रवि र राजनीति
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने राजनीतिमा पनि विवादित पात्र बने । सहकारी रकम हिनामिना, संगठित अपराध र स्रोत नखुलेको सम्पत्ति आर्जनजस्ता विवादका कारण निरन्तर कानुनी झमेला बोकिरहेका छन् । गिरफ्तार भएपछि संगठित अपराध र सम्पत्ति शुद्धिकरणका मुद्दा पनि जोडिएका छन् ।
राजनीतिमा आउनु अगाडि रवि लामिछाने स्थापित पत्रकार हुन् । टेलिभिजनबाट प्रशारण हुने ‘सिधाकुरा जनतासँग’ कार्यक्रम अत्यन्त लोकप्रिय थियो । पत्रकारको आवरणमा रविले भित्रभित्रै असुली धन्दा चलाउँछन् भन्ने चर्चा पनि नचलेको होइन । उनैले नामाकरण गरि ‘बाह्रभाइ’ भनिएकामध्ये केही पत्रकारसँग बेलाबेला खटपट परेको पनि सतहमा आइरहन्थ्यो । ‘स्टिङ अपरेसन’ बाट पनि कमाइ हुन्थ्यो, कसैको कैफियत फेला पारेमा त्यसलाई पनि स्रोत बनाउने गरिन्थ्यो, मोलतोल मिलेको खण्डमा समाचार बन्द गरिदिने र नमिलेमा बराबर दोहो¥याएर वा थपेर ध्वस्त पारिदिने रणनीति हुन्थ्यो भन्ने जस्ता बजार हल्लाहरू बराबर सुनिन्थे । सुनिनबाट पनि सादृश्य हुन आएका केही घटनाका बारेमा संक्षिप्त समीक्षा गरौँ ।
२०७६ सालमा आत्महत्या गर्नु अगाडि टेलिभिजन पत्रकार शालिकराम पुडासैनीले चितवनमा रविका केही कर्तुतविरुद्ध भिडियो रेकर्ड गरेका थिए । रेकर्डमा रुँदै भनेका छन्, ‘रविले बालुवा तस्कर, ठूला ठेकेदार र सिमेन्ट फेक्ट्रीहरूसँग करोडौं रकम असुलेका छन्, मलाई ऋणमा डुबाएर अत्याचार गरेका छन् । रवि पख तिमीलाई एकदिन पोल्छ…।’ रेकर्डमा उनले आफ्ना बाआमा र श्रीमतीलाई पनि सम्बोधन गर्दै अन्य विषय पनि उजागर गरेका थिए । पुडासैनीले आत्महत्या गरिसकेपछि यो भिडियो अत्यन्त चर्चित भएको थियो ।
२०७८ सालमा कर्णाली प्रदेशका तत्कालीन भूमि व्यवस्था मन्त्री कुर्मराज शाही कुनै महिलासँग यौन काण्डमा मुछिएका भनी मिडियामा खबर प्रसारण भयो । पीडित भनिएको पक्षले पहिलो पत्रकार सम्मेलनमा आफुमाथि अन्याय भएको भनेको र पछिल्लो पत्रकार सम्मेलनमा कतै अन्याय नभएको, बरु चरित्र हत्या गर्न खोजेको भन्ने विरोधाभास भनाइले शाहीलाई कतै फसाउने नियत पो हो कि भन्ने देखिन्थ्यो । यो विषयलाई विद्यार्थी संगठनले अरु चर्काएको थियो । यस्तो मसला पाएर रविले आफ्नो कार्यक्रमबाट प्रसारण गरिदिए तर त्यो त्यति लामो गएन । रवि सदा झैं फेरि केही सामान्य विवादमा परे त्यो मौका छोपेर शाहीले आफ्नो फेसबुक वालमा रविले मसँग ६ लाख रूपैयाँ खायो भन्ने ढंगको स्टाटस लेखे । कसले कहाँ कसरी भन्ने जस्ता प्रश्नहरूको सामना गर्न नसकेर उनले पछि डिलिट गरिदिए । यसको चासो राख्ने पाठकवर्गलाई अवश्य जानकारी छ ।
२०७९ सालमा रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले आफू स्वास्थ्यमन्त्री भएपछि मिलेर काम गर्ने र त्यसका लागि पार्टी लाई दुई करोड चाहिने भन्ने ढंगबाट मेडिकल व्यवसायी दुर्गा प्रसाइँसँग गरेको वार्तालापको अडियो रेकर्ड सार्वजनिक भयो । श्रेष्ठ विवादमा तानिए, रेकर्ड आफ्नो नभएको बदनाम गर्न सम्पादन गरेर मिलाइएको भन्ने ढंगबाट प्रतिवाद पनि गरिरहे । रास्वपाले यसमा छानबिन गर्छौं भनेको थियो, श्रेष्ठलाई सांसद पदबाट हटायो । ‘बलिको बोको’ बन्न विवश भए, जनतामा श्रेष्ठ नै कसुरदार देखिए । बदमास प्रवृतिलाई ठाउँ रहेनछ तत्काल कारबाही हुँदोरहेछ भन्ने ढंगको सकारात्मक सन्देश जनतामा त पुग्यो तर श्रेष्ठलाई दिएको आश्वासन पूरा गरिएनकी, बदनाम भार उनले एक्लै बोक्नुपर्ने भयो कि ! हीनताबोध जाग्यो की ! श्रेष्ठले अन्तिममा गण्डकी छड्केका चर्चित पत्रकार कपिल त्रिपाठीसँग आफूलाई पार्टीले नै पैसा माग्न लगाएको हो भन्ने ढंगको अभिव्यक्ति दिए ।
गत असारमा रास्वपाका महामन्त्री मुकुल ढकालले नेतृत्वका विरुद्ध प्रतिवेदन पेश गरे । ढकाल ३८ जिल्ला पुगेर जनताको कुरा सुनी तयार पारेको भनिएको प्रतिवेदनमा चर्चित फरार अभियुक्त गितेन्द्रबाबु राई (जिबी राई) का बारेमा र सहकारी हिनामिनाका बारेमा पनि रविको नाम जोडिएकोले सच्चिनुपर्ने भन्ने ढंगको व्यहोरा उल्लेख थियो । पार्टी सभापतिमाथि प्रश्न उठाएको भनी ढकाललाई निष्कासन गरियो भन्ने ढंगका खबर मिडियामा आए । समुन्द्रमा ढुंगा हाने झैं यस्ता अनेकन आरोप प्रत्यारोप सिधाकुरा जनतासँग भन्ने कार्यक्रम र रविका देखल लोकप्रियताको गहिराइमा त्यसै विलाउँछन भन्ने कुरा के सत्य सावित भएको हो ? उनका दुर्गुण देखाउने माथि उल्लेखित पात्रहरू सबै कैफियतग्रस्त र लामिछाने मात्रै इमानदार व्यक्ति हुन सक्छन् ? भन्ने ओजनदार प्रश्न खडा हुन्छ । शालिकरामले सुसाइट नोटमा समेत रविलाई पोलेर आत्महत्या गरेपछि आत्महत्यामा दुरुत्साहन गरेको भन्ने आरोपमा चितवन प्रहरीले काठमाडौंमा गइ लामिछानेलाई पक्राउ गरेर चितवन पु¥याइ अदालतमा पेस गरेको सबैमा जानकारी छँदैछ ।
‘सिधा कुरा प्रधानमन्त्रीसँग’ भन्ने कार्यक्रम सायद केही भाग मात्र प्रशारण भएको थियो । ‘म पहिलो पटक प्रधानमन्त्री हुँदा रवि जबलेस भएर मसँग काम माग्न आउँदा मैले त्यो कार्यक्रम टेलिभिजनमा दिएको हुँ’ भनी प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । जब प्रधानमन्त्रीको पदमा प्रचण्ड पुगेपछि त्यो कार्यक्रमले निरन्तरता पाउन सकेन र त्यसलाई रूपान्तरण गरि ‘सिधाकुरा जनतासँग’ भन्ने नयाँ शीर्षकबाट प्रसारण गरियो । कुनै दिन विप्लवलाई देखाएर प्रचण्डले आफ्नो सुरक्षा बढाउन माग गरिरहेको अवस्थामा हिजो टेलिभिजनमा कार्यक्रम चलाउन नपाएको आक्रोश रविले पोख्ने मौका पाए । युद्धका नाममा तिमीले दुनियाँका छोराछोरी मार्न हुने आज आफूलाई मर्नको त्यत्रो डर ! भन्ने ढंगबाट कार्यक्रम सञ्चालन गरेर जनताको पनि ठूलो समर्थन पाए । यो प्रशारित खबरलाई प्रचण्ड पुत्री तथा भरतपुर महानगर पालिकाकी मेयर रेणु दाहालले समेत कडा आपत्ति जनाएकी थिइन् । पुडासैनीको मुद्दामा रवि तानिने भएपछि प्रचण्डले समेत मौकाको फाइदा उठाउँदै रविलाई ठेगान लगाउन खोजिरहेका थिए । प्रचण्डले रविलाई फसाउन खोजेको भन्ने भान परेर चितवनमा रविका पक्षमा ठूलो जनलहर देखियो । किनकि प्रचण्डका अंग रक्षक रहिसकेका चितवन प्रहरी प्रमुखले रविलाई काठमाडौंमा पुगि पक्राउ गरेका हुँदा प्रचण्डकै इशारा बमोजिम दुःख दिन खोजिएको भन्ने आभास पर्न गएको थियो ।
जनता पुराना पार्टीसँग हैरान भएर विकल्प खोजिरहेका थिए । काठमाडौं महानगरको मेयर पदको निर्वाचनमा बालेन्द्र शाहको प्रतिष्ठित विजयले रविलाई अवश्य आकर्षण गरिरहेको हुँदो हो । हिजो चितवनमा आफ्नो जनसमर्थन देखिसकेका र चढ्दो लोकप्रियतामा विश्वास भएकोले रविले आफ्नो नेतृत्वमा पार्टी दर्ता गरे चुनावमा होमिए । परिणाममा पार्टी चौथो ठूलो भएर राष्ट्रिय मान्यता मात्रै पाएन रविले उपप्रधानमन्त्रीसहित गृह पनि पाए, राजनीतिमा ठूलो छलाङ मारे । यो उपलब्धि त्यति धेरै लामो टिकेन, दोहोरो नागरिकता काण्डले उनको राजकीय पद र सांसद पद एकैचोटि खाइदियो । उपनिर्वाचन विजयमा फेरि उनको लोकप्रियता अरुमाथि चढ्यो । पछिल्लो पटक प्रधानमन्त्रीको पद त्यागेर गृह सहितको उपप्रधानमन्त्रीमा दोहोरिए, नेपाली राजनीतिमा रविको नाम अनिवार्य सर्त जस्तै हुन गयो । तर सत्ता समीकरण बदलिने बित्तिकै प्रतिशोध धोका र बेइमानीले घेरेर उनको राजनीति धरापमा प¥यो भन्ने कोणबाट पनि बराबर विश्लेषण हुनेका थाल्यो ।
राजनीतिमा अंक गणितको खेल यस्तोसम्म बन्यो की रविले प्रधानमन्त्री पद स्वीकार नगरिदिँदा संसद्को ठूलो दल कांग्रेस प्रतिपक्षमा बस्न बाध्य भयो । त्यो बाध्यताले रविसँग क्रुद्ध कांग्रेस सत्ता भत्काउन सहकारी रकम हिनामिना गरेको भन्ने आरोपमा संसदीय छानबिनको माग राखेर संसद् अवरुद्ध गर्न थाल्यो । रवि जोगाउन एमाले संसद्मा ढाल बनेर मात्रै खडा भएन, एमालेको आड पाएर प्रचण्डले पनि संसद्भित्र बाहिर बाट कांग्रेसलाई लल्कार्न थाले । संसद्मा किचलो चल्दाचल्दै, सत्ताले रहस्यमय ढंगबाट नक्कली भुटानी शरणार्थी काण्डका फरार अभियुक्त बेचन झा पक्राउ ग¥यो । झाको पक्राउले आरजु देउवा अफ्ट्यारोमा पर्ने भएपछि संकट मोचनका लागि बालकोटमा दौडन प¥यो किनकि प्रधानमन्त्री प्रचण्ड भएपनि सत्ताको साँचो ओलीको हातमा थियो । देउवा दम्पति उत्थान का निम्ति परिस्थितिले ओलीलाई प्रधानमन्त्री बनाउने भएपछि घरीघरी विश्वासको मत लिँदै सत्ताको प्राणवायु थाम्न अभ्यस्त प्रचण्ड सरकार मात्रै उत्तानो ढलेन, रविको गृहमन्त्री पद पनि अनपेक्षित रूपमा फुत्किन पुग्यो ।
पछिल्लो गठबन्धन सरकारलाई दीगो र मजबुत पार्न आरजु देउवालाई शक्तिशाली परराष्ट्रमन्त्री बनाउन परेको र आरजुकै विशेष जोडबल र दबाबमा रवि लामिछाने पक्राउ परेका हुन भन्ने किसिमका खबरहरू पनि मिडियामा आए । आफ्ना र परायामा राज्यले फरक दृष्टिकोण राखेको बारे विपक्ष र सत्ता पक्षका केही सांसदले समेत असन्तुष्टि जनाएकै छ्न तर पनि विकल्पमा आएका नयाँ पार्टीले स्वच्छ छवि बनाउन र निष्ठा जोगाउनमा चेष्टा दिनुपर्छ भन्ने जनधारणा हो । यहाँ जनताले विकल्प खोज्नुको अर्थ कांग्रेस एमाले र माओवादीजस्तै एउटा अर्को पार्टी चाहेका पटक्कै होइन । नयाँ सोच विचार दृष्टिकोण पनि खोजेका हुन । जिबी राईलाई किन पक्राउ गर्न सकिएन सुन तस्करीमा समातिएका अभियुक्तलाई कसको दबाबमा करुणा देखाइ छोडियो, महान्यायाधिवक्ता र प्रहरी प्रमुखलाई हिजो सत्ताले भने बमोजिम लेख्न र बोल्न कसले बाध्य बनायो जस्ता केही प्रश्नले नयाँ दल र नेतामा पनि कैफियत देखाउँछन् । नेतृत्वले आलोचना सहने हिम्मत गर्नुपर्छ र कैफियत देखिए छवि सुधार्ने प्रयत्न पनि गर्नुपर्छ । असहिष्णु प्रवृतिले व्यक्तित्व र पार्टी स्खलित हुँदै जान्छ । त्यसकारण पार्टी दर्ता गरेर चुनावचिन्ह प्राप्त गर्नु मात्र ठूलो प्राप्ति होइन, जनतामा विश्वास जोगाइ राख्नसक्नु पनि राजनीतिको खास उपलब्धि हो ।
-उमालाल आचार्य
प्रकाशित मितिः २१ पुष २०८१, आईतवार ०६:०४
उमालाल आचार्य ।