फूल त हुन्छ नै त्यसलाई सहज रूपमा सामना गर्नसक्ने व्यक्ति नै जीवनमा अघि बढ्नसक्छ । उनीहरू भन्छन्, ‘जीवन काँडैकाँडाको बीचमा फुलेको सुन्दर फूल हो, त्यसलाई कसरी मल जल गरेर राम्रो बनाउने या सुक्न दिने भन्ने कुरा स्वयम् व्यक्तिमा भर पर्छ ।’ उनीहरूका अनुसार जीवनसाथी भनेको एकअर्काेको सुख दुःखमा साथ दिने साथी हुन् । एउटालाई चोट लाग्दा अर्काेलाई दुख्छ त्यो नै जीवनसाथी हो । उनीहरू भन्छन्, ‘जीवनसाथी त्यो हो जसले हरेक घडी हर समय आफ्नो जीवनसाथीको दुःख सुखमा साथ दिएको हुन्छ ।’

प्रकाशित मितिः   २३ बैशाख २०७४, शनिबार १४:३०