पेट्रोलियम खोज्दा ग्यास फेला

अहिलेको ड्रिलिङबाट ग्यासको भण्डारण रहेको पत्ता लागेको छ । ड्रिलिङपछि निस्किएको नमुनाहरू परीक्षणका लागि चीनको ल्याबमा पठाइएको छ । नमुना परीक्षणपछि व्यावसायिक रूपमा उत्खनन् हुने/नहुनेमा स्पष्ट हुनेछ ।

सुर्खेत: दैलेखमा ग्यास रहेको पत्ता लागेको छ । जिल्लाको भैरवी गाउँपालिका वडा नं. १ स्थित जलजलेमा चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ गर्दा ग्यास भण्डारणको संकेत पत्ता लागेको हो । शनिवार पेट्रोलियम पर्दाथ अन्वेषणअन्तर्गत ड्रिलिङको काम सकिएको छ । ड्रिलिङपछि नमुना स्याम्पल निकालिएको छ । अब कति मात्रामा ग्यास रहेको छ र आर्थिक रूपमा कतिको लाभ लिन सकिन्छ भनेर पत्ता लगाइने खानी तथा भूगर्भ विभागले जनाएको छ ।

गत वैशाख २३ गतेदेखि अन्तिम चरणको ‘ड्रिलिङ’ को काम सुरु गरिएको थियो । मेसिनले जमिन मुनिसम्म खनेर पेट्रोलियम पदार्थ भए/नभएको पत्ता लगाएको छ । चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ गर्दा ग्यास नै भएको पत्ता लागेको पेट्रोलियम पर्दाथ आयोजनाका सिनियर डिभिजनल जियोलोजिष्ट सुरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार शनिवार मात्र ड्रिलिङको काम सकिएको हो । ड्रिलिङपछि नमुना स्याम्पल निकालिएको भन्दै उनले ड्रिलिङ गर्दा निस्किएको स्याम्पल तथा नमुनाहरू चीनको ल्याबमा पठाइएको छ ।

पेट्रोलियम पदार्थ हुन सक्ने भन्दै चीन सरकारको जिओलोजिकल सर्वे कम्पनीले भौगर्भिक अध्ययन गरेको अन्वेषण परियोजनामा सीएनपीसी इन्जिनियरिङले उत्खनन्को काम थालेको थियो । श्रेष्ठका अनुसार चीनबाट नमुनाको परीक्षणपछि व्यावसायिक रूपमा उत्खनन् हुने नहुनेमा स्पष्ट हुनेछ । श्रेष्ठले भने, ‘शनिवारसम्म चार हजार १३ मिटरसम्म ड्रिलिङको काम गरेसँगै ड्रिलिङको काम सकिएको छ, सम्झौता अनुसार चार हजार हो तर प्राविधिक कारण १३ मिटर थप ड्रिलिङ गरिएको हो ।’ ड्रिलिङको काम सकिएपछि आजसम्म उक्त स्थानमा गरेको कामका बारेमा समेटिएको डाटा र तथ्यांक एकै पटक निकालिनेछ र त्यसपछि ग्यास भण्डार भएको या नभएको पत्ता लाग्नेछ । अहिलेको ड्रिलिङको कामले गर्दा ग्यासको भण्डारण रहेको पत्ता लागेको उनको भनाइ छ ।

नेपाल सरकारले २०८२ सम्म पेट्रोलियम अन्वेषणको काम सक्ने तयारी गरेको छ । चैत २०७१ मा नेपाल र चीनबीच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् गर्ने सहमति भएसँगै २०७५ माघमा पेट्रोलियम तथा ग्यास खानीबारे विस्तृत अन्वेषण गर्नेसम्बन्धी परियोजना स्वीकृत भएको थियो । पेट्रोलियम पदार्थको उत्खनन् र अन्वेषणमा गर्न दुई अर्ब ४० करोड रूपैयाँसँगै प्राविधिक सहयोग गर्नेगरी चीन र नेपाल सरकारबीच सम्झौता भएको थियो ।
ड्रिलिङको काम सकिएसँगै पहिलो चरणको सम्झौता अवधि पनि सकिएको छ । अब अर्को चरणको सम्झिौता गरेर अन्य काम अघि बढाइने आयोजनाले जनाएको छ । ल्याव निकालेर टेष्ट गर्नका लागि समेत आवश्यक बजेट छैन । थप कामको सम्झौता गरेर काम अघि बढाउने तयारी भइरहेको छ ।

 

व्यावसायिक उत्खनन्को काम अघि बढाइने

दैलेखमा ग्यास भएको पत्ता लागेसँगै व्यावसायिक उत्खनन्को काम अघि बढाइनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले पेट्रोलियम पदार्थको नमुना (स्याम्पल) निकालिएको र अब यसलाई प्रयोगशालामा परीक्षण गरी व्यावसायिक उत्खनन्को कामलाई अघि बढाइने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत् उनले पेट्रोलियम पर्दाथ उत्खनन्को काम अघि बढाउने जानकारी गराएका हुन् । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ भित्रै पेट्रोलियम पदार्थ अन्वेषणको काम सक्ने लक्ष्य राखेको छ । पहिलो चरणको कामको सम्झौता सकिएको छ भने दोस्रो चरणको काम सुरु गर्न चीन सरकारसँग पहल थालिएको जनाइएको छ । अब लाग्ने बजेटको अनुमानित विवरण र निकालिएको स्याम्पलको परीक्षणको रिर्पोटअनुसार अघि बढ्ने जनाइएको छ । स्थानीय तथा प्रदेश सरकारले समेत व्यवसायिक उत्खनन्का लागि पहल थाल्न संघीय सरकारलाई आग्रह गरेका छन् ।

प्रकाशित मितिः   २१ पुष २०८१, आईतवार ०६:०६